९ महिनामा रिद्धिसिद्धि सिमेन्टको व्यापार करिब ४ अर्ब, खुद नाफा कति ?

70
Shares

काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२५ मा ५ अर्ब ९८ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा बढेपनि सञ्चालन नाफा भने घटेको छ । सन् २०२४ मा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा रहेकोमा गत आवमा घटेर १ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ । कम्पनीअनुसार गत आवमा २०.९ प्रतिशत नाफा मार्जिन थियो । सन् २०२४ मा २५ प्रतिशत नाफा मार्जिन रहेकोमा २०२५ मा घटेको हो ।

गत आवमा कच्चा पदार्थको उपयोग बढेको र उच्च बिक्री खर्चका कारण नाफा मार्जिनमा प्रभाव परेको उल्लेख छ ।
तर, खुद नाफामा सुधार आएको छ । सन् २०२४ मा ४ करोड १० ला्‌ख रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा ८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको कुल नगद सञ्चिति पनि बढेको छ । सन् २०२४ मा ४४ करोड ६० लाख रुपैयाँ कुल नगद सञ्चिति थियो ।

गत आवमा ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा ७३ करोड ८० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीले २ करोड रुपैयाँ खुद नाफा गरेको छ । साथै, कम्पनीको कुल नगद सञ्चिती ३१ करोड ३० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल ऋण स्थिर रहेको छ । सन् २०२४ मा १० अर्ब ९८ करोड ३० लाख रुपैयाँ रहेकोमा गत आवमा स्थिर भई १० अर्ब ८३ करोड ५० लाख रुपैयाँ कायम भएको छ । कम्पनीको समग्र गियरिङ अनुपात गत आवसम्ममा ३.८० गुणा रहेको छ । सन् २०२४ मा २.७९ गुणा थियो ।

त्यसैगरी, कुल बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ गत आवमा ४.४४ गुणाबाट घटेर ३.२३ गुणामा सिमित भएको छ । कम्पनीअनुसार गत आवमा इक्विटी थप हुँदा कम्पनीको नेटवर्थ बलियो भएको हो । कम्पनीको ऋण सेवा कभरेज क्षमतामा सुधार आई १.४६ गुणा पुगेको छ । सन् २०२४ मा १.३४ गुणा थियो । त्यस्तै, ब्याज कभरेज अनुपात बढेर १.४४ गुणा पुगेको छ । सन् २०२४ मा १.३१ गुणा थियो ।

चालु आवको ९ महिनाको अवधिसम्ममा चालु पुँजी बढेका कारण कम्पनीको कुल ऋण ११ अर्ब २६ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीको समग्र गियरिङ अनुपात २.८९ गुणा रहेको छ । कुल बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ अनुपात ३.३४ गुणा पुगेको छ । त्यस्तै, ब्याज कभरेज अनुपात सुधार भई १.५० गुणा पुगेको छ ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले सिमेन्ट र क्लिङ्कर उत्पादन गरी कारोबार गर्दै आएको छ । कम्पनीले वार्षिक ७ लाख मेट्रिक टन क्षमतामा ग्रान्डिङ सिमेन्ट र ८ लाख मेट्रिक टन क्षमतामा क्लिङ्कर उत्पादन गर्दै आएको छ । कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरी रिद्धि सिद्धि र मकवानपुर ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

सुलभ अग्रवालको ५१.७९ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १२ अर्ब २१ करोड ४४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ अर्ब १४ करोड ९१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ६ करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको हो ।