
काठमाडौं । काठमाडौंस्थित बंगलादेशी दूतावासले आयोजना गरेको ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ नामक आँप महोत्सवको आयोजना गरेको छ।
बंगलादेशका ढिलो पाक्ने प्रजातिका आँपहरूको प्रदर्शन गरिएको यस कार्यक्रमले बंगलादेशी आँपको समृद्ध सम्पदा, विशिष्ट गुणस्तर र विविध स्वादलाई उजागर गर्नुका साथै ताजा फलफूल र कृषिजन्य उत्पादनको निर्यातमा बंगलादेशको बढ्दो सम्भावनालाई प्रवर्द्धन गरेको छ।
सार्क सचिवालयका महासचिव राजदूत मोहम्मद गुलाम सरवर प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको उक्त समारोहमा नेपालको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख राजदूत गेहेन्द्र राजभण्डारी विशेष अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा कूटनीतिक नियोगका सदस्यहरू, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, व्यावसायिक समुदायका प्रतिनिधिहरू, प्रमुख आयातकर्ताहरू र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बंगलादेशी राजदूत मोहम्मद शफिकुर रहमानले बंगलादेशले कृषि र कृषि प्रशोधन क्षेत्रमा हासिल गरेका पछिल्ला उपलब्धिको बारेमा जानकारी दिएका थिए । उनले बंगलादेशमा आँप फल मात्रै नभएर त्यहाँको संस्कृति, सम्पदा, परम्परा र कृषिविज्ञानको अभिन्न हिस्सा भएको बताए। मुगल साम्राज्यकालीन ऐतिहासिक प्रसङ्गहरू स्मरण गर्दै राजदूत रहमानले बंगलादेशको मलिलो उर्वर भूमि र अनुकूल जलवायुका कारण यहाँ विश्वकै उत्कृष्ट आँपहरू उत्पादन हुने उल्लेख गरे।
उनले खीरसापत (हिमसागर), हरिभांगा, लंगडा, फज्ली, गोपालभोग, आम्रपाली, आश्विना, बनाना म्याङ्गो र कातिमोन जस्ता प्रजातिहरू आफ्नो गुलियोपन र विशिष्ट बास्नाका लागि विश्वभर प्रसिद्ध रहेको जानकारी दिए। रहमानले बंगलादेशी वैज्ञानिक र अनुसन्धानकर्ताहरूले विकास गरेका ‘बारी’ लगायतका ढिलो सिजनमा फल्ने आँपका प्रजातिको बारेमा जानकारी दिएका थिए ।
सार्क महासचिव गुलाम सरवरले दक्षिण एसियाली क्षेत्रमा आँपको ठूलो सम्भावना भए तापनि अन्तर्राष्ट्रिय बजारमा यसको निर्यात न्यून रहेकोमा चिन्ता व्यक्त गरे । उनले कृषि क्षेत्रमा क्षेत्रीय सहकार्य बढाउन सदस्य राष्ट्रहरूलाई आग्रह गर्दै यस्ता कार्यक्रमले व्यापारिक सम्बन्ध सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै विशेष अतिथि गेहेन्द्र राजभण्डारीले बंगलादेशी दूतावासको यस नवीन पहललाई ‘आँप कूटनीति’ (म्याङ्गो डिप्लोमेसी) को संज्ञा दिँदै यसले दुई मित्र राष्ट्रका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र आपसी सद्भाव बढाउने बताए।
प्रदर्शनीमा बंगलादेशका विभिन्न ताजा आँपका साथै आँपबाट बनेका प्रशोधित सामग्रीहरूको ठूलो संग्रह राखिएको थियो। सहभागीहरूले बंगलादेशको आधुनिक बागवानी, दिगो कृषि र खाद्य प्रशोधन प्रविधिको बारेमा जानकारी प्राप्त गर्ने अवसर पाएका थिए।
यस महोत्सवले बंगलादेश र नेपालबीचको आर्थिक सहयोगलाई सुदृढ बनाउने र दुई देशका आयातकर्ता एवं निर्यातकर्ताहरूबीच व्यावसायिक साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा फज्ली, आम्रपाली, बारी-४, कातिमोन, गौरामती र आश्विना जस्ता ढिलो पाक्ने प्रजातिका आँपहरू प्रदर्शनमा राखिएका थिए। साथै, आँपबाट बनेका विभिन्न मिठाई, केक, पुडिङ र अन्य परिकारहरू पाहुनाहरूलाई पस्किएको थियो।
करिब २५० जनाको उपस्थिति रहेको उक्त समारोहमा बंगलादेशको आँप खेती, संस्कृति र पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्रहरू पनि प्रदर्शन गरिएको थियो। दूतावासले नेपाल र बंगलादेशबीच व्यापार, लगानी र सांस्कृतिक आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास दिलाएको छ। कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई परम्परागत बंगलादेशी व्यञ्जनद्वारा सत्कार गरिएको थियो।





प्रतिक्रिया