
एजेन्सी । पाँच पटकको विश्व विजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २-१ को अप्रत्याशित हार बेहोर्दै बाहिरिएपछि ब्राजिलका फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
नेपाली समय अनुसार सोमबार विहान मेटलाइफ स्टेडियममा भएको यस खेलसँगै ब्राजिलियन फुटबलको एक चर्चित युगको अन्त्य भएको हो ।
३४ वर्षीय नेयमारका लागि यो स्टेडियम निकै भावुक रह्यो । उनले १० अगस्ट २०१० मा यही मेटलाइफ स्टेडियममा अमेरिका विरुद्धको मैत्रीपूर्ण खेलबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । सन्यासको घोषणा गर्दै नेयमारले भने, ‘मैले धेरै प्रयास गरेँ, तर अब यो सकियो। मैले यहाँबाट (मेटलाइफ स्टेडियम) सुरु गरेको थिएँ र यहीँ अन्त्य गरेँ ।’ खेल सकिएपछि उनी निकै भावुक देखिएका थिए र उनका आँखामा आँसु प्रस्ट देखिन्थ्यो।
खेलमा नर्वेका स्ट्राइकर अर्लिङ हालान्ड नायक बने । उनले खेलको ७९औं र त्यसको केही मिनेटमै गरी दुई गोल गरेपछि नर्वेले २-० को अग्रता लिएको थियो । हालान्ड यस विश्वकपमा ७ गोल गर्दै गोल्डेन बुटको दौडमा लियोनल मेस्सी र किलियन एमबाप्पेसँगै शीर्ष स्थानमा पुगेका छन् ।
ब्राजिलका लागि इन्जुरी समयको १०औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन । नर्वेले पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेर इतिहास रच्यो ।
कीर्तिमानी करियरको अन्त्य
नेयमारले ब्राजिलका लागि १३० खेल खेल्दै ८० गोल र ५८ असिस्टका साथ आफ्नो करियर टुङ्ग्याएका छन् । उनी ब्राजिलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
क्लब फुटबलमा धेरै सफलता पाएका नेयमारले राष्ट्रिय टोलीबाट सन् २०१३ मा फिफा कन्फेडेरेसन कप र २०१६ को रियो ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । यद्यपि, उनको विश्वकप जित्ने सपना भने अधुरै रह्यो । यस प्रतियोगितामा पनि दायाँ पिँडुलाको चोटका कारण उनले केवल दुई खेलमा मात्र सहभागिता जनाउन सकेका थिए ।
ब्राजिल फुटबलको कठिन मोड
यो हार सन् १९९० पछिको विश्वकपमा ब्राजिलको सबैभन्दा खराब प्रदर्शन हो । युरोपेली देशसँग नकआउट चरणमा ब्राजिलको यो लगातार सातौं हार हो । यदि ब्राजिलले सन् २०३० को विश्वकप जित्न सकेन भने, उसले उपाधि नजितेको २८ वर्ष पुग्नेछ जुन इतिहासकै सबैभन्दा लामो अन्तराल हुनेछ।
नयाँ पुस्ताको खोजी
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यो हार पीडादायी भए पनि यसले नयाँ चक्र सुरु गर्न मद्दत गर्ने बताए । उनले अब टोलीको मिडफिल्ड पुनर्संरचना गर्ने र युवा प्रतिभाहरूलाई स्थान दिने संकेत गरेका छन् । नेयमारसँगै क्यासेमिरो र फाबिन्हो जस्ता अनुभवी खेलाडीहरूले पनि विश्राम लिने अपेक्षा गरिएको छ ।
टोलीका कप्तान मार्किन्होसले फ्यानहरूलाई नयाँ पुस्ताप्रति धैर्य राख्न आग्रह गर्दै भने, ‘हामी मानिसहरूलाई यो नयाँ पुस्तालाई बुझ्न र सुरुदेखि नै उनीहरूलाई समर्थन गर्न अनुरोध गर्दछौं।’
नेयमारको सन्याससँगै ब्राजिलियन फुटबल अब एक संक्रमणकालीन चरणमा प्रवेश गरेको छ, जहाँ उनीहरू आफ्नो पुरानो साख फर्काउने चुनौतीमा हुनेछन् ।






प्रतिक्रिया