रोनाल्डोले फुटबल खेल्न थाल्दा जन्मिएकै थिएनन् यामाल, चर्चामा मेस्सीले नुहाइदिएको फोटो


एजेन्सी । विश्वकपको राउन्ड अफ १६ मा आज स्पेन र पोर्चुगलबीच खेल हुँदैछ । नेपाली समय अनुसार मध्यराति १२ बजेर ४५ मिनेटमा सुरू हुने यो खेलको सबैभन्दा ठूलो आकर्षण क्रिस्टियानो रोनाल्डो र लामिन यामालबीचको टक्कर हो ।

४१ वर्षको उमेरमा रोनाल्डोले अहिले आफ्नो छैटौं विश्वकप खेलिरहेका छन् । जर्मनीमा सन् २००६ मा विश्वकपमा रोनाल्डोले डेब्यु गर्दा यमाल जन्मिएका थिएनन् । यामालको जन्म १३ जुलाई २००७ मा भएको हो । रोनाल्डोले व्यवसायीक फुटबल खेल्न सुरु गर्दा यामाल जन्मिएकै थिएनन्, तर आज ति दुवै एउटै मैदानमा उत्रँदैछन् ।

यामाल हाल स्पेनका सबैभन्दा भरपर्दा र आशा गरिएका खेलाडी बनिसकेका छन् । ग्रुप स्टेजमा स्पेनको प्रदर्शन त्यति चम्किलो थिएन, तर नकआउट राउन्डमा यामाल पूर्ण फिट हुँदै गएपछि टिमको खेल निखरिँदै गएको छ । अस्ट्रियाविरुद्धको खेलमा यामाल सुरुवाती एघारमा उत्रेपछि स्पेनले ठूलो फरक देखाएको थियो ।

अर्कोतिर, ४१ वर्षका रोनाल्डो अझै पनि पोर्चुगलका आक्रमणको मुख्य आधार हुन् । क्रोएसियाविरुद्धको अघिल्लो खेलमा रोनाल्डोले पेनाल्टीबाट गोल गरेर टिमलाई बराबरीमा फर्काएका थिए, जब गोन्सालो रामोसले अन्तिम क्षणमा विजयी गोल गरे । नकआउट चरणमा रोनाल्डोको यो पहिलो गोलसमेत थियो ।

यी दुई पुस्ताका खेलाडीहरूको यो भेटलाई चासोका साथ लिइँदा यतिबेला सामाजिक सञ्जालमा अर्का प्रभावशाली फुटबलर लियोनल मेस्सीले यामाललाई बाल्यकालमा नुहाउँदै गरेको फोटोको चर्चा चलिरहेको छ ।

यो त्यही फोटो हो जसमा मेस्सीले ६ महिना बालक यामाललाई नुहाइदिइरहेका देखिन्छन् ।

जब मेस्सीले हातमा लिए भविष्यको तारा

सन् २००७ मा एफसी बार्सिलोनाको फाउन्डेशन र युनिसेफले सँगै मिलेर एउटा चारिटी क्यालेन्डर बनाएका थिए जसमा बार्सिलोनाका खेलाडीहरूले स्थानीय बच्चाहरूसँग फोटो खिचाएका थिए ।

त्यतिबेला २० वर्षका मेस्सी आफैं बार्सिलोनामा नयाँ उदाउँदै गरेका तारा थिए र यामाल जन्मेको जम्मा ६ महिना मात्र भएको थियो ।

फोटोग्राफर जुआन मन्फोर्तका अनुसार मेस्सी त्यतिबेला धेरै लजालु स्वभावका थिए र सानो बच्चालाई कसरी समाल्ने भन्ने नै थाहा थिएन । यामालकी आमाले नै मेस्सीलाई सघाएकी थिइन् ।

यो फोटोबारे लामो समयसम्म कसैलाई थाहै थिएन । तर सन् २०२४ को युरो कपमा यामालले फ्रान्सविरुद्ध ऐतिहासिक गोल गरेपछि उनका बुबाले ‘द बिगिनिङ अफ टु लेजेन्ड’ भन्दै यो फोटो इन्स्टाग्रामामा पोस्ट गरे । त्यसपछि यो फोटो भाइरल बनेको थियो ।

अब फेरि किन चर्चामा?

अहिले विश्वकपमा मेस्सी अर्जेन्टिनाका लागि र यामाल स्पेनका लागि खेलिरहेका बेला फुटबल जगत्मा फेरि मेस्सी-रोनाल्डो-यामालको तुलना चलिरहेको छ । यही सन्दर्भमा फ्यानहरूले त्यो पुरानो फोटो फेरि सामाजिक सञ्जालमा सेयर गर्न थालेका छन् । जसले कसरी एक समयका ‘भविष्यको तारा’ आज साँच्चै एउटा लिजेन्डको सामना गर्दैछन् भन्ने देखाउँछ ।

आज बेलुका अर्लिङ्टनमा हुने यो खेलले केबल क्वार्टरफाइनलको बाटो तय गर्ने छैन यो दुई युगको प्रतीकात्मक भेट पनि हो ।