राति अबेरसम्म मन्त्रालयमै भेटिन्छिन् कृषि मन्त्री चौधरी, मलको कालोबजारीविरुद्ध स्टिङ अपरेसनको तयारी


काठमाडौं । बाली लगाउने मुख्य सिजनमा किसानले समयमै रासायनिक मल पाऊन् भन्ने उद्देश्यका साथ कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी पछिल्लो समय राति अबेरसम्म मन्त्रालयमै भेटिन थालेकी छन्।

मल आपूर्तिको अवस्था, वितरण प्रणालीको निगरानी र किसानका गुनासाको तत्काल सम्बोधनका लागि उनी कार्यालय समयपछि पनि मन्त्रालयमै बसेर काम गरिरहेकी छन् ।

मलको कालोबजारी, कृत्रिम अभाव वा बिचौलियाको चलखेल भएको सूचना प्राप्त हुनासाथ छड्के अनुगमन र स्टिङ अपरेसन सञ्चालन गर्ने तयारी मन्त्रालयले गरेको छ। त्यसका लागि मन्त्री चौधरी राति अबेरसम्म मन्त्रालयमै बसेर देशभरबाट आउने सूचनाको निगरानी, आवश्यक समन्वय र तत्काल निर्णय प्रक्रियामा सक्रिय रहने गरेकी छन् ।

किसानका सिधा फोनसमेत आफैं उठाएर उनीहरूको समस्या सुन्ने, सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने र सकेसम्म छिटो समाधान निकाल्ने काम मन्त्री चौधरीले निरन्तर गरिरहेकी छन् ।

किसानले बाली लगाउने यही संवेदनशील समयमा कुनै पनि किसान मलको अभावमा नपरोस् भन्ने उद्देश्यका साथ मन्त्रालयको संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ।
मन्त्री चौधरीले किसानका समस्या कागजमा मात्रै सीमित नरही व्यवहारमै समाधान हुनुपर्नेमा जोड दिँदै नियमित प्रगति समीक्षा, फिल्डबाट प्राप्त सूचनाको अनुगमन र आवश्यक समन्वयलाई निरन्तरता दिएकी छन्।

बिचौलिया र कालोबजारी गर्ने जो–कोहीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने अडानका साथ मन्त्रालयले अनुगमनलाई थप प्रभावकारी बनाएको छ।

सरकारले कृषि उत्पादन वृद्धि र किसानलाई समयमै मल उपलब्ध गराउने लक्ष्य लिएको अवस्थामा मन्त्री चौधरीको यो कार्यशैलीलाई किसानमुखी र परिणाममुखी प्रयासका रूपमा हेरिएको छ।