सुनको मूल्य किन घट्दैछ ? जापान, पेट्रोडलर र वैश्विक तरलताको खेलमा लुकेको छ रहस्य

371
Shares

एजेन्सी । विश्व राजनीतिमा तनाव बढ्दा, युद्धका बादलहरू मडारिँदा र अनिश्चितता छाउँदा एउटा कुरा निश्चित मानिन्थ्यो— ‘सुनको मूल्य आकाशिनेछ ।’

लगानीकर्ताहरूको परम्परागत धारणा हो, ‘जब संकट आउँछ, सुनले नै बचाउँछ ।’ तर, हालैको बजारले यस धारणालाई गलत साबित गरिदिएको छ । पश्चिम एसियामा तनाव छ, युक्रेन–रुस युद्ध जारी छ । तैपनि सुनको मूल्यमा गिरावट देखिएको छ ।

सुन मात्र होइन, सेयर बजार, चाँदी र बिटकोइन समेत एकैसाथ ओरालो लागेका छन् । धेरैले यसको दोष अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीति वा डोनल्ड ट्रम्पका अभिव्यक्तिहरूलाई दिइरहेका छन् ।

ती कारणहरू सतहमा सही देखिए पनि यस गिरावटको भित्री र गहिरो सम्बन्ध अमेरिकामा मात्र नभई जापानको मौद्रिक नीति र विश्वको पेट्रोडलर संयन्त्रसँग जोडिएको छ ।

सुनको मूल्य बुझ्न सबैभन्दा पहिला एउटा सामान्य नियम बुझ्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एउटा फ्र्याक्सन जस्तो हुन्छः माथि सुन, तल डलर । हामीले सुनको मूल्य यति डलर भयो भन्दा दुईवटा कुरा नापिरहेका हुन्छौं ः सुनको आफ्नै मूल्य र त्यसलाई नाप्ने डलरको मूल्य ।

यो फ्र्याक्सनको मान घटिरहेको छ भने दुईवटा सम्भावना हुन्छन् : कि त सुनको मूल्य वास्तवमै कमजोर भयो, कि त यसलाई नाप्ने डलर शक्तिशाली भयो । अहिले बजारमा सुन कमजोर भएको नभई डलर असाधारण रूपमा शक्तिशाली भएको छ ।

डलरको अभाव भएर यसको मूल्य बढ्दा सुनको मूल्य कागजी रूपमा घटेको देखिन्छ । प्रश्न उठ्छ— विश्वमा अचानक डलरको यति धेरै माग किन बढ्यो ?

सन् १९७४ देखि विश्वभर अलिखित तर कडा नियम छ— ‘तेलको व्यापार डलरमा मात्र हुनेछ ।’ यसैलाई पेट्रोडलर भनिन्छ । जापान, भारत वा जर्मनी जसले तेल किने पनि उनीहरूले पहिला डलरको जोहो गर्नुपर्छ ।

पछिल्लो समय इरान र इजरायलबीचको तनावका कारण हर्मुज जलयोजक जोखिममा पर्यो । विश्वको २० प्रतिशत तेल यहीँबाट आपूर्ति हुन्छ । तनावका कारण तेलको मूल्य प्रति ब्यारल १०० डलरको नजिक पुग्यो । अब सोच्नुहोस्, तेल महँगो भयो तर व्यापार डलरमै छ । यसको अर्थ, विश्वका सबै देशहरूलाई उही परिमाणको तेल किन्न पहिलाभन्दा धेरै डलर चाहियो ।

एक्कासि डलरको माग बढ्दा बजारमा डलरको अभाव (क्अबचअष्तथ) भयो । जुन देशहरूसँग डलरको पर्याप्त सञ्चिति थिएन, उनीहरूले तेलको बिल तिर्न डलर जुटाउनुपर्ने भयो । डलर जुटाउने सबैभन्दा सजिलो र छिटो उपाय के थियो ? आफ्नो ढुकुटीमा रहेको सुन बेच्ने ।

धेरै देशका केन्द्रीय बैंकहरूले तेलको आपूर्ति सुनिश्चित गर्न सुन बेचेर डलर जम्मा गर्न थाले जसले गर्दा बजारमा सुनको आपूर्ति बढ्यो र मूल्य घट्यो ।

अझ रोचक कुरा के भने हर्मुज जलसन्धि खुल्दा र तेलको मूल्य घट्न थाल्दा पनि सुनको मूल्य बढेन किनभने मूल्य घटेको बेला तेलको भण्डार भर्न राष्ट्रहरू फेरि डलरकै खोजीमा लागे । महँगो हुँदा पनि डलर चाहिने, सस्तो हुँदा पनि डलर चाहिने— यसले डलरलाई झन् शक्तिशाली बनायो र सुनलाई ओरालो लाग्यो ।

सुनको मूल्य घटाउने सबैभन्दा ठूलो र गोप्य कारण जापानमा लुकेको छ । यसलाई बुझ्न येन क्यारी ट्रेड बुझ्न आवश्यक छ ।

विगत ३० वर्षदेखि जापानमा ब्याजदर शून्य वा ऋणात्मक जस्तै थियो । यसको फाइदा उठाउँदै विश्वका ठूला लगानीकर्ता र हेज फन्डहरूले जापानबाट सस्तोमा येन ऋण लिन्थे । त्यो पैसालाई डलरमा साटेर उनीहरूले विश्वभर लगानी गर्थे— कसैले अमेरिकी सेयर किन्थे, कसैले सुन, त कसैले बिटकोइन । यो एउटा यस्तो मशिन थियो जहाँ शून्य लगानीमा अर्बौंको नाफा कमाउन सकिन्थ्यो ।

तर, अहिले जापानले आफ्नो दशकौं लामो नीति परिवर्तन गर्दै ब्याजदर बढाउने संकेत दिएको छ । जापानमा ब्याजदर बढ्न थाल्दा सस्तो ऋणको युग सकिन्छ । लगानीकर्ताहरूले जापानबाट लिएको ऋण फिर्ता गर्नुपर्ने हुन्छ । ऋण तिर्नका लागि उनीहरूले विश्वभर फिँजाएको आफ्नो लगानी फिर्ता लिनुपर्छ ।

यस्तो बेला लगानीकर्ताले के बेच्छन् ? उनीहरूले घाटामा रहेको सम्पत्ति नभई सबैभन्दा धेरै नाफामा रहेको सम्पत्ति बेच्छन् । किनभने नाफामा रहेको वस्तु बेच्दा सजिलै र धेरै नगद प्राप्त हुन्छ । पछिल्लो केही वर्षमा सुन र चाँदीले सबैभन्दा राम्रो प्रतिफल दिएका थिए ।

त्यसैले जापानको ऋण तिर्न र अन्य क्षेत्रको घाटा पूर्ति गर्न लगानीकर्ताहरूले धमाधम सुन बेच्न थाले । सुन खराब भएर बेचिएको होइन । बरु सुन सबैभन्दा राम्रो नगदको स्रोत भएकाले बेचिएको हो ।

विगत १८ महिनादेखि चीन, भारत र टर्कीका केन्द्रीय बैंकहरूले कीर्तिमानी स्तरमा सुन खरिद गरिरहेका थिए । उनीहरू डलरमाथिको निर्भरता घटाउन चाहन्थे । तर, पेट्रोडलर र तरलताको संकट आएपछि तिनै बैंकहरूले सुन बेच्न वा खरिद रोक्न बाध्य हुनुपर्यो ।

चीनको केन्द्रीय बैंकले लगातार १८ महिनाको खरिदपछि हालै आफ्नो सुन खरिद प्रक्रिया रोकेको छ । यसले बजारमा एउटा नकारात्मक सन्देश गयो । तर, वास्तविकता के हो भने चीनले सुन नचाहेर रोकेको होइन । बरु आफ्नो मुद्रा युआनलाई डलरविरुद्ध बचाउन र आन्तरिक आर्थिक समस्या सुल्झाउन उसलाई डलरको आवश्यकता परेको हो ।

सुनको यो गिरावट संरचनात्मक नभई प्राविधिक र सामयिक हो । सुनको मौलिक मूल्यमा कुनै ह्रास आएको छैन । अहिलेको गिरावट मुख्यतया डलरको अल्पकालीन अभाव र जापानको नीति परिवर्तनले ल्याएको प्यानिक सेल मात्र हो ।

अमेरिकाको राष्ट्रिय ऋण ३५० खर्ब डलर नाघेको छ । डलर जतिसुकै बलियो देखिए पनि लामो समयसम्म यो टिक्न सक्दैन ।

ब्रिक्स राष्ट्रहरू अझै पनि डलरको विकल्प खोजिरहेका छन् । अहिलेको तरलता संकट सकिनेबित्तिकै केन्द्रीय बैंकहरू पुनः सुन खरिदमै फर्किनेछन् ।

भविष्यमा फेडले ब्याजदर घटाउन थाल्यो भने डलर कमजोर हुनेछ र सुनको मूल्यमा पुनः ऐतिहासिक उछाल आउनेछ ।
अहिले सुनको मूल्य किन घटिरहेको छ भनेर कसैले सोध्यो भने यसको जवाफ अमेरिकाको मुद्रास्फीतिमा मात्र छैन । यसको जवाफ हर्मुज जलयोजकको तेल व्यापार र जापानको बैंकमा रहेको ब्याजदरको स्विीचमा छ ।

जापानले आफ्नो ब्याजदर स्थिर गर्दा र विश्व बजारमा डलरको आपूर्ति सहज हुँदा सुन फेरि आफ्नो स्वाभाविक बाटोमा फर्कनेछ । अहिलेको गिरावट लगानीकर्ताका लागि एउटा पाठ हो— ‘संकटको समयमा मानिसले आफूले चाहेको वस्तु बेच्दैन, बरु जे सजिलै बिक्छ, त्यही बेच्छ ।’ र सुन जहिले पनि सबैभन्दा सजिलै बिक्ने वस्तु हो ।

यो गिरावट सुनको अन्त्य होइन, बरु अर्को ठूलो छलाङ मार्नुअघिको एउटा विश्राम मात्र हुन सक्छ । बजारमा तरलताको खेल सकिएपछि सुन पुनः आफ्नो सुरक्षित गन्तव्यको पहिचानमा फर्किने निश्चित छ ।