
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन् ।
बैठकमा सहभागी हुन उनीहरू दिउँसो १ बजेर ३७ मिनेटमा बैठक कक्षमा प्रवेश गरेका थिए ।
बैठक कक्षमा प्रवेश गर्नुअघि उनीहरूले सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल गरेका थिए ।
प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा करिब २० मिनेट बसेर निस्किएका थिए । जेठ १७ गते नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएर संसदबाट निस्किएका प्रधानमन्त्री शाह त्यसपछि पहिलोपटक सदन पुगेका हुन्।
तर, आकस्मिक रूपमा संसदमा उपस्थित भएका प्रधानमन्त्री शाह र सभापति लामिछानेले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै प्रश्न उठेको छ ।
उनीहरू बैठक कक्षमा प्रवेश गर्दा राप्रपा सांसद खुश्बु ओलीले बोलिरहेकी थिइन् । संसदमा कुनै सदस्यले बोलिरहेको अवस्थामा उसको अगाडिबाट हिँड्न नहुने व्यवस्था भए पनि शाह र लामिछानेले त्यसको ख्याल नगरेको देखिएको छ ।
प्रतिनिधिसभा नियमावली २०८३ को नियम २० (छ) मा ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने’ स्पष्ट उल्लेख छ। सदनको नेतासमेत मानिने प्रधानमन्त्रीले पालना गर्नुपर्ने न्यूनतम मर्यादा समेत पालना नगरेको भन्दै एमाले प्रमुख सचेतक ऐन महरले बैठकमा आपत्ति जनाएका थिए ।








प्रतिक्रिया