फ्रान्सले जित्ने सम्भावना ६१.७%, मोरक्कोलाई १६.२% मौका मात्र

42
Shares

एजेन्सी । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आजदेखि सुरु हुँदैछ र यसको सुरुवात नै फ्रान्स र मोरक्को बीचको चर्चित भिडन्तबाट हुनेछ ।

खेल नेपाली समय अनुसार शुक्रबार विहान १ बजेर ४५ मिनेटमा हुने खेल जिलेट स्टेडियम, फक्सबरोमा हुनेछ ।

यो खेल विशेष चासोको विषय बनेको छ किनभने चार वर्षअघि कतारमा भएको सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएर फाइनलमा पुगेको थियो र आज उही टिमहरू फेरि आमनेसामने हुँदैछन् ।

खेल हुनुअघि नै तथ्यांकमा आधारित भविष्यवाणीहरूको चर्चा चलिरहेको छ । फुटबल तथ्याङ्क कम्पनी ओप्टाले आफ्नो सुपरकम्प्युटरबाट २५ हजारभन्दा बढी पटक म्याच सिमुलेसन गरी तयार पारेको मोडेलअनुसार फ्रान्सलाई ६१.७ प्रतिशत सम्भावनासहित प्रबल दाबेदार देखाइएको छ । मोरक्कोको जित्ने सम्भावना १६.२ प्रतिशत मात्र आँकिएको छ ।

बाँकी करिब २२ प्रतिशत सम्भावना भने खेल नियमित समयमा निर्णय नभई अतिरिक्त समयसम्म तानिने देखाउँछ ।

समग्र टुर्नामेन्ट जित्ने सम्भावनाको हिसाबमा पनि उही मोडेलले फ्रान्सलाई सबैभन्दा माथि राखेको छ, लगभग ३१ प्रतिशत सम्भावनासहित ।

डिडिए देशाम्पको नेतृत्वमा फ्रान्सले अहिलेसम्म खेलेका पाँचै खेल जितेको छ र टुर्नामेन्टकै सबैभन्दा मजबुत रक्षापंक्ति कायम राखेको छ जसले जम्मा दुई गोल मात्र खाएको छ ।

किलियन एम्बापे सात गोलसहित गोल्डेन बुटको दौडमा अगाडि छन्। राउन्ड अफ १६ मा फ्रान्सले प्याराग्वेलाई एम्बापेकै दोस्रो हाफमा भएको पेनाल्टी गोलको भरमा एक-शून्यले परास्त गरेको थियो।

मोरक्कोका लागि भने यो खेलअघि नै एउटा ठूलो झट्का लागिसकेको छ । ग्रुप चरणका तीनै खेलमा गोल गर्ने र नेदरल्यान्ड्सविरुद्धको राउन्ड अफ १६ मा विजयी पेनाल्टी गोल गर्ने इस्माइल साइबारी हम्स्ट्रिङको चोटका कारण यो खेलबाट बाहिरिएका छन् ।

उनको अनुपस्थितिमा एटलस लायन्सहरूले आक्रमणको भार ब्राहिम दियाज र अच्रफ हाकिमीमाथि थप्नुपर्नेछ जसले क्यानाडालाई ३-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।

तर विश्लेषकहरू मोरक्कोलाई पूर्ण रूपमा उपेक्षा गर्न सकिँदैन भन्ने मतमा छन् । एटलस लायन्सहरूले गहिरो रक्षा, संकुचित संरचना, र हाकिमी-एन-नेस्यरीको प्रतिआक्रमणमा भर पर्ने उस्तै रणनीतिका भरमा नै २०२२ मा स्पेन र पोर्चुगल जस्ता बलिया टिमहरूलाई चुनौती दिएका थिए, जसका कारण आजको खेल पनि स्कोरलाइनले देखाउनेभन्दा नजिकको हुनसक्ने आकलन गरिएको छ । साथै फ्रान्सले यस शताब्दीमा खेपेका विश्वकप हारहरूमध्ये आधा हार अफ्रिकी टिमहरूसँगै भएको तथ्यले पनि मोरक्कोको चुनौतीलाई गम्भीरतापूर्वक लिनुपर्ने संकेत गर्छ ।

धेरैजसो अन्तर्राष्ट्रिय पूर्वानुमानहरूले फ्रान्स नै विजयी हुने तर स्कोरलाइन तुलनात्मक रूपमा कसिलो (जस्तै २-१ वा २-०) रहने प्रक्षेपण गरेका छन् । खेलको वास्तविक नतिजा भने आज साँझ मैदानमै निर्क्योल हुनेछ ।