एनसीसी बैंकले कहिले पुर्याउँछ ८ अर्ब चुक्ता पुँजी ?



काठमाडौं । ‘क’ वर्गको वाणिज्य बैंक एनसीसी बैंकले अझैपनि राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याएको छैन ।

राष्ट्र बैंकले पुँजी पुर्याउनका लागि तोकेको समय वितिसक्दा पनि एनसीसी बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन नसकेको हो ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बुधबार आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजानिक गर्दै २८ बैंकमध्ये २५ बैंकले तोकेको पँजी पुर्याइसकेको, २ बैंकले ०७५ असार मसान्तसम्ममा पुर्याउने र बाँकी १ बैंकले पुँजी पुर्याउन नसकेको बताएका थिए ।

गभर्नरले मौद्रिक नीतिमा भनेको एक बैंक, एनसीसी बैंक हो ।

एनबी समूहका लगानीकर्ताका कारण लामो समयदेखि विबादमा रहेको यो बैंक अहिले सुधारको चरणमा छ । एनबी समूहका लक्ष्मीबहादुर श्रेष्ठलगायतको स्वामित्व कम गरेपछि बैंकमा उल्लेख्य सुधार भइहरेको छ ।

राष्ट्र बैंकले ०७२ साउन पहिलो साता मौद्रिक नीति सार्वजानिक गर्दै ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने घोषणा गरेको थियो । त्यसअघि वाणिज्य बैंकहरुको चुक्त पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो ।

०७४ असार मसान्तसम्ममा दर्जन बढी बैंकले तोएिको चुक्ता पुँजी पुर्याउन सकेनन् । मर्जर, बोनस र हकप्रद सेयर निष्काशनको प्रक्रियामा रहेको भन्दै समय थप गर्न माग गरेका थिए । बैंकहरुको मागसँगै राष्ट्र बैंकले ०७५ असार मसान्तसम्मको समय थपिदिएको थियो ।

तर, किन एनसीसी बैंकले ०७५ असार मसान्तमा पनि ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकेन ? बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बन्दना पाठक भन्छिन्, ‘हामीले धितोपत्र बोर्डमा हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएका थियौं, धितोपत्र बोर्डले ढिलो मात्रै हाम्रो आवेदनलाई स्वीकृति दियो, जसकारण ०७५ असार मसान्तमै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नसकिएको हो ।’

पाठकका अनुसार अहिले धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइसकेको छ । साउन १५ समम्ममा बुक क्लोज गरेर हकप्रद सेयर निष्कान गर्ने अन्तिम तयारी भइरहेको छ ।

‘अनुमति पाएसँगै हामीले हकप्रद सेयर निष्काशनको प्रक्रिया सुरु गरिसकेका छौं, साउनभित्र हकप्रद सेयर निष्काशन गरिसक्छौं,’ पाठकले भनिन्, ‘असोज मसान्तको वित्तीय विवरणमा एनसीसी बैंकको चुक्ता पुँजी ८ अर्ब पुग्नेछ ।’

अहिले बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ छ भने रिजर्भमा १ अर्ब रुपैयाँ छ । रिजर्भ र चालू आर्थिक वर्षको नाफाबाट पनि बैंकले बोनस सेयर वितरण गर्ने छ ।

एनसीसी बैंकले पनि २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएपछि भने राष्ट्र बैंकको पुँजी बढाउने नीति पूर्णरुपमा सफल हुनेछ ।

एनसीसी बैंकका लगानीकर्ताहरुबीचको विवादका कारण मुद्दा मामिला भएकाले पुँजी बढाउन केही ढिलाइ भएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।

‘अब सबै कुराको समाधान भइसक्यो भन्ने सुन्नमा आएको छ, बैंकले हकप्रद निष्काशनको प्रक्रिया पनि सुरु गरिसकेको छ,’ पौडेलले भने, ‘अबको महिनादिन भित्र एनसीसीले पनि तोकिएको चुक्ता पुँजी पुर्याउँछ ।’


पुष्प दुलाल