परराष्ट्रमन्त्री खनाल र यूएईका वैदेशिक व्यापार मन्त्रीबीच भेटवार्ता, लगानीका विषयमा छलफल

42
Shares

काठमाडौं । संयुक्त अरब अमिरात (यूएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयुदीले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा मन्त्री जेयुदी नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली पक्षबीच दुई देशको हित र आपसी सहयोगका विविध पक्षमा छलफल भएको छ ।

भेटका क्रममा दुवै मन्त्रीहरूले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । उनीहरूले व्यापार, लगानी, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, पर्यटन, श्रम आप्रवासन, पूर्वाधार विकास र नवीकरणीय ऊर्जा जस्ता साझा चासोका क्षेत्रमा सहकार्य बढाउने विषयमा विचार आदानप्रदान गरेका थिए ।

विशेषगरी नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा यूएईको सोभरेन वेल्थ फन्ड मार्फत लगानी परिचालन गर्ने सम्भावनामाथि विशेष चर्चा भएको छ ।

परराष्ट्रमन्त्री खनालले नेपाल र यूएईबीचको स्थायी मित्रता र बढ्दो सहयोगको चर्चा गर्दै नेपाल सरकारको आगामी योजनाबारे जानकारी गराए । उनले नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठलाई ऐतिहासिक कोशेढुंगाका रूपमा मनाउने लक्ष्य रहेको बताए ।

मन्त्री खनालले उक्त अवसरमा नेपालका विभिन्न विकास आयोजनाहरूमा यूएईको उल्लेख्य लगानी सुनिश्चित गरेर दुई देशको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने चाहना व्यक्त गरे ।

यसका साथै परराष्ट्रमन्त्री खनालले नेपाली श्रमिकहरूले भोग्दै आएका प्रशासनिक झन्झट घटाउन यूएई सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भइसकेको प्रहरी प्रतिवेदनलाई यूएई सरकारले पुनः थप प्रमाणीकरण गर्नुपर्ने विद्यमान अनिवार्य व्यवस्थालाई हटाउन आग्रह गरे । यो व्यवस्था हटेमा यूएई जाने नेपाली कामदारहरूको समय र खर्च दुवै बचत हुने देखिन्छ ।

यूएई नेपालको चौथो ठूलो व्यापारिक साझेदार र वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो । हाल यूएईमा ४ लाख ५० हजारभन्दा बढी नेपाली श्रमिकहरू कार्यरत छन् । उनीहरूले नेपालको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्समार्फत ठूलो योगदान पुर्याउँदै आएका छन् ।

पछिल्लो समय यूएईले नेपालको जलविद्युत् र पर्यटन क्षेत्रमा पनि लगानी गर्न चासो देखाउँदै आएको छ । आजको भेटले दुई देशबीचको आर्थिक कूटनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।