सरकारको नीति स्पष्ट नहुँदा लगानीकर्ताले ५ खर्ब गुमाए, नेप्से ३२९ अंकले घट्योः क्षितिज थेबे

350
Shares

काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले रास्वपा सरकार बनेपछि लगानीकर्ताले ५ खर्ब गुमाउँदा र नेप्से ३२९ अंकले घट्दासमेत सरकार मौन बसेको भन्दै प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद थेबेले लाखौं लगानीकर्ता रहेको सेयर बजारलाई सरकारले स्पष्ट नीति दिन नसकेको बताए ।

‘सेयर बजारमा लाखौं नेपालीको लगानी छ । ७६ लाख नेपालीले डिम्याट खाता खोलेका छन् । २०८२ चैत १२ गते २९५० बिन्दुमा रहेको नेप्से परिसूचक हाल शुक्रबारसम्ममा आईपुग्दा ३२९ अंकले घटेर २६२१ बिन्दुमा खुम्चिएको छ,’ थेबेले भने, ‘चैत १२ गते बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा हाल ५ खर्ब ४ अर्ब ९५ करोडले घटेर ४५ खर्ब ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ । अर्थात् यो सरकार बनेदेखि सेयर लगानीकर्ताले ५ खर्ब ४ अर्ब रुपैयाँ गुमाएका छन् ।’

उनले यसको असर लगानीकर्तामा मात्रै नभएर त्यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा समेत परेको बताए । उनले लगानीकर्तालाई अन्यौलतमा राखिएको भन्दै सरकारको स्पष्ट नीति आवश्यक पर्ने बताए ।

यसका अलावा सांसद थेबेले भूमि आयोग, मल व्यवस्थापन तथा विपत तयारी जस्ता धेरै समस्या वर्षौंदेखि रहेको र त्यसमा आफ्नो पार्टी नेतृत्वका अगाडिका सरकारले पनि पर्याप्त काम गर्न नसकेको स्वीकार गर्दै अहिलेको निर्णयको जिम्मेवारी भने हालको सरकार नै हुने बताए । उनले सकुम्बासीमाथि डोजर चलाएर त्यसलाई उचित सम्बोधन नगरेको भन्दै त्यसको पनि आलोचना गरे ।