जेठदेखि सेयर ब्रोकरबाट सेयर किन्न ऋण पाइने, ब्रोकरले कति ऋण दिन सक्छन् ?



काठमाडौं । आगामी जेठ महिनादेखि सेयर किन्नका लागि सेयर ब्रोकरबाटै ऋण पाइने भएको छ । नियामक नेपाल धितोपत्र बोर्डले मार्जिन लेण्डिङ कार्यविधि तयार गरि जारी गर्ने अन्तिम तयारीमा रहेको छ ।

‘धितोपत्र बोर्डको यसैसाता बस्ने सञ्चालक समितिको बैठकले मार्जिन लेण्डिङसम्बन्धी कार्यविधि पारित गर्छ र जेठदेखि कार्यान्वयन हुन्छ,’ बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले क्लिकमाण्डूसँग भने, ‘कार्यविधि पारित भएसँगै लगानीकर्ताहरुले सेयर ब्रोकर कार्यालयबाटै सेयर किन्न ऋण पाउने छन् ।’

यसरी ऋण लिनका लागि विभिन्न किसिमका मापदण्डहरु तोकिने कार्कीले जानकारी दिए । अहिले भइरहेको मार्जिन कारोबार वास्तविकरुमा मार्जिन कारोबार नभएको उनको भनाइ छ ।

धितोपत्र बोर्डले आगामी स्थापनाको २५औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २६ र २७ गते अवसरमा पूँजीबजार प्रद्धर्शनीको आयोजना गर्ने भएको छ । नेपालको धितोपत्र बजारको इतिहासमा नै पहिलो पटक पूँजीबजार प्रद्धर्शनी हुन लागेको हो ।

‘अहिले भइरहेको मार्जन कारोबार मार्जिन कारोबार नै होइन, कार्यविधि पारित भएपछि मात्रै नेपालमा वास्तविक मार्जिन कारोबार हुन्छ,’ कार्कीले भने, ‘ब्रोकर अफिसबाटै लगानीकर्ताले ऋण लगायतका सबै सुविधा पाउँछन्, अन्यत्र धाइरहनु पर्दैन ।’

धितोपत्र बोर्डले गत कात्तिक २१ गते ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गरेको थियो ।

जसमा एउटा ब्रोकरले आफ्नो खुद सम्पत्तिको २ गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा (सेयर धितो कर्जा) उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

हाल ५० वटा स्टक ब्रोकर कम्पनीहरु सक्रिय छन् । जसअनुसार कार्यविधि पारित भएपछि प्रत्येक ब्रोकरले १० करोड रुपैयाँका दरले कुल ५ अर्ब रुपैयाँसम्मको सेयर धितो कारोबार गर्न पाउनेछन् ।

बैशाख २६ र २७ गते पुँजी बजार प्रदर्शनी

धितोपत्र बोर्डले आगामी स्थापनाको २५औं वर्षमा प्रवेश गरेको अवसरमा बैशाख २६ र २७ गते अवसरमा पूँजीबजार प्रद्धर्शनीको आयोजना गर्ने भएको छ । नेपालको धितोपत्र बजारको इतिहासमा नै पहिलो पटक पूँजीबजार प्रद्धर्शनी हुन लागेको हो ।

प्रदर्शनीमा नेपाल स्टक एक्चेन्ज, सीडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरु, सुचिकृत कम्पनीहरुका साथै नेपाल राष्ट बैंक, बीमा समिति तथा आइक्यानको सहभागितामा करीब १७० बटा स्टल रहने बोर्डले जनाएको छ ।

प्रदर्शनीमा सहभागिहरुको आफ्नो आफनो स्टलमार्फत आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवा बारे लगानीकर्ताहरुलाई जानकारी गराउन सक्नेछन् ।

साथै, धितोपत्र बजार, सिडिएस तथा बजार पूर्वाधार व्यवस्था, मर्चेन्ट बैकिङ्ग व्यवसाय तथा धितोपत्र दलाल व्यवसाय सम्बन्धमा प्रस्तुती र अन्र्तकृया कार्यक्रमहरु संचालन हुने छन । त्यस्तै, धितोपत्र बजार सम्बन्धि अध्ययन सामाग्रीहरु निःशुल्क वितरण गरिने बोर्डले जनाएको छ ।


पुष्प दुलाल