आजको छलफलले लगानी निजी क्षेत्रले गर्ने र वातावरण सरकारले बनाउने नयाँ अध्याय सुरु गरेको छ

133
Shares

सम्माननीय प्रधानमन्त्रीज्यू वालेन्द्र शाह ‘बालेन’ले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रलाई सरकारको मुख्य विकास साझेदारका रूपमा लिँदै अर्थतन्त्र सुधारका लागि विशेष पहल सुरु गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजी क्षेत्रका तीनवटा ठूला छाता संगठनका प्रतिनिधिहरूसँग भएको गहन छलफलमा प्रधानमन्त्रीज्यूले सुशासन र समृद्धिलाई सरकारको मुख्य एजेन्डाका रूपमा प्रस्तुत गएको छ ।

प्रधानमन्त्री शाहले आफ्नो सरकारको पहिलो प्राथमिकता ‘सुशासन’ रहेको र यसमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पार्नुभएको छ । सुशासनकै जगमा टेकेर आर्थिक समृद्धि हासिल गर्ने र त्यसका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको सन्देश उहाँले दिनुभयो । प्रधानमन्त्रीज्यूले निजी क्षेत्रलाई ‘देश बनाउने मुख्य शक्ति’ को रूपमा चित्रण गर्दै सरकारले पूर्वाधार निर्माण र सहजीकरणमा मात्र ध्यान दिने उल्लेख गर्नुभयो ।

जेनजी विद्रोहयता व्यवसायीको मनोबल कमजोर रहेको परिस्थितिमा प्रधानमन्त्रीज्यूले आज निजी क्षेत्रका धारणा, सुझाव र चिन्ताहरू गम्भीरतापूर्वक सुन्नुभयो ।

सो क्रममा आर्थिक वृद्धि, लगानी, उत्पादन विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिकाप्रति उहाँको स्पष्ट प्रतिबद्धता र सकारात्मक दृष्टिकोणले सहभागीहरूलाई उत्साहित बनाएको छ ।

बैठकमा मुलुकको अर्थतन्त्रलाई १०० बिलियन डलर (१०० अर्ब डलर) को आकारमा पुर्‍याउने, वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र नेपालीको प्रतिव्यक्ति आय ३००० अमेरिकी डलर पुर्‍याउने लक्ष्यका बारेमा विस्तृत छलफल भयो । यसै सन्दर्भमा नेपाल उद्योग परिसंघले तयार पारेको ‘१०० बिलियन डलरको इकोनोमी’ सम्बन्धी प्रतिवेदनलाई प्रधानमन्त्रीले विशेष रुचिपूर्वक लिनुभयो र र उक्त प्रतिवेदन अध्ययनका लागि माग गर्नुभएको छ ।

निजी क्षेत्रले भोगिरहेका समस्याहरूको तत्काल समाधानका लागि प्रधानमन्त्री कार्यालय र निजी क्षेत्रबीच एउटा स्थायी ‘संवाद संयन्त्र’ वा टिम गठन गर्ने सहमति पनि भएको छ । यो टिममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरू रहनु हनेछ । उक्त संयन्त्रले हरेक महिना वा निश्चित समयमा बैठक बसी समस्याहरूको पहिचान गर्ने र ती समस्यालाई प्रधानमन्त्रीकहाँ पुर्‍याई तत्काल समाधानको खोजी गर्नेछ ।

प्रधानमन्त्री शाहले आन्तरिक उत्पादन र आत्मनिर्भरतामा विशेष जोड दिनुभयो । विशेष आर्थिक क्षेत्र र औद्योगिक पार्कहरूलाई कसरी थप प्रभावकारी र सरल बनाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीज्यूले व्यवसायीहरूसँग प्रश्नहरू गर्नुभएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, र निर्यातयोग्य वस्तुहरूको पहिचान गरी युवा जनशक्तिलाई स्वदेशमै रोक्ने सरकारको योजना पनि सुनाउनुभयो ।

ठूला पूर्वाधार निर्माणमा ‘प्राइभेट पब्लिक पार्टनरसिप’ मोडललाई अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री ज्यू र निजी क्षेत्रबीच छलफल भएको छ । सरकारले वातावरण बनाइदिने र निजी क्षेत्रले लगानी तथा सञ्चालन गर्ने गरी सहकार्यको नयाँ अध्याय सुरु गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ ।

प्रधानमन्त्रीले निजी क्षेत्रका अन्य सरोकारवालाहरूसँग पनि क्रमशः भेटघाट गर्ने योजना बनाउनुभएको छ । यसअन्तर्गत बैंकर, साना तथा मझौला उद्योगी, निर्माण व्यवसायी, स्वास्थ्य, शिक्षा, महिला उद्यमी र आईटी क्षेत्रका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरी क्षेत्रगत समस्या सुन्ने र समाधानको उपाय खोज्ने सोचमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ ।

छलफलमा सहभागी व्यवसायीहरूले त्यसपछि प्रधानमन्त्रीको आर्थिक विषयप्रतिको ज्ञान र अध्ययनको प्रशंसा गर्नुभएको पाएँ । प्रधानमन्त्रीले व्यवसायीहरूका समस्या धैर्यपूर्वक सुन्नुका साथै धेरै विषयमा प्रतिप्रश्न पनि गरी वस्तुगत अवस्थाबारे जानकारी लिनुभएको छ । यस भेटघाटले पछिल्लो समय कम भएको निजी क्षेत्रको मनोबललाई उच्च बनाएको र लगानीका लागि सकारात्मक वातावरण सिर्जना गरेको छ ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागी हुनुहुन्थ्यो । म आफैं व्यवसायी र सांसद भएको नाताले सहभागी हुने अवसर पाएँ ।

केही समयदेखि निजी क्षेत्रको मनोबल कमजोर भएको अवस्थामा आजको संवादले नयाँ आशा, विश्वास र उत्साह थपेको छ । प्रधानमन्त्रीज्यूको आर्थिक विकाससम्बन्धी दृष्टिकोण र सहकार्यको भावनाप्रति निजी क्षेत्र सकारात्मक तथा आशावादी छ ।

उहाँको आर्थिक वृद्धि, उत्पादन, लगानी र रोजगारीप्रतिको स्पष्ट दृष्टिकोणले निजी क्षेत्रलाई नयाँ आशा र उत्साह दिएको छ ।

( प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका प्रनितिधिसँग छलफल गरेपछि उक्त छलफलमा सहभागी उद्योगीसमेत रहेकी सांसद विदुषी राणासँगको कुराकानीमा आधारित)