मुख्य नदीहरूमा बहाव बढ्ने चेतावनी: २३ भन्दा बढी जिल्लामा ‘आकस्मिक बाढी’ को जोखिम

77
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख तथा सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केही जिल्लाहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्क रहन अपिल गरेको छ।

कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली लगायतका ठूला नदीहरूको बहाव हाललाई सतर्कता तहभन्दा तलै रहे तापनि आगामी ७२ घण्टामा यी सबै नदीहरूको बहावमा ठूलो वृद्धि हुने देखिएको छ।

महाशाखाका अनुसार विशेषगरी साना नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

देशका विभिन्न प्रदेशहरूमा रहेका जिल्लाहरूमा आजैदेखि बाढीको मध्यम जोखिम रहने प्रक्षेपण गरिएको छ। कोशी प्रदेशका ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा जिल्ला भएर बहने स-साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना छ।

त्यसैगरी बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन जिल्लाहरूमा पनि साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केही स्थानमा मध्यम स्तरको बाढी आउन सक्ने चेतावनी दिइएको छ।

गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाहरूका साथै लुम्बिनी प्रदेशको पाल्पा र कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लामा समेत बाढीको जोखिम रहेको छ।

सुदूरपश्चिम प्रदेशका डोटी, बझाङ, कैलाली र कञ्चनपुर जिल्ला भएर बहने नदीहरूमा पनि बहाव बढेर जोखिम निम्त्याउन सक्ने देखिएको छ।

प्रमुख नदीहरूको बहावको विश्लेषण गर्दा कोशी बेसिन अन्तर्गतका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा साउन ४ गतेसम्म जलसतह निरन्तर बढ्दो क्रममा रहने अनुमान छ।

नारायणी बेसिनका प्रमुख नदीहरू त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि आगामी तीन दिनसम्म बहाव उच्च रहनेछ। सुदूरपश्चिम र कर्णाली क्षेत्रका महाकाली, कर्णाली, भेरी र पश्चिम सेती जस्ता ठूला नदीहरूमा पनि बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सुरक्षा सतर्कता बढाउन भनिएको छ।

यसका साथै तराईका जिल्लाहरू भएर बहने कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा समेत जलसतहले सतर्कता तह पार गर्न सक्ने सम्भावना छ।

भोलि र पर्सिको पूर्वानुमान हेर्दा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, नदी किनारमा काम गर्ने मजदुर र सर्वसाधारणलाई नदीको जलसतहमा हुने परिवर्तनलाई नियमित रूपमा निगरानी गर्न र विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल मार्फत जारी हुने ‘नेपाल बाढी सूचना’ लाई नियमित रूपमा पछ्याउन सुझाव दिइएको छ।