
काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयले श्रेष्ठलाई काउन्सिलको अध्यक्षको जिम्मेवारी दिएको हो ।
नवनियुक्त अध्यक्ष सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेर आजै पद तथा गोपनीयताको शपथसमेत लिएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा असार २४ कै निर्यणअनुसार नियुक्त भएका अर्जुन घिमिरेलाई पनि मन्त्री तिमिल्सिनाले सोमबार नै नियुक्तिपत्र दिएका छन ।
नियुक्तपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउनुभएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए । सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनीहरुलाई छनोट गरेको उल्लेख सञ्चारमन्त्री तिमिल्सिनाले बताए ।
सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने उनले बताए । वर्तमान समयमा गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले सञ्चार क्षेत्रलाई बलियो बनाउन सकिए त्यसबाट सबैभन्दा बढी लाभ सञ्चार जगतले नै लिने उल्लेख गरे ।
पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्दै लैजान लागिएको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अगाडि बढिसकेको बताए । साथै उनले क्षमता अभाव भएका संस्थाले प्रभावकारी काम गर्न नसक्ने भन्दै प्रेस काउन्सिललाई पनि थप जिम्मेवार, सक्षम र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे। चुनौतीपूर्ण समयमा दुवै नियामक निकायको नेतृत्व सम्हाल्नुभएको उल्लेख गर्दै कानुन र विधिको सीमाभित्र रहेर नागरिकको हितलाई केन्द्रमा राखी काम गर्न निर्देशनसमेत दिए ।
प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए ।
सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा काउन्सिल सक्रिय रहने पनि बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान कमी–कमजोरी हटाउँदै समस्या समाधानमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कानून, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार क्षेत्रको विकास, सेवा विस्तार तथा सुशासनका लागि काम गर्ने पनि बताए।






प्रतिक्रिया