केप भर्डे: नेपाल जस्तै पर्यटन र रेमिट्यान्सले धानेको सानो देश, करोडपति बन्दै खेलाडी


एजेन्सी । विश्वविजेता अर्जेन्टिनासँग शानदार प्रदर्शन गरेर पराजित भए पनि केप भर्डे यतिबेला चर्चाको शिखरमा छ ।

जनसंख्याको हिसाबले विश्वकपको इतिहासकै साना राष्ट्रहरूमध्ये एक यो अफ्रिकी टापु मुलुकले आफ्नो पहिलो नै विश्वकपमा विश्व च्याम्पियनसँग अन्तिम समयसम्म जुध्दै फुटबल दुनियाँलाई चकित तुल्याएको छ। तर यो कथा फुटबल मैदानमा मात्र सीमित छैन यसले एक साना टापु राष्ट्रको आर्थिक यथार्थ, इतिहास र भविष्यको सम्भावनालाई पनि विश्व सामु ल्याइदिएको छ ।

सानो टापु, ठूलो इतिहास

अफ्रिकाको पश्चिमी तटबाट करिब ५०० किलोमिटर टाढा अवस्थित केप भर्डे दस ज्वालामुखी टापुहरूको समूह हो जहाँ अनुमानित ५ लाख २० हजार जनसंख्या नौ टापुमा बसोबास गर्छ ।

सन् १९७५ मा पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको यो देशले विगत तीन दशकमा उल्लेखनीय राजनीतिक स्थिरता कायम राखेको छ । यो मुलुक अफ्रिकी महादेशमा लोकतान्त्रिक स्थिरताको उदाहरणका रूपमा चिनिन्छ।

खेतीयोग्य जमिन कुल भूभागको जम्मा १० प्रतिशत मात्र भएको र खनिज स्रोत नगण्य रहेको यो देशले सन् १९९० को दशकयता भने आर्थिक रूपान्तरणको यात्रा तय गरेको छ ।

यसैको फलस्वरूप, यो बोत्स्वानापछि अफ्रिकाको दोस्रो मुलुकको रूपमा ‘अल्प विकसित मुलुक’ श्रेणीबाट ‘औसत विकासशील मुलुक’ को स्तरमा स्तरोन्नति भएको हो ।

अर्थतन्त्रको आकार र गति

केप भर्डेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हाल करिब ३ अर्ब अमेरिकी डलर (४५६ अर्ब नेपाली रुपैयाँ) को हाराहारीमा छ । यो विश्व अर्थतन्त्रको तुलनामा निकै सानो भए पनि सानो टापु राष्ट्रका लागि निरन्तर वृद्धिको बाटोमा छ । विश्व बैंकका अनुसार, केप भार्डेको अर्थतन्त्र सन् २०२४ मा ७.३ प्रतिशतको उल्लेखनीय दरले विस्तार भएको थियो जो पर्यटनको उछाल र वर्षौंपछिको पहिलो सकारात्मक कृषि सिजनबाट प्रेरित थियो।

सन् २०२५ मा यो वृद्धि दर ५.२ प्रतिशतमा मा सुस्ताएको छ । बिजुली अवरोध र न्यून विदेशी विकास सहायताका कारण यस्तो अवस्था बनेको जनाइएको छ । जबकि सन् २०२६ मा ४.७% वृद्धिको प्रक्षेपण गरिएको छ, जसलाई पर्यटन माग र पूर्वाधार लगानीले साथ दिने विश्वास लिइएको छ।

पर्यटन: अर्थतन्त्रको मुख्य इन्जिन

केप भर्डेको राष्ट्रिय तथ्यांक संस्थानले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार, सन् २०२४ मा देशले करिब ९ लाख ८१ हजार ३५४ जना विदेशी पर्यटक आगमन दर्ता गरेको छ जो इतिहासमै सबैभन्दा ठूलो अंक हो र अघिल्लो वर्षभन्दा ११.८ प्रतिशतले बढी हो ।

यसमा बेलायत सबैभन्दा धेरै (३६.३%) रहेको छ, त्यसपछि जर्मनी (११.५%) र बेल्जियम-नेदरल्याण्ड(१०.१%)। पर्यटकहरूको ५९% भ्रमण साल टापुमा, ३६.६% बोआ भिस्टामा केन्द्रित छ र भ्रमणकर्ताको औसत दैनिक खर्च करिब ८२ युरो रहेको तथ्यांक छ ।

पर्यटन क्षेत्रले हाल कुल जीडीपीको करिब २५ प्रतिशत प्रत्यक्ष योगदान गर्छ र सन् २०२४ मा त कुल आर्थिक विस्तारको ७० प्रतिशत भन्दा बढी हिस्सा यही सेवा क्षेत्र (मुख्यतः पर्यटन) बाट आएको थियो । यसैले पर्यटनलाई केप भर्डेको अर्थतन्त्रको साँच्चैको इन्जिन मान्न सकिन्छ ।

केप भर्डेको अर्थतन्त्रको अर्को महत्त्वपूर्ण स्तम्भ भनेको विदेशमा बसोबास गर्ने ठूलो डायस्पोरा हो । विश्व बैंकको आधिकारिक तथ्यांकअनुसार विदेशबाट भित्रिने रेमिटेन्स सन् २०२४ मा कुल जीडीपीको १२.३ प्रतिशत बराबर रहेको छ जो औसत (५.१%) भन्दा झन्डै दोब्बर बढी हो ।

पोर्चुगल, अमेरिका, फ्रान्स र नेदरल्याण्डमा फैलिएको यो डायस्पोराबाट आउने नियमित रकमले देशको चर्को व्यापार घाटा धान्न र विदेशी मुद्रा सञ्चिति बढाउन ठूलो भूमिका खेलेको छ । नोभेम्बर २०२५ मा विदेशी मुद्रा सञ्चिति ९७८ मिलियन पुगेको छ, जो एक वर्षअघि ७२९ मिलियन मात्र थियो ।

उद्योगको आधार: पर्यटनदेखि नवीकरणीय ऊर्जासम्म

पर्यटन र रेमिटेन्सपछि, कृषिले जीडीपीको ८-१० प्रतिशत ओगट्छ, यद्यपि खडेरीले यसलाई निरन्तर सीमित बनाइरहेको छ । मकै, सिमी, उखु र उष्णकटिबन्धीय फलफूल यहाँका प्रमुख उत्पादन हुन् ।

माछापालन क्षेत्रले जीडीपीको ५-८ प्रतिशत योगदान गर्छ जहाँ लबस्टर र टुनाको निर्यात युरोप र छिमेकी पश्चिम अफ्रिकी मुलुकहरूमा हुने गर्छ । निर्माण क्षेत्रले पर्यटन पूर्वाधार विस्तारसँगै आर्थिक वृद्धिको एक प्रमुख चालकको भूमिका खेलेको छ ।

भविष्यको दिशामा हेर्दा सरकारले डिजेल आयातमाथिको निर्भरता घटाउन सौर्य र वायु ऊर्जामा ठूलो लगानी गरिरहेको छ साथै आईटी सेवा र ई-कमर्स जस्ता डिजिटल अर्थतन्त्रका क्षेत्रमा पनि सरकारी प्रोत्साहन बढ्दै गएको छ ।

आईएमएफको तथ्यांक अनुसार केप भर्डेको प्रतिव्यक्ति आय सन् २०२५ मा ५,९९५ डलर रहेको छ । अफ्रिकाका अन्य धेरै मुलुकको तुलनामा यो आय अपेक्षाकृत उच्च मानिए पनि, टापु-टापुबीच सम्पत्ति वितरणमा भने उल्लेख्य असमानता कायमै छ ।

मैदानमा इतिहास

यही आर्थिक पृष्ठभूमिबाट उदाएको केप भर्डेले फुटबलको सबैभन्दा ठूलो मैदानमा आफ्नो नाम अमर बनाएको छ । यो देशले २०२६ फिफा विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो र योग्यता प्राप्त गर्दा भूभागको हिसाबले सबैभन्दा सानो र जनसंख्याको हिसाबले उस बेला दोस्रो सबैभन्दा सानो राष्ट्र बनेको थियो ।

ग्रुप एचमा स्पेन, उरुग्वे र साउदी अरेबिया जस्ता स्थापित शक्तिहरूसँग खेल्दै केप भर्डेले पहिलो खेलमै स्पेनसँग ०-० को ऐतिहासिक ड्र खेल्यो । त्यसपछि उरुग्वेसँग २-२ र साउदी अरेबियासँग ०-० ड्र खेलेर ग्रुपमा दोस्रो स्थान ओगटी अपराजित रहँदै नकआउट चरणमा प्रवेश गर्‍यो जसले उनीहरूलाई विश्वकपको नकआउट चरणमा पुग्ने सबैभन्दा सानो राष्ट्र बनायो ।

नकआउटको राउन्ड अफ ३२ मा उनीहरूको सामना विश्व च्याम्पियन र लियोनेल मेसीको अर्जेन्टिनासँग भयो। एक्स्ट्रा टाइमसम्म तानिएको यो खेलमा अर्जेन्टिनाले ३-२ ले जितेर टुर्नामेन्ट इतिहासकै सबैभन्दा ठूलो सम्भावित उलटफेरबाट जोगियो । डिनी बोर्गेसको आत्मघाती गोलले निर्णायक भूमिका खेल्यो, तर त्यसअघि केप भर्डेले दुई पटक स्कोर बराबर बनाएर विश्व च्याम्पियनलाई साँच्चै हल्लाइदिएका थिए ।

कति पुरस्कार पाउँछ ?

२०२६ को विश्वकपमा फिफाले कुल ८७१ मिलियन डलर (१ खर्ब ३२ अर्ब ३९ करोड २० लाख रुपैयाँ) वितरण गर्दैछ, जो विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो पुरस्कार हो ।

फिफाका अनुसार डिसेम्बर २०२५ मा फिफा काउन्सिलले सुरुमा ७२७ मिलियन डलर स्वीकृत गरेको थियो, जसमा प्रत्येक टिमलाई १.५ मिलियन डलरको तयारी अनुदान तोकिएको थियो । तर मे २०२६ मा आइपुग्दा प्रसारण सम्झौता, प्रायोजन र टिकट बिक्रीबाट अपेक्षाभन्दा बढी आम्दानी भएपछि फिफाले यो रकम बढाएर ८७१ मिलियन डलर पुर्‍यायो र तयारी अनुदान पनि टिमपिच्छे २.५ मिलियन डलरसम्म बढायो ।

नयाँ संरचनाअनुसार, प्रत्येक ४८ योग्य टिमले न्यूनतम १० मिलियन डलर र २.५ मिलियन (तयारी अनुदान) गरी जम्मा कम्तिमा १२.५ मिलियन ग्यारन्टी पाउँछन् । यसपछि टिमहरू जति अघिसम्म पुग्छन्, त्यति नै रकम बढ्दै जान्छ ।

ग्रुप स्टेजबाट बाहिरिने टिमले ९ मिलियन डलर पाउँदा ४८ टिमको विस्तारसँगै नयाँ थपिएको राउन्ड अफ ३२ चरणबाट बाहिरिने टिमले अनुमानित १०.५ मिलियन प्रदर्शन पुरस्कार, राउन्ड अफ १६ बाट बाहिरिनेले १५ मिलियन, क्वार्टरफाइनलबाट बाहिरिनेले १९ मिलियन पाउँछन् भने चौथो स्थानमा रहनेले २७ मिलियन, तेस्रोले २९ मिलियन, उपविजेताले ३३ मिलियन र विजेताले ५८ मिलियन डलर (८ अर्ब ८१ करोड ६० लाख) कमाउँछ।

यद्यपि राउन्ड अफ ३२ जस्तो नयाँ थपिएको तहको ठ्याक्कै आधिकारिक अङ्क फिफाले सार्वजनिक रूपमा पुष्टि गरेको छैन यो कुल ६५५ मिलियन डलरको प्रदर्शन-पुल भित्रबाट गरिएको अनुमानित हिसाब मात्र हो ।

यही आधारमा हेर्दा, राउन्ड अफ ३२ मा बाहिरिएको केप भर्डेले प्रदर्शन पुरस्कार र तयारी अनुदान गरी कुल करिब १३ मिलियन डलर (१ अर्ब ९७ करोड ६० लाख) कमाउनेछ जो देशको कुल वार्षिक जीडीपीको उल्लेखनीय अंश हो ।

खेलाडीसम्म कति पुग्छ ?

फिफाले यो रकम खेलाडीलाई सिधै भने दिने होइन । सम्पूर्ण पुरस्कार रकम पहिले राष्ट्रिय फुटबल फेडेरेसन(उक्त देशको फुटबल संघ) को खातामा जान्छ र त्यसपछि प्रत्येक फेडेरेसनले आफ्नै आन्तरिक सम्झौताअनुसार खेलाडी र स्टाफलाई कति बोनस दिने भन्ने निर्णय गर्छ । यो नियम फिफाले तोकेको होइन, बरु प्रत्येक देशको फुटबल संघ र खेलाडीबीचको छुट्टै वार्ताको विषय हो ।

अन्तर्राष्ट्रिय प्रवृत्ति हेर्दा धेरैजसो फेडेरेसनले पुरस्कार रकमको ३० प्रतिशत देखि ५० प्रतिशतसम्म खेलाडीलाई बाँड्ने गरेको पाइन्छ ।

उदाहरणका लागि कुनै टिमले ४० प्रतिशत बाँडफाँट गर्ने हो र च्याम्पियन बन्ने हो भने, ५० मिलियन डलरको ४० प्रतिशत अर्थात् २० मिलियन डलर २६ जनाको स्क्वाडमा बाँडिँदा प्रतिखेलाडी करिब ६ लाख डलर पर्न जान्छ ।