चालकलाई चिट काटेपछि के ट्राफिकले २५ प्रतिशत कमिसन पाउँछ ?

3.8k
Shares

काठमाडौं । हाल केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्’ भन्ने आशयका समाचार र टिप्पणीहरू प्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ति जारी गर्दै उक्त प्रचारप्रसारमा कुनै सत्यता नभएको र यो पूर्णतः भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’ट्राफिक प्रहरी कर्मचारीले ट्राफिक नियम उल्लंघन गरे वापत गरिने जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा दाखिला हुने व्यवस्था रहेको छ। सो वापत नेपाल सरकारबाट कुनै पनि अतिरिक्त शुल्क (सुविधा) ट्राफिक प्रहरीले प्राप्त गर्ने कानुनी व्यवस्था छैन ।’

तथ्य र आधिकारिक जानकारी बिना अनुमानका आधारमा यस्ता समाचार र टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने र प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने उल्लेख गरिएको छ।

यस्ता अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरूमा अनुरोध गरेको छ ।

साथै, कुनै पनि समाचार वा सूचना प्रकाशन/प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न समेत प्रहरीले आग्रह गरेको छ।

Skip This