ब्याज बढाउने प्रतिस्पर्धामा उत्रिए ठूला र पुराना बैंकपनि, मुद्दतिमा साढे १३ प्रतिशत ब्याज




काठमाडौं । सरकारीस्तरबाट नयाँ र तुलनात्मक रुपमा सानो ब्यालेन्ससीट भएका बैंकहरुलाई मात्रै तरलता अभाव भएको धारणा आइरहेको बेलामा पुराना र ठूलो ब्यालेन्ससीट भएका बैंकहरुले पनि निक्षेपको ब्याज बढाउन थालेका छन् ।

नविल र हिमालयन बैंकले मंगलबारदेखि लागू हुने गरी एक बर्षे मुद्दति खातामा १३ प्रतिशत ब्याज दिने सार्बजनिक आव्हान गरेका छन् । बैंकहरुले प्रकाशित गरेकोभन्दा ०.५ प्रतिशत ब्याज बढाएर दिन सक्छन् । त्यसैले नविल र हिमालयन बैंकले साढे १३ प्रतिशतसम्म ब्याज दिन सक्ने देखिएको छ ।

करिब ३ साता अघि बैंकर्स संघले ब्याजदरको सीमा सम्बन्धमा गरेको भद्र सहमति खारेज गरेपछि बैंकहरु ब्याज बढाउने प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यसअघि नै जनता बैंकले १२ प्रतिशत र माछापुच्छ्रे बैंकले साढे १२ प्रतिशत ब्याज दिने गरी निक्षेप राख्न सर्बसाधारणलाई सार्बजनिक आव्हान गरेका थिए । त्यससँगै सेन्चुरी, मेगा, सिभिल जस्ता केही बैंकले ब्याज बढाएका थिए ।

नविल बैंकले एकदेखि दुई बर्षे अवधिको मुद्दति निक्षेपमा १३ प्रतिशत ब्याज दिने विज्ञापन प्रकाशित गरेको छ । यस्तै हिमालयन बैंकले पनि सोही अवधिमा १३ प्रतिशत ब्याज दिने भनेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिबी नेपालले ब्याज बृद्धिमा बैंकहरुले प्रतिस्पर्धा गर्नु गलत भएको बताइरहेका बेलामा बैंकहरुले ब्याज बढाएका हुन् ।

ब्याजदर बृद्धिले लगानीको वातावरण विग्रने र सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिदरलाई पनि नकारात्मक असर पर्ने भन्दै ब्याज बढाउन नहुने नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधिले बताइरहेका छन् ।

तर, बैंकहरुले पनि आफ्नो पुँजी निक्षेप कर्जा अनुपात (सीसीडी रेसियो) मिलाउन थप निक्षेप आवश्यक भएको र नयाँ कर्जा प्रभावको लागि निक्षेप नभइनहुने भन्दै ब्याज बढाएका हुन् । नयाँ र सानो ब्यालेन्ससीट भएका बैंकहरुले निक्षेप बढाएर आफूहरुको निक्षेप चोर्ने सम्भावना बढेपछि बाध्यभएर ब्याज बढाउनु परेको ठूला बैंकहरुको भनाइ छ ।


क्लिकमान्डु