विद्युत ट्रिपिङ र लो भोल्टेजले मोरङ–सुनसरी औद्योगिक क्षेत्र सास्तीमा, उद्योगीहरू आक्रोशित

28
Shares

विराटनगर । बारम्बार हुने विद्युत ट्रिपिङ र लो भोल्टेजका कारण उद्योग सञ्चालन नै प्रभावित भएको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी विद्युत प्राधिकरणप्रति आक्रोशित बनेका छन् ।

उनीहरूले उद्योग क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न र औद्योगिक क्षेत्रमा भरपर्दो विद्युत सुविधा उपलब्ध गराउन प्राधिकरण समक्ष माग गरेका छन् ।

उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था मोरङ उद्योग व्यापार संघले विज्ञप्ति जारी गर्दै वर्षायाममा पर्याप्त विद्युत उत्पादन हुने समयमै उद्योगहरूले अनिर्धारित, अनियमित र अघोषित रूपमा विद्युत अवरोध भोग्नुपरेको उल्लेख गर्दै पूर्वसूचनाविना प्रत्येक दिन पटक–पटक हुने ट्रिपिङ, लो भोल्टेज तथा अघोषित लोडसेडिङले उद्योग सञ्चालनमा गम्भीर अवरोध भएको जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा उल्लेखनीय सुधार भएको दाबी गरिरहेको भए तापनि वास्तविकतामा उद्योगहरूले दैनिक घण्टौँसम्म अनिश्चित विद्युत आपूर्तिको सामना गर्नुपरेको संघका अध्यक्ष अनुपम राठीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । यसले उत्पादन तालिका प्रभावित हुनुका साथै कच्चा पदार्थ नष्ट हुँदा उद्योग सञ्चालनको लागतसमेत बढाएर उपभोक्तामाथि आर्थिक भार थपेको विज्ञप्तिमा भनिएको छ ।

विद्युतको अनियमित आपूर्तिका कारण उद्योगहरूमा जडान गरिएका करोडौँ रुपैयाँ मूल्यका अत्याधुनिक मेसिन, इलेक्ट्रोनिक कन्ट्रोल प्यानल, सफ्टवेयर प्रणाली तथा विभिन्न पार्टपुर्जामा बारम्बार क्षति पुगिरहेको उल्लेख गरिएको छ । विद्युत आउने–जाने क्रम निरन्तर दोहोरिँदा उपकरण बिग्रिने, मर्मत गर्नुपर्ने र उत्पादन बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको संघको विज्ञप्तिमा भनिएको छ ।

विद्युत आपूर्तिको यो अनियमितताले विशेष गरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरू सबैभन्दा बढी प्रभावित भएको संघको भनाइ छ । उत्पादन प्रक्रियाकै बीचमा विद्युत आपूर्ति अवरुद्ध हुँदा मेसिनभित्र रहेका कच्चा पदार्थ नष्ट हुँदा उद्योगको आर्थिक भार बढ्दा उत्पादन लागत स्वतः बढ्ने जनाइएको छ ।

विद्युत आपूर्ति अनियमित हुँदा उद्योगमा कार्यरत हजारौँ श्रमिक कामविहीन भएर बस्नुपर्ने अवस्था आएको छ । तर, उद्योगहरूले श्रमिकको पारिश्रमिक, बैंकको ब्याज, सञ्चालन खर्च तथा अन्य नियमित दायित्व भने यथावत् व्यहोर्नुपर्ने बाध्यता भएसँगै यसले स्वदेशी उद्योगको उत्पादन क्षमता, प्रतिस्पर्धात्मकता र लगानीको वातावरण कमजोर बन्दै गएको संघको विज्ञप्तिमा भनिएको छ ।

विद्युत आपूर्ति अवरुद्ध हुँदा समयमा उत्पादन हुन नसक्दा बजारमा वस्तुको अभाव सिर्जना हुने, ग्राहकको माग पूरा गर्न नसक्दा उद्योगको विश्वसनीयता घट्ने र त्यसको प्रत्यक्ष लाभ आयातित वस्तुले उठाउन पाउँदा स्वदेशी उत्पादनलाई थप कमजोर बनाउने संघको बुझाइ छ ।

देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको औद्योगिक क्षेत्रमा विनापूर्वसूचना विद्युत कटौती गर्नु र उद्योगी व्यवसायीका समस्याप्रति बेवास्ता गर्नु अत्यन्तै दुःखद भएको उल्लेख गर्दै संघले नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायसँग अघोषित लोडसेडिङ, लो भोल्टेज र बारम्बार हुने ट्रिपिङको समस्या तत्काल अन्त्य गर्न माग गरेको छ ।

त्यसैगरी प्राविधिक कारणले विद्युत आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएमा उद्योग व्यवसायलाई समयमै पूर्वसूचना उपलब्ध गराउन, विद्युत वितरण प्रणालीको क्षमता विस्तार गरेर स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धन गर्न संघले विद्युत प्राधिकरण समक्ष आग्रह पनि गरेको छ ।