
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–०७ खस्रेखान स्थित धनगढी–दार्चुला पक्की सडक–खण्डमा एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–०१ बस्ने ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको हो। उनीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, दुर्घटनामा घाइते भएका थप व्यक्तिहरूको खोजी गर्ने क्रममा अपिहिमाल गाउँपालिका–०१ कै ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरिएको छ।
उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उनको हाल डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–०२ बस्ने २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन् भने दार्चुला मार्मा गाउँपालिका–०३ बस्ने ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ।
उनीहरू दुवै जनाको पनि डडेल्धुरा अस्पतालमै उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





प्रतिक्रिया