वत्सलले ९ महिनामा बेच्यो साढे ३ अर्बका साओमी ब्रान्डका सामग्री

35
Shares

काठमाडौं । साओमी ब्रान्डको सामग्री बेच्ने वत्सल इम्पेक्सले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा करिब साढे ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ३ अर्ब ३५ करोड रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत आवमा ३ अर्ब ८७ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा ४ अर्ब १० करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ५ अर्ब ५ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबार गत आवमा ६ प्रतिशतले कमी आएको थियो । तर, चालु आवको ९ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले कारोबार वृद्धि भएको छ ।

कम्पनीको कारोबार वृद्धिसँगै डेट कभरेज सूचकहरु सकारात्मक रहेको छ । चालु आवको ९ महिनाको अवधिमा कम्पनीको ब्याज भुक्तानी क्षमता ४.३ गुणा रहेको छ । गत आवमा २.९ गुणा थियो । कम्पनीका अनुसार चालु आवमा कर्जाको ब्याजदरमा कमी आएका कारण इन्ट्रेस्ट कभरेज रेसियो सुधार भएको छ । त्यस्तै, कम्पनीको सञ्चालन नाफामा पनि सुधार आएको छ । गत आवमा कुल आम्दानीको ३.९ प्रतिशत रहेको नाफा मार्जिन चालु आवको ९ महिनाको अवधिमा सञ्चालन नाफा ४.८ प्रतिशत पुगेको छ ।

कम्पनीको तरलता अवस्था पनि सन्तोषजनक रहेको छ । चालू आवको ९ महिनासम्ममा कम्पनीको ड्रइङ पावरमा १६ प्रतिशतको हेडरुम उपलब्ध छ । त्यस्तै, कम्पनीको डेब्टर रकम बढेका कारण चालू पुँजी तीब्रता २८ प्रतिशत पुगेको छ ।

सन् २०१२ मा स्थापना भएको कम्पनी उपत्यकाका लागि साओमी ब्रान्डको सामग्री बेच्ने आधिकारिक विक्रेता हो । कम्पनीले यससँगै इज्बीज ब्रान्डको सामग्री पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देभभर १४ वटा डिलर र ५ सय वटा खुद्रा स्टोर छन् । शारदा ग्रुपको यो कम्पनीमा ६ जनाको व्यक्तिको स्वामित्व छन् । जसमा पाँच जना शारदा परिवारका सदस्य छन् ।

विनितकुमार शारदा अध्यक्ष रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।