सरकारी कम्पनीकै चामलमा किरा र मुसाको रजगज: उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड


काठमाडौं । सर्वसाधारणलाई सहुलियत दरमा गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने मुख्य जिम्मेवारी बोकेको सरकारी स्वामित्वको ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ नै उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको फेला परेको छ।

विराटनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा गरिएको अनुगमनका क्रममा मुसाले खाएको, डल्ला परेको र जीवजन्तुका अवशेष भेटिएको चामललाई नयाँ बोरामा प्याक गरेर बजार पठाउने तयारी भइरहेको अवस्थामा फेला परेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसहितको संयुक्त अनुगमन टोलीले मोरङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालयको गोदाममा आकस्मिक अनुगमन गरेको थियो । त्यस क्रममा देखिएको दृश्यले सरकारी निकायको गैरजिम्मेवारीको पराकाष्ठा नाघेको पुष्टि गरेको छ ।

विभागका अनुसार अनुगमनको क्रममा मुसाले खाएको चामल र डल्ला परेको २५ किलो दरका ३९ बोरा ुस्टिम जीरा मसिनो चामलुलाई कामदारहरूले लुकीछिपी नयाँ बोरामा प्याकिङ गरिरहेको अवस्थामा टोलीले रङ्गेहात भेटाएको थियो।

यस्तै डल्ला परेको चामलभित्र चिलेसा र स साना किराका साथै जैविक पदार्थहरू समेत फेला परेका छन्, जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ।

चामल राख्ने गोदाममा सरसफाइको अभाव मात्र होइन, मुसा र अन्य जीवजन्तुको नियन्त्रणका लागि कुनै उपाय नगरिएको पाइएको छ। गोदामको तापक्रम समेत मापदण्ड विपरीत उच्च रहेको पाइएको छ।

उपभोक्तालाई बेच्न लागिएको चामलको बोरामा अनिवार्य रूपमा हुनुपर्ने ब्याच नम्बर र मूल्य समेत उल्लेख नगरिएको पाइएको छ। सम्पूर्ण लेबल विवरण नभएको खाद्यान्न बिक्री वितरण गर्नु ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को सीधा उल्लंघन भएको विभागले जनाएको छ।

विभागले उत्पादन मिति २०८१ चैत १५ भएको उक्त ३९ बोरा चामललाई अर्को निर्देशन नभएसम्मका लागि बिक्री वितरणमा पूर्ण रोक लगाएको छ। चामलको गुणस्तर कतिसम्म घातक छ भन्ने यकिन गर्न प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको छ।

निजी क्षेत्रले गर्ने कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीमाथि निगरानी राख्नुपर्ने सरकारी संयन्त्र नै यति ठूलो बदमासीमा संलग्न हुनुले नागरिकको विश्वासमाथि आघात गरेको पाइएको छ । विराटनगरको यो घटनाले देशभरका सरकारी गोदामहरूमा राखिएका खाद्यान्नको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।