भोटेकोशी हेलि रिसोर्टले ऋण नतिरेपछि नेपाल बैंकलाई पौने ३९ करोड असुल गर्न सकस

३५ रोपनी जग्गासहित तारतारे रिसोर्ट फेरि लिलामीमा


काठमाडौं । सिन्धुपाल्चोकको मार्मिङ १ मा रहेको चारतारे रिसोर्ट भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पाले बैंकको ऋण नतिरेपछि पुनः लिलामीमा गएको छ । यो रिसोर्टका सञ्चालकहरु चिनबहादुर रानाभाट (चिनु) समिरकुमार नेपाल, छिरिङ शेर्पा र सुवास प्राधानले ऋण नतिरेपछि यो रिसोर्टलाई नेपाल बैंकले पुनः लिलाम गर्ने गरी सूचना प्रकासन गरेको छ ।

यस अघि जेठ ५ मै लिलाम गर्न खोजिएको यो रिसोर्टका लागि बोलकबोल नभएको र ऋणभन्दा न्यून रकम कबोल हुने संकेत पाएपछि नेपाल बैंकले उक्त लिलामी प्रक्रियालाई रद्द गरेर सोमबार पुनः १५ दिने सूचना निकालेको छ ।

बैंकले निकालेको सूचना अनुसार भोटेकोशी रिसोर्ट र यसले चर्चेको ३५ रोपनी ७ आना जग्गासहित लिलाम गर्ने र ऋण असुल गर्ने उल्लेख छ ।

यो रिसोर्टका चार जना सञ्चालकहरु रानाभाट, नेपाल, शेर्पा र प्रधानले ऋण नतिरेको भनेर बैंकले लिलामीको सूचना निकालेको भएपनि रिसोर्टको स्वामित्व भने परिवर्तन भइसकेको छ । एक वर्ष अगाडि नै स्वामित्व परिवर्तन भएको यो रिसोर्टमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालको परिवार र प्रधानको परिवारको बहुमत सेयर छ ।

४८ कोठामा सञ्चालनमा आएको यो चारतारे रिसोर्टमा हाल २४ वटा मात्र कोठा सञ्चालनमा रहेको छ । यो रिसोर्ट सञ्चालन गर्न नेपाल बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिइएको थियो ।

बैंकलाई बुझाउनुपर्ने ५ करोड ६६ लाख ब्याज र १ करोड १८ लाख रुपैयाँ जरिबानासहित कुल पाैने ३९ करोड रुपैयाँ पुगेको छ । यही रकम असुल गर्ने प्रक्रिया भने नेपाल बैंकले यस अघि नै सुरु गरिसकेको छ ।

यो रिसोर्टबाट पूर्व लगानीकर्ता बाहिरिएर नयाँ लगानीकर्ता भित्रिएको भएपनि बैंकिङ प्रक्रिया पूरा नगरेका कारण पूर्वलगानीकर्ता बैंकको ताकेतामा परेका छन् ।