हिमालयन रि–इन्स्योरेन्सको नाफा ६४ करोड ९७ लाख नाघ्यो, प्रतिसेयर आम्दानी ११.९२ रुपैयाँ

0
Shares

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको नाफामा सामान्य सुधार भएको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६४ करोड ९७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको नाफा ६१ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब २९ करोड ३५ लाख रुपैयाँबाट बढेर ३ अर्ब २४ करोड ८ लाख रुपैयाँ पुगेको छ। यस्तै, लगानी तथा ऋणबाट हुने आम्दानी भने ६४ करोड ४३ लाख रुपैयाँबाट घटेर ४५ करोड ३४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८६ पैसाबाट बढेर ११ रुपैयाँ ९२ पैसा कायम भएको छ। यस्तै, कम्पनीको सल्भेन्सी रेसियो ३.५२ कायम भएको छ, जसले वित्तीय अवस्था बलियो रहेको संकेत गर्छ। जुन नियामक निकायले तोकेको न्यूनतम मापदण्डभन्दा धेरै राम्रो रहेको देखाउँछ।

पुँजी र जगेडा कोष

कम्पनीको जगेडा कोषहरू पनि बलियो देखिएका छन्। विशेष जगेडामा २ अर्ब ३८ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब १९ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५२ करोड ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। यस्तै, कम्पनीको कुल खर्च २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। कम्पनीको कुल सम्पत्ति २५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ पुगेको छ, जसमध्ये १६ अर्ब ५९ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरिएको छ।