गणेश नेपालीको आत्मदाह राजनीतिक बहसको विषय मात्र होइन: गगन थापा

147
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको निधनलाई केवल राजनीतिक मुद्दा वा आरोप-प्रत्यारोपको विषय नबनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै थापाले यस दुःखद घटनालाई एउटा नागरिकको जीवन, परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडेर हेर्नुपर्ने बताएका छन्।

यो घटनाले राज्य, समाज र हाम्रो सामूहिक चेतनालाई गम्भीर रूपमा झस्काएको उल्लेख गर्दै उनले विगत र वर्तमानको दोष खोज्नुभन्दा पनि राज्य सञ्चालनमा कहाँ कमजोरी भयो भन्नेबारे आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

थापाले प्रश्न गरेका छन्, ‘एउटा युवा किन यस्तो चरम निराशाको बिन्दुमा पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ?’

मृतक नेपालीको आश्रित परिवारलाई सहयोग गर्न अपिल गर्दै उनले राज्यका संयन्त्रहरूले नागरिकलाई भरोसा दिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । भविष्यमा कुनै पनि नागरिकले यस्तो कठोर बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै मृतक नेपालीप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ छ ।