पशुपति विकास कोष र पञ्चाङ्ग निर्णायक समितिसहित पाँच निकायमा पदाधिकारी मनोनयन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो मन्त्रालय मातहतका विभिन्न ५ वटा निकायमा पदाधिकारी मनोनयन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पाैडेल (गनेस)ले पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिसहित पाँचवटा विभिन्न निकायहरूमा नयाँ पदाधिकारीहरू मनोनयन गरेका छन् ।

मन्त्रालयको मिति २०७८ असार १७ र १८ गतेको माननीय मन्त्रीस्तरीय निर्णयानुसार ती निकायहरूमा रिक्त रहेका सदस्य सचिव, अध्यक्ष तथा सदस्य पदहरूमा नियुक्ति गरिएको हो ।

कुन निकायमा को नियुक्त भए?
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थप्रसाद भट्टराई र कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठ मनोनयन भएकी छन । काेषको सदस्यहरूमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभित नायक नियुक्त भएकी छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा. श्रीकृष्ण भट्टराई नियुक्त भएका छन् । समितिको सदस्यहरूमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्य प्रसाद ढुंगेल र नेत्रप्रसाद अधिकारी रहेका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष पदमा सम्पूर्ण कुमार लामा मनोनयन भएका छन भने यसका सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशन कुमार श्रेष्ठ र मणी भद्र पोखरेल नियुक्त भएका छन् ।

पाटन दरबार सङ्ग्रहालय विकास समितिको सदस्यहरूमा शोभानी नानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन मनोनयन भएका छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका सदस्यहरूमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्र बहादुर मल्ल नियुक्त भएका छन् ।

मन्त्रालयले नवनियुक्त पदाधिकारीहरूलाई आफ्नो वैयक्तिक तथा योग्यतासम्बन्धी सम्पूर्ण सक्कल कागजातहरू लिई आगामी २०७८ असार २२ गते बिहान ११:०० बजे मन्त्रालयमा उपस्थित हुन सूचित गरेको छ । सोही दिन उनीहरूलाई मनोनयन पत्र प्रदान गरिने पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।