
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको आचरण र व्यवहारलाई थप मर्यादित र अनुशासित बनाउन नयाँ आचारसंहिता लागू गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता २०८३’ जारी गर्दै कर्मचारीहरुको लागि कडा प्रावधानसहितको प्रतिबन्धात्मक व्यवस्थासमेत राखेको हो ।
मन्त्रालयले जारी गरेको आचारसंहितामा विशेषगरी सामाजिक सञ्जालको प्रयोग र कार्यालय पोशाकको मर्यादाका विषयमा गम्भीर निर्देशन दिइएको छ ।
नयाँ व्यवस्था अनुसार अब कर्मचारीहरूले फेसबुक, ट्वीटर, टिकटक, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा सरकार वा मन्त्रालयको आलोचना हुने गरी कुनै पनि टिप्पणी गर्न पाउने छैनन् । आचारसंहिताको बुँदा नम्बर ८ (छ) मा भएको व्यवस्था अनुसार सरकारको नीति, निर्णय तथा कार्यक्रमप्रति आलोचना गर्ने, अपमानजनक वा अविश्वास उत्पन्न हुने गरी सार्वजनिक अभिव्यक्ति दिन पाइने छैन ।
कर्मचारीहरुले कार्यालयको काममा रहेको समयमा फेसबुक वा अन्य सामाजिक सञ्जाल चलाउन रोक लगाइएको छ । सामाजिक सञ्जालमार्फत सरकारी गोप्य कागजात वा सूचना सार्वजनिक गरेमा त्यसलाई गम्भीर अनुशासन उल्लंघन मानिने उल्लेख छ ।
पछिल्लो समय सरकारी पोशाकमै टिकटक बनाउने र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने क्रम बढेपछि मन्त्रालयले यसमा पूर्ण प्रतिबन्ध लगाएको छ । आचारसंहिताले कार्यालय पोशाकमा कार्यालयसँग सम्बन्धित प्रवर्द्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो वा भिडियो निर्माण गर्न वा सामाजिक सञ्जालमा राख्न नपाउने व्यवस्था गरेको छ ।
कार्यालय पोशाकको दुरुपयोग गरी सार्वजनिक मर्यादामै आँच आउने काम गरेमा सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ ।
आचारसंहिताले कर्मचारीहरूलाई सेवाग्राहीसँग शिष्ट र समान व्यवहार गर्न निर्देशन दिएको छ । कुनै पनि प्रकारको उपहार, आतिथ्यता वा व्यक्तिगत फाइदा लिने कार्यमा संलग्न हुन रोक लगाइएको छ । कार्यालय समयभन्दा बाहिर सेवाग्राहीसँग व्यक्तिगत भेटघाट गर्न नहुने र कार्यसम्पादनका क्रममा कसैप्रति पूर्वाग्रह राख्न नपाइने व्यवस्था गरिएको छ ।
यो आचारसंहिता पालना भए/नभएको बारे मन्त्रालयको सचिव वा तोकिएको अधिकारीले नियमित अनुगमन गर्नेछन् । यदि कुनै कर्मचारीले यसको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम अनुशासनको कारबाही चलाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार कर्मचारीको आचरणलाई निष्पक्ष, सदाचारयुक्त र उत्तरदायी बनाउन यो आचारसंहिता कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।






प्रतिक्रिया