
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काठमाडौं उपत्यकाका वितरण केन्द्रहरूमा अनुगमन सुरु गरेको छ। पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको हो ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि सचिवालय र कर्मचारी सम्मिलित टोलीले महाराजगञ्ज वितरण केन्द्रको स्थलगत अनुगमन गरेको छ । ‘जनताको गुनासो आएपछि पहिलो अनुगमन महाराजगञ्ज वितरण केन्द्रमा गरिएको हो। यहाँ अन्य कारणभन्दा पनि प्राविधिक कारणले समस्या आएको देखिएको छ,’ मन्त्रालय सचिवालयले क्लिकमान्डुसँग भन्यो।
समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने जनाइएको छ।
मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान अन्तर्गत यो अनुगमन सुरु भएको हो ।
पछिल्ला दिनमा देशव्यापी रूपमा नै विद्युत् ट्रिपिङको गुनासो बढिरहेको छ। यही मंगलबार ऊर्जामन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख लगायतलाई भेटेर जनताको गुनासो सम्बोधन गर्न निर्देशन दिएका थिए। अहिले मन्त्रालयमा सबैभन्दा बढी गुनासो ट्रिपिङकै आउने गरेको सचिवालयले बताएको छ।






प्रतिक्रिया