दृष्टिविहीन विद्यार्थीलाई सिटिजन्स बैंकको ब्रेल सामग्री सहयोग

0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाका दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्ला, बाँसगढी नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो। उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत प्रदान गरिएको बैंकले जनाएको छ ।

वि.सं. २०४५ मा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब एक हजार २०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये २० जना दृष्टिविहीन विद्यार्थी ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् ।

विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभाव हुँदा विद्यार्थीहरूको पठनपाठनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकले दृष्टिविहीन विद्यार्थीहरूलाई गुणस्तरीय ब्रेल पेपर, ए-ग्रेड ब्रेल स्टाइलस, ए-ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला तथा स्क्रिन रिडर सफ्टवेयरसहितको कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

बैंकका अनुसार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा पनि नयाँ अभ्यास अघि बढाएको छ। फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड, नवयुवा लक्षित बचत खाता, एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सर लक्षित बचत खाता, मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन सेवा, साथै क्रस बैंक टेलर सुविधाजस्ता सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।