
काठमाडौं । नेपाल र भारत ऊर्जा बैठक पोखरामा बस्दै छ ।
दुई देशबीच ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) र सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) को बैठक मंगलबार र बुधबार पोखरामा बस्न लागेको हो ।
मंगलबारको बैठक नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले नेतृत्व गर्दै छन् भने बुधबारको बैठकलाई भने सचिव सरिता दवाडीले नेतृत्व गर्नेछिन् । भारतको तर्फबाट परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मनु महावारले नेतृत्व गर्दै छन् ।
दुई दिनसम्म चल्ने बैठकको पहिलो दिन मंगलबार सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक बस्नेछ । दोस्रो दिन बुधबार सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्ने तय भएको छ । ऊर्जा मन्त्रालयका अनुसार बैठकमा अन्तरदेशीय प्रसारण लाइन विस्तार, विद्युत् व्यापार लगायतका द्विपक्षीय विषयमा छलफल हुँदै छ ।
दुई देशबीच हाल सञ्चालनमा आइसकेका, निर्माणाधीन र भविष्यका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरूको अवस्थाबारे विस्तृत छलफल र समीक्षा हुनेछ । प्रसारण लाइन विस्तारका साथै दुई देशबीचको विद्युत् व्यापार र निर्यात स्वीकृतिका विषयलाई पनि यस बैठकमा मुख्य एजेन्डा बनाइएको छ ।
विशेष गरी भारततर्फ थप बिजुली निर्यातको स्वीकृतिका साथै नेपालले बंगलादेशलाई थप २० मेगावाट बिजुली बिक्री गर्न आवश्यक पर्ने भारतीय पक्षको स्वीकृतिका बारेमा पनि बैठकमा गहन छलफल हुने मन्त्रालयले जनाएको छ ।
यसका अतिरिक्त, नेपालमा भारतीय लगानी रहेका जलविद्युत् आयोजनाहरूको प्रगति, वैकल्पिक ऊर्जाका क्षेत्रमा हुन सक्ने सहकार्य र भविष्यमा दुई पक्षबीच चालिने रणनीतिक कदमहरूका विषयमा समेत दुवै देशका अधिकारीहरूबीच संवाद हुने बताइएको छ ।
सन् २०१४ मा जेएससी र जेडब्ल्यूजी कार्यदल गठन भई बैठक बस्दै आएका छन् । नेपाल–भारत विद्युत् व्यापार सम्झौता (पीडीए) को कार्यान्वयनका लागि जेएससी र जेडब्ल्यूजी कार्यदल गठन गरिएको हो । उक्त बैठक वर्षको २ पटक बस्ने प्रावधान छ । तर, यसअघि २०८१ माघमा बसेको बैठक १७ महिनापछि मंगलबार र बुधबार बस्दै छ ।








प्रतिक्रिया