
काठमाडौं । बाफिकोट–खुंग्री १३२ के.भी. प्रसारण लाइन आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ । नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय, रोल्पाले आयोजनाको टावर निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले असार ३० गते (मङ्गलबार) सूचना प्रकाशित गरी १५ दिनको समयावधि दिएको हो । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत निर्माणाधीन यस आयोजनाको टावर प्याड निर्माणका लागि सुनिलस्मृति गाउँपालिका वडा नं. ०२ (साविक खुंग्री गा.वि.स.) तथा रोल्पा नगरपालिकाका साविक लिवाङ नगरपालिका र कोटगाउँ गा.वि.स. भित्र पर्ने विभिन्न वडाहरूको जग्गा अधिग्रहण गर्न लागिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ को उपदफा (१) बमोजिम प्रारम्भिक कारबाही चलाउन र सोही ऐनको दफा ९ को उपदफा (१) बमोजिम मुआब्जा निर्धारणका लागि सरोकारवालाहरूको जानकारीका लागि यो सूचना सार्वजनिक गरिएको उल्लेख छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ जेठ १२ गतेको निर्णय र जग्गा प्राप्ति ऐन, २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समिति गठन भई प्रारम्भिक प्रतिवेदन अनुसार तपसिलका जग्गाधनीहरूको नाममा सूचना जारी गरिएको छ ।
सूचनामा उल्लेख भए अनुसार, नाम समावेश भएका सम्बन्धित जग्गाधनी वा सरोकारवालाहरूले यो सूचना प्रकाशन भएको (अर्थात् २०८३ असार ३० गते) ले १५ दिनभित्र आफ्नो हकदाबी वा भोगचलन सम्बन्धी निस्सा, प्रमाण (जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रतिलिपि, रीतपूर्वकको निवेदन आदि) सहित जिल्ला प्रशासन कार्यालय रोल्पामा आवेदन दिनु पर्नेछ । तोकिएको म्यादभित्र निवेदन नआएमा वा दाबी पेस नगरेमा कानुन बमोजिम कारबाही अघि बढ्ने र पछि कुनै प्रकारको उजुरबाजुर नलाग्ने व्यहोरा समेत जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
अधिग्रहण गरिने जग्गाहरूमा सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिका अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गाहरू, टावर प्याडका लागि प्राप्त गरिने क्षेत्रफल (प्रति वर्ग मि.) र साविक तथा हालको ठेगाना सहितको विस्तृत तालिका सूचनामा समावेश गरिएको छ । जसमा हरि विक्रम शाह, नरेन्द्र विक्रम शाह, विजयश्वरी शाह, बसन्त सिंह लगायत सयौँ स्थानीय जग्गाधनीहरूको जग्गा प्रभावित हुने देखिएको छ ।
प्राधिकरणले अगाडि बढाएको बाफिकोट–खुंग्री १३२ के.भी. प्रसारण लाइन आयोजना कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूको ऊर्जा सञ्जाल सुदृढ बनाउन निर्माण गर्न लागिएको हो । आर्थिक वर्ष २०७६/७७ को बजेटमा ऊर्जा संकट निवारण शीर्षक अन्तर्गत समावेश गरी अघि बढाइएको यस आयोजनाको विस्तृत सर्भे र वातावरणीय प्रभाव मूल्याङ्कन जस्ता प्रारम्भिक कामहरू सम्पन्न भइसकेका छन् । हाल यसको जग्गा प्राप्ति, टावर फाउन्डेसन र वन क्षेत्रको रुख कटानसम्बन्धी प्रक्रियाहरू तीव्र गतिमा अघि बढिरहेका छन् ।
यसको कुल लम्बाइ करिब ७५ किलोमिटर रहनेछ । यो प्रसारण लाइन रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा प्रस्तावित उत्तरगंगा सबस्टेसन (हब) बाट सुरु भई रोल्पाको माडी गाउँपालिकामा पर्ने घर्तीगाउँ सबस्टेसन (१३२/३३/११ केभी) हुँदै रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा प्रस्तावित खुंग्री सबस्टेसनसम्म विस्तार हुनेछ । यसरी रुकुम पश्चिम र रोल्पा जिल्लाका स्थानीय तहहरूलाई प्रत्यक्ष जोड्ने यस करिडोरले रुकुम पूर्वका केही जलविद्युत् आयोजनाहरूलाई समेत अप्रत्यक्ष रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा समेट्नेछ । यस आयोजनाको निर्माण रोल्पा, रुकुम र आसपासका क्षेत्रको समग्र ऊर्जा विकासका लागि अत्यन्त आवश्यक र रणनीतिक महत्त्वको मानिएको छ ।








प्रतिक्रिया