कामना सेवा बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक, कठीन परिस्थितिमाझ लाभांश क्षमता १५.१६%

945
Shares

काठमाडौं । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ । कामना सेवाले नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिनमै गत आवको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो ।

शनिबार सार्वजनिक गरेको आव २०८२/८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ८९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको ६६ करोड ९७ लाख रुपैयाँको तुलनामा ३३.५१% ले बढी हो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आव अन्त्यमा बैंकको ईपीएस १९.०८ रुपैयाँ रहेकामा २२.७५ रुपैयाँ पुगेको छ ।

आव २०८२/८३ को अन्त्यमा बैंकले नाफा गरेको ८९ करोड ४२ लाखमध्ये ५६ करोड ७९ लाख रूपैयाँ सेयरधनीहरूलाई बाँड्न मिल्ने देखिन्छ । अघिल्लो आवसम्मको विवतरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेर बाँकी रहेको रकम समेत जोड्दा बैंकको कुल सञ्चित नाफा ६० करोड ११ लाख रूपैयाँ पुगेको छ । यो रिटेन्ड अर्निङले बैंकले सेयरधनीलाई १५.१६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

बैंकिङ क्षेत्रमा बढ्दो गुणस्तरीय जनशक्तिको अभाव, सञ्चालन खर्चमा वृद्धि, निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको बढ्दो ट्रेन्ड, देशको सुस्त आर्थिक गतिविधि तथा उच्च तरलताका बाबजुद कर्जाको मागमा कमीका बाबजुद पनि बैंकले उत्साहजनक लाभांश क्षमतासहितको वित्तीय विवरण प्रकाशन गरेको हो ।

किन बढ्यो त कामना सेवा विकास बैंकको नाफा ?

बैंकले आव २०८२/८३ मा २ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले वर्षभर अघिल्लो आवको भन्दा कम ब्याज आम्दानी गरे तापनि ब्याज खर्चमा भारी गिरावट आएको छ । बैंकले एक वर्षमा ५ अर्ब १९ करोड रूपैयाँ ब्याज आम्दानी गरी २ अर्ब ७८ करोड रूपैयाँ ब्याज खर्च गरेको हो । अघिल्लो आव खुद ब्याज आम्दानीमा २ अर्ब ३२ करोड रूपैयाँ रहेकामा गत आवमा यस्तो आम्दानी १० करोड रूपैयाँले बढेको हो ।

बैंकको ब्याजदर अन्तर (स्पेड दर)पनि ४.२७% बाट घटेर ३.९८ प्रतिशतमा सीमित भए तापनि खुद ब्याज आम्दानी बढेको हो ।

यसबीचमा खुद फि एन्ड कमिसन इन्कम ३१ करोड २ लाखबाट बढेर ३४ करोड ८४ लाख रूपैयाँ पुगेको छ ।

यता मसान्तमा सम्भावित नोक्सानीका बैंकले १३ करोड ६५ लाख रूपैयाँमात्र प्रोभिजन गरेको छ । नोक्सानी व्यवस्थाका लागि बैंकले अघिल्लो आव अन्त्यमा ४१ करोड ८१ लाख रूपैयाँ छुट्याएको थियो ।

यसबीचमा सञ्चालन खर्च पनि केही बढे तापनि बढेको सञ्चालन आयले बैंकलाई सबल स्थितिमा राखेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ रहेकोमा यस वर्ष १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा सामान्य दरले बढेको छ । अघिल्लो आवको अन्त्यमा कुल निष्क्रिय कर्जा अनुपात ३.४९ प्रतिशत रहेकामा अहिले ३.७७ प्रतिशत पुगेको छ । तर, पर्याप्त नोक्सानी व्यवस्थाका कारण खुद निष्क्रिय कर्जा भने ०.५५ प्रतिशतमात्र छ ।

असार मसान्तका मुख्य वित्तीय अनुपातहरू हेर्ने हो भने पुँजी कोष अनुपात १२.५८% बाट सुधारिएर १४.१६% पुगेको छ भने प्राथमिक पुँजी अनुपात ९.१९ प्रतिशतबाट बढेर ११.६६ प्रतिशतको सबल स्थितिमा छ । बैंकको कोषको लागत ५.०९% बाट घटेर ३.६९% पुग्दा आधार दर ७.०७% बाट घटेर ५.५३% पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १७१.०१ रुपैयाँ हुँदा सीडी रेसियो ८६.३४ प्रतिशत रहेको छ ।

यी तथ्यले बैंकका लागि चालू आर्थिक वर्ष थप उत्साहजनक पर्फमेन्स गर्ने अवसर खुलेको संकेत गर्दछ । पर्याप्त पुँजी र तरलता तथा न्यून ब्याजदर रहेको परिस्थितिमा बैंकका लागि कर्जा विस्तारको सहज बाटो देखिन्छ ।

गत आवमा पनि बैंकले कुल निक्षेप अघिल्लो वर्षको अन्त्यको ६२ अर्ब ८३ करोड रुपैयाँबाट बढाएर ६६ अर्ब १७ करोड रुपैयाँ पुर्‍याएको थियो । यसैगरी कर्जा लगानी पनि अघिल्लो वर्षको ५० अर्ब ७ करोड रुपैयाँबाट बढेर ५४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी अघिल्लो वर्ष ३ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा बोनस सेयर र ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासन पछि ४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष पनि १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

यता नेटवर्थ १७१.०१ रूपैयाँ र ईपीएस २२.७५ रूपैयाँ रहेको बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४७४ रूपैयाँमा कारोबार भइरहेको छ । जसअनुसार पीई रेसियो २०.८४ रहेको छ ।

यसरी अघिल्लो वर्षको तुलनामा बैंकले आफ्नो पुँजी कोषमा राम्रो सुधार गरेको छ, जसले बैंकलाई थप कर्जा विस्तार गर्ने क्षमता दिएको छ । निक्षेप र कर्जा दुवैमा वृद्धि भएको छ भने कोषको लागत र आधार दर घट्नु बैंकका लागि सुखद पक्ष हो ।

वर्षअन्त्यको वित्तीय विवरणअनुसार बैंकले नयाँ व्यवसायिक अवसरहरूको खोजी गर्ने, कर्जा असुलीलाई प्रभावकारी बनाउने, प्रविधिको प्रयोग बढाउने र जोखिम व्यवस्थापनमा कडाई गर्ने रणनीति लिएको छ ।