
एजेन्सी । नयाँ स्याटेलाइट तस्बिरहरूले उत्तर–पश्चिमी चीनको मरुभूमिमा अमेरिकी युद्धपोतको थ्रीडी प्रतिलिपि देखिएको छ ।
अमेरिकासँग बढ्दो सैन्य प्रतिस्पर्धाका बीच यो हतियार परीक्षणको तयारीका लागि बनाइएको देखिन्छ । सिन्ज्याङमा देखिएको यो नमूना अर्लेह बर्क–क्लासको गाइडेड–मिसाइल डिस्ट्रोयर जस्तो देखिन्छ । यो अमेरिकी जलसेनाको मुख्य आधार हो जसलाई विमानवाहक जहाजको सुरक्षा, हवाई रक्षा र हालैको इरान युद्धमा जस्तै लामो दूरीको आक्रमणका लागि प्रयोग गरिन्छ ।
१० वटा अर्लेह बर्क जहाजहरू सम्मिलित डिस्ट्रोयर स्क्वाड्रन १५ आफ्नो प्रकारको सबैभन्दा ठूलो लडाकु समूह हो र यो अमेरिकी सेभेन्थ फ्लीटको कमान्ड अन्तर्गत जापानमा तैनाथ छ । प्रशान्त क्षेत्रमा सञ्चालनका क्रममा यी जहाजहरू प्रायः चिनियाँ जलसेनासँग आमनेसामने हुने गर्छन् ।
सैन्य विश्लेषकहरूका अनुसार, यो प्रतिलिपि सम्भवतः निशाना अभ्यासका लागि प्रयोग गरिनेछ जसले वाशिङटनसँगको वर्तमान राजनीतिक सम्बन्ध जस्तोसुकै भए पनि बेइजिङले निकट भविष्यमा हुनसक्ने सम्भावित प्रत्यक्ष युद्धलाई गम्भीरतापूर्वक लिइरहेको संकेत गर्छ ।
चीनले हालैका वर्षमा ताक्लामाकान मरुभूमिमा सामुद्रिक निशाना केन्द्र बनाएको छ जहाँ एन्टी–शिप ब्यालिस्टिक मिसाइलहरू र हालैका सैन्य परेडहरूमा प्रदर्शन गरिएका नयाँ हाइपरसोनिक मिसाइलहरूको परीक्षण गरिन्छ । यसअघि कम्तीमा दुईवटा अर्लेह बर्क र दुईवटा अमेरिकी विमानवाहक जहाजका नमूनाहरू देखिएका थिए तर ती सबै टुडी थिए ।
रुओकियाङस्थित पिपुल्स लिबरेसन आर्मीको मिसाइल परीक्षण केन्द्रमा रहेको यो नयाँ थ्रीडी लक्ष्यलाई ताइपेईस्थित अनुसन्धानकर्ता जोसेफ वेनले मे ११ मा अमेरिकी कम्पनी भान्न्टरको स्याटेलाइट तस्बिरमार्फत पहिचान गरेका हुन् । फेब्रुअरी १ मा खिचिएको तस्बिरमा यो नक्कली जहाजको भित्री संरचना बन्दै गरेको देखिएको थियो ।
वेनका अनुसार, यो वास्तविक आकारको नमूना मरुभूमिमा गुड्ने चलायमान लक्ष्यहरू ओसारपसार गर्न प्रयोग गरिने रेल ट्य्राक नजिकै देखिएको हो । यो ३७ किलोमिटर लामो रेल प्रणालीले अमेरिकी युद्धपोतहरूको इलेक्ट्रोनिक संकेत नक्कल गर्न सक्ने उपकरणहरू बोक्ने विश्वास गरिन्छ ।
यस व्यवस्थाले चिनियाँ सेनालाई आफ्नो रेडार र हतियार प्रणालीको किल चेन प्रमाणित गर्न र अझ यथार्थपरक निशाना अभ्यास गर्न मद्दत पुर्याउँछ । थिंकट्यांक ग्लोबसेकका ब्राइस ब्यारोसले बताएअनुसार, यस नक्कली संरचनाले चिनियाँ सेनाका लागि प्रतिरोधात्मक संकेतको रूपमा काम गर्छ । चीनले अमेरिकी युद्धपोतहरूका साथै जापान र दक्षिण कोरियाली जलसेनाले प्रयोग गर्ने जहाजहरूलाई कसरी ध्वस्त पार्ने भन्नेबारे यसले गम्भीर अध्ययन गरिरहेको देखाउँछ ।
अमेरिका र चीनबीच सम्भावित टकरावको एउटा मुख्य कारण ताइवानको भविष्य हुन सक्छ । ताइवानको रक्षाका लागि अमेरिकी जलसेनाले प्रशान्त महासागरमा ठूलो दूरी तय गर्नुपर्ने हुन्छ र चीनले ती जहाजहरूलाई टाढैबाट रोक्ने तयारी गरिरहेको छ ।
मिसाइल परीक्षण केन्द्रभन्दा अलि पर एउटा जमिनमा आधारित हतियार केन्द्र पनि छ जहाँ अमेरिकी एफ–३५ र एफ–२२ लडाकु विमानका नमूनाहरू सन् २०२४ देखि नै देखिएका छन् ।
चिनियाँ सैन्य तयारी अमेरिकी सम्पत्तिहरूमा मात्र सीमित छैन । अक्टोबरमा चिनियाँ सैन्य तालिम केन्द्रमा ताइवानको राष्ट्रपति भवन र अन्य मुख्य सरकारी भवनहरूको प्रतिलिपि पनि विस्तार गरिएको स्याटेलाइट तस्बिरमा देखिएको थियो ।






प्रतिक्रिया