२०२६ विश्वकपबाट साढे १३ खर्ब कमाउँदै फिफा, कति गर्छ खर्च ?

मैदान बाहिर मात्र १२ खर्ब १६ अर्बभन्दा बढीको आर्थिक गतिविधि


काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको यो पटकको विश्वकप फिफाको इतिहासकै सबैभन्दा नाफामूलक संस्करण बन्दैछ ।

फिफाको सुरुवाती बजेटले २०२३-२६ को व्यावसायिक चक्रबाट ११ अर्ब डलर आम्दानीको प्रक्षेपण गरेको थियो जुन अघिल्लो चक्रभन्दा उल्लेखनीय वृद्धि थियो । तर पछिल्लो अनुमानहरूले कुल आम्दानी झन्डै १३ अर्ब डलर (१९ खर्ब ७६ अर्ब नेपाली रुपैयाँ) पुग्ने देखाएका छन् ।

जसमध्ये करिब ८.९ अर्ब डलर (१३ खर्ब ५२ अर्ब ८० करोड) सिधै २०२६ विश्वकपबाटै आउने अपेक्षा गरिएको विजनेश स्ट्यान्डर्डले जनाएको छ ।

यो चार वर्षे चक्र जुन कतार विश्वकप २०१९-२२ चक्रको ७.५७ अर्ब डलरभन्दा करिब ७२ प्रतिशतले बढी हो । यसको अतिरिक्त वृद्धिको ठूलो हिस्सा भने नयाँ सुरु भएको २०२५ क्लब विश्वकपबाट आएको हो जुन मूल बजेटमा थिएन ।

प्रसारण अधिकार सबैभन्दा ठूलो स्रोत

फिफाको कमाइको सबैभन्दा ठूलो स्रोत प्रसारण अधिकार हो ।

फिफाले प्रसारण अधिकारलाई आम्दानीको सबैभन्दा ठूलो स्रोत मान्दै यसबाट झन्डै ४ अर्ब डलर (६ खर्ब ८ अर्ब रुपैयाँ) आम्दानी हुने अपेक्षा गरेको छ जबकि विश्लेषक संस्था एम्पियर एनालिसिसले भने प्रसारण आम्दानी करिब ३.८ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ, जुन कतार विश्वकप २०२२ भन्दा करिब २२ प्रतिशतले बढी हो । अमेरिकी बजारमा घरेलु मिडिया अधिकारको मूल्य विशेष गरी बढेको छ ।

प्रायोजन पनि रेकर्ड स्तरमा छ । प्रायोजन आम्दानी करिब १.८ अर्ब डलर हुने अनुमान छ जसमा साउदी ऊर्जा कम्पनी आराम्कोसँगको नयाँ सम्झौता पनि सहयोगी बनेको छ । अर्को अनुमानअनुसार भने प्रायोजन आम्दानी करिब २.४ अर्ब डलर पुग्न सक्छ, जुन कतार विश्वकपको भन्दा करिब ३७ प्रतिशत बढी हो ।

टिकट र आतिथ्य क्षेत्रमा पनि ठूलो उछाल आएको छ । कतार विश्वकपमा म्याचडे आम्दानी करिब ९५ करोड डलर मात्र थियो, जुन यस पटक ३ अर्ब डलरसम्म पुग्न सक्ने अनुमान छ । यो करिब २१६ प्रतिशतको वृद्धि रहेको स्पोर्ट भ्यालुले जनाएको छ।

फिफाका व्यावसायिक साझेदारहरूको भौगोलिक वितरण हेर्दा अमेरिकी कम्पनीहरूको बाहुल्य देखिन्छ । २६ विश्वकप साझेदार/प्रायोजकमध्ये १४ वटा अमेरिकामा मुख्यालय भएका छन् जसमा कोका-कोला र भिसा जस्ता शीर्ष तहका साझेदारहरूसमेत पर्छन् ।

खर्च र वितरण

विश्वकपमा फिफाले वितरण गर्ने पुरस्कार रकममा पनि यसपालि नयाँ रेकर्ड बनेको छ । नकआउट चरणमा पुगेका सबै ३२ टिमले कम्तीमा ११० लाख डलर पाउने ग्यारेन्टी छ र ग्रुप चरणबाटै बाहिरिएका १६ टिमले पनि १ करोड डलर पाउनेछन् । टिमहरूको तयारी, प्रतिनिधिमण्डल र टिकटिङ खर्च समेत जोड्दा फिफाको कुल पुरस्कार रकम ८७.१ करोड डलर (१ खर्ब ३२ अर्ब ३९ करोड २० लाख रुपैयाँ) पुग्छ जुन कतार विश्वकप २०२२ को ४४ करोड डलरभन्दा झन्डै दोब्बर हो ।

सञ्चालन खर्चतर्फ

फिफाको सन् २०२४ को वार्षिक प्रतिवेदनअनुसार सञ्चालन खर्चमा मात्रै १.१ अर्ब डलर लाग्ने देखिन्छ जसमा कार्यक्रम यातायातका लागि १५.९ करोड डलर र रेफ्री सेवाका लागि २.३ करोड डलर समावेश रहेको फोर्ब्सले जनाएको छ ।

त्यस्तै फिफाले क्लबहरूलाईसमेत भुक्तानी गर्छ । फिफाको क्लब बेनिफिट कार्यक्रम अन्तर्गत, विश्वकपमा खेलाडी खटिँदा प्रतिदिन कम्तीमा ५ हजार डलर भुक्तानी हुने व्यवस्था छ र क्वालिफायरमा खेलाडी खटाउने क्लबहरूलाई पनि कुल १० करोड डलर दिइएको थियो ।

आयोजक देशका खर्चहरू फरक

रोचक कुरा के छ भने फिफाले केन्द्रीकृत आम्दानी लिन्छ तर आयोजना खर्चको ठूलो भार भने आयोजक शहर/सरकारहरूले नै बेहोर्नुपर्छ । फिफाले धेरैजसो केन्द्रीय आम्दानी लिन्छ जबकि आयोजक शहर र सरकारहरूले भने सुरक्षा, यातायात, स्टेडियम तयारी, फ्यान जोन, सार्वजनिक सेवा, आपत्कालीन योजना र स्थानीय व्यवस्थापनसँग जोडिएको खर्च बेहोर्नुपर्छ । क्यानडाको उदाहरण हेर्दा क्यानडाको संसदीय बजेट अधिकारीको अनुमानअनुसार आयोजनाका लागि सरकारी सहयोग कुल १.०६६ अर्ब क्यानाडेली डलर पुग्छ जसमा संघीय सरकारबाट ४७.३ करोड र अन्य तहका सरकारहरूबाट ५९.३ करोड समावेश छ । अमेरिकामा पनि प्रोपब्लिका र ह्युस्टन क्रोनिकलको समीक्षाले ‘लगभग सबै’ आयोजना खर्च शहरहरूकै थाप्लोमा पर्ने देखाएको छ ।

व्यापक आर्थिक प्रभाव

फिफाको सोझो आम्दानीभन्दा बाहिर पनि यसको प्रभाव ठूलो देखिन्छ । २०२६ विश्वकपले समग्रमा ८० अर्ब डलर (१२ खर्ब १६ अर्ब) भन्दा बढीको आर्थिक गतिविधि सिर्जना गर्ने अनुमान छ र करिब ६५ लाख प्रशंसक खेल हेर्न यात्रा गर्ने अपेक्षा गरिएको छ। आर्थिक गतिविधि भन्नाले अमेरिका, क्यानडा, मेक्सिकोमा यो विश्वकपका कारण सिर्जना हुने कुल पैसाको चहलपहल हो।

नतिजा अनुसार पुरस्कार रकम

विश्वकप विजेताले प्रदर्शनमूलक पुरस्कारबापत ५० मिलियन र तयारी अनुदान (२.५ मिलियन डलर) जोड्दा कुल ५२.५ मिलियन डलर (७ अर्ब ९८ करोड रुपैयाँ) पुग्छ । यो कतार विश्वकप २०२२ मा अर्जेन्टिनाले पाएको ४.२ करोड डलरभन्दा ८० लाख डलर बढी र विश्वकप इतिहासकै सबैभन्दा ठूलो भुक्तानी हो ।

विश्वकप २०२६: नतिजा अनुसार पुरस्कार रकम (प्रदर्शनमूलक + तयारी अनुदान)

स्थानप्रदर्शनमूलक पुरस्कारतयारी अनुदानकुल रकमनेपाली रुपैयाँमा
विजेता$50 मिलियन$2.5 मिलियन$52.5 मिलियन७ अर्ब ९८ करोड
उपविजेता$33 मिलियन$2.5 मिलियन$35.5 मिलियन५ अर्ब ३९ करोड
तेस्रो स्थान$29 मिलियन$2.5 मिलियन$31.5 मिलियन४ अर्ब ७९ करोड
चौथो स्थान$27 मिलियन$2.5 मिलियन$29.5 मिलियन४ अर्ब ४८ करोड
क्वार्टरफाइनलमा बाहिरिने$19 मिलियन$2.5 मिलियन$21.5 मिलियन३ अर्ब २७ करोड
राउन्ड अफ १६ मा बाहिरिने$15 मिलियन$2.5 मिलियन$17.5 मिलियन२ अर्ब ६६ करोड
राउन्ड अफ ३२ मा बाहिरिने$11 मिलियन$2.5 मिलियन$13.5 मिलियन२ अर्ब ५ करोड
ग्रुप-स्टेजबाटै बाहिरिने (३३-४८ स्थान)$9 मिलियन$2.5 मिलियन$11.5 मिलियन१ अर्ब ७५ करोड

एजेन्सीहरूको सहयोगमा