विवादको भूमरीमा चारतारे रिसोर्ट

बैंकको ऋण नतिर्दा भोटेकोशी हेली रिसोर्ट लिलाममा: मुख्य लगानीकर्ता जेलमा, पूर्वसञ्चालक कालोसूचीमा

1.2k
Shares

काठमाडौं । विदेशी पर्यटक आकर्षित गर्ने र खर्चालु पाहुना भित्र्याएर सेवा दिने उद्देश्यले सिन्धुपाल्चोकमा खुलेको चारतारे ‘भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा’ लिलामीको संघारमा पुगेको छ ।

सञ्चालकहरूबीचको आपसी असमझदारीका कारण नेपाल बैंकले आफ्नो कर्जा असुल गर्न रिसोर्ट लिलामीको प्रक्रिया अगाडि बढाएको हो । एक दशकअघि निर्माण भई सञ्चालनमा आएको ४८ कोठाको यो रिसोर्ट करिब ९५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

हाल २४ वटा मात्र कोठा सञ्चालनमा रहेको यस परियोजनाका लागि बैंकबाट ३२ करोड रुपैयाँ ऋण लिइएको थियो । बैंकलाई बुझाउनुपर्ने ५ करोड ६६ लाख ब्याज र १ करोड १८ लाख रुपैयाँ जरिबानासहित कुल ३९ करोड ५४ लाख रुपैयाँ असुलीको प्रक्रिया सुरु भएको छ ।

५ करोड ६६ लाख रुपैयाँ किस्ताबापत बुझाएको खण्डमा लिलामी रोक्न सकिने विकल्प रहे पनि सञ्चालकहरू सावाँ-ब्याज तिर्न तयार नभएपछि जेठ ५ गतेकै लागि तय लिलामी स्थगित भएको छ । लगानीभन्दा कम मूल्यमा बोलकबोल हुने अवस्था आएपछि लिलामी गरिएको छैन भने अब थप प्रक्रियाबाट अगाडि बढ्ने जानकारी नेपाल बैंकले दिएको छ ।

बैंकले गत जेठ १ गते ३५ दिने सूचना निकालेर ऋण चुक्ता गर्न आह्वान गरेको थियो । म्यादभित्र कोही पनि सम्पर्कमा नआएपछि सूचनाको ३६ औँ दिन अर्थात् असार ५ गते लिलामी गर्ने पूर्वनिर्धारित तालिका थियो ।

भोटेकोशी हेली रिसोर्ट एण्ड स्पामा सञ्चालकहरूबीचको व्यक्तिगत टकराव (इगो) र पछिल्लो समय मुख्य लगानीकर्ताका रूपमा देखिएका सुवास प्रधानले गरेको आर्थिक अपराधका कारण अन्य ९ जना सञ्चालकको लगानीसमेत जोखिममा परेको छ।

चिनबहादुर रानाभाट, समिर नेपाल, छिरिङ शेर्पा र सुवास प्रधानको स्वामित्वमा रहेको यस रिसोर्टले ऋण नतिरेपछि बैंकले उनीहरूलाई कालोसूचीमा राखेको छ।

ऋण ३२ करोड रुपैयाँ मात्र भए पनि सञ्चालकहरूले रिसोर्टको सम्पत्ति मूल्यांकन ७० करोड रुपैयाँ पुर्‍याएका थिए । तर, पुरानो व्यवस्थापन बाहिरिएर अहिले नयाँ टिमले रिसोर्ट चलाइरहेको पूर्वसञ्चालक छिरिङ शेर्पाले बताए । उनका अनुसार सिन्धुपाल्चोककै गौरवको परियोजना बन्ला भनेर रातदिन नभनी रिसोर्ट बनाइएको थियो ।

‘निर्माण सुरु गर्दा कोभिड–१९ को महामारीले लगानी बढायो, जसका कारण ब्याज तिर्न गाह्रो भयो । ऋण जसरी पनि तिर्नुपर्ने दायित्व सम्झेर हामीले आधा मूल्यमा आफ्नो सेयर दीपेन्द्र अग्रवाल र सुवास प्रधानलाई बेचिसकेका छौँ,’ शेर्पाले भने ।

उनका अनुसार नयाँ टिम भित्रिएपछि रिसोर्टको विकास हुनुको साटो एकले अर्कालाई सिध्याउने खेल सुरु भयो । सेयर बिक्रीको समझदारीमै व्यक्तिगत ग्यारेन्टी (पीजी) र बैंक ग्यारेन्टी (बीजी) फुकुवा गरिदिने लिखित सहमति भए पनि नयाँ सञ्चालकले त्यसको पालना नगर्दा आफूहरू अप्ठ्यारोमा परेको शेर्पाको गुनासो छ ।

७० करोडको सम्पत्ति ३८ करोडमै लिलाम हुन लाग्दा संस्थापकहरूलाई बेचैन बनाएको र लगानीको न्यून मूल्यांकन भएको उनले बताए ।

भोटेकोशी हेली रिसोर्ट एण्ड सपा (प्रा.लि.): हालको सेयर स्वामित्व र खरिद विवरण

क्र.सं.हालको सेयरधनीको नामजम्मा कित्ताचुक्ता रकम (रु.)सेयर खरिदको स्रोत (बिक्रेता र कित्ता)नाता / कैफियत
दिपेन्द्र अग्रवाल४,५०,०००४,५०,००,०००चिन बहादुर (२,३९,०००) + छिरिङ शेर्पा (२,११,०००)जय प्रकाश अग्रवालका छोरा
ज्योति अग्रवाल४,५०,०००४,५०,००,०००चिन बहादुर (४,१२,०००) + छिरिङ शेर्पा (३८,०००)दिपेन्द्र अग्रवालकी छोरी
जय प्रकाश अग्रवाल४,५०,०००४,५०,००,०००चिन बहादुर रानाभाट (४,५०,०००)
सुवास प्रधान७,३५,०००७,३५,००,०००
क्रिष्टल प्रधान३,६४,५००३,६४,५०,०००समिर नेपाल (६४,५००) + चिन बहादुर (२,४९,०००) + छिरिङ शेर्पा (५१,०००)सुवास प्रधानका छोरा
मिता मुरारका अग्रवाल३,५०,०००३,५०,००,०००एलिस रानाभाट (५,०००) + समिर नेपाल (१०,५००) + चिन बहादुर (३,३४,५००)दिपेन्द्र अग्रवालकी पत्नी
सरस्वती सेडाई३,३५,०००३,३५,००,०००छिरिङ शेर्पा (३,३५,०००)सुवास प्रधानकी पत्नी
छेवाङ याङजोम घिसिङ३०,०००३०,००,०००
समिर कुमार नेपाल२५,०००२५,००,०००७५,००० कित्ता बिक्री गरी बाँकी रहेको
१०रामायण गुप्ता१५,०००१५,००,०००
कुल जम्मा३२,०४,५००३२,०४,५०,०००
(बिक्री मिति: २०८२/०३/०८, प्रति सेयर मूल्य रु. १००)

२०८२ असार १० देखि रिसोर्टमा सुवास प्रधानले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई भित्र्याएका थिए । तर, उनीहरूले खरिद गरेको सेयरको भुक्तानी भने समयमा दिएनन् । उक्त मितिमा चिनबहादुर रानाभाट (चिनु) को नामको २ लाख ३९ हजार कित्ता सेयर दीपेन्द्र अग्रवालले २ करोड ३९ लाख रुपैयाँमा लिएका थिए।

अग्रवालले छिरिङ शेर्पाको २ लाख ११ हजार कित्ता सेयर पनि २ करोड ११ लाखमा किने । यस्तै, चिनुले आफ्नो छोरा एलिसको नामको ५ हजार कित्ता सेयर दीपेन्द्रकी श्रीमती मिता मुरारका अग्रवाललाई बेचे । उनले आफ्नो नामको थप २ लाख ४९ हजार कित्ता सेयर सुवास प्रधानका छोरा क्रिष्टल प्रधानलाई बिक्री गरेर रिसोर्टबाट बिदा भएका थिए ।

बिक्रीबापतको रकम सुवासले भुक्तानी नगरेकै कारण उत्पन्न आर्थिक विवादले गर्दा प्रधान हाल ७ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा ४० लाख धरौटी तिर्न नसकेपछि पोखरा कारागारमा छन् । सुवासका छोरा क्रिष्टलकै नाममा प्रधानले छिरिङ शेर्पाको थप ५१ हजार कित्ता सेयर गत वर्ष नै खरिद गरेका थिए ।

विवरण अनुसार, छिरिङले ज्योति अग्रवाललाई ३८ हजार कित्ता सेयर ३८ लाख रुपैयाँमा गत असारमै बेचेका थिए । यस्तै, चिनुले ३ लाख ३४ हजार ५ सय कित्ता सेयर मितालाई बिक्री गरेको देखिन्छ । समिर कुमार नेपालले पनि आफ्नो नामको १० हजार ५ सय कित्ता सेयर १० लाख ५० हजारमा मितालाई नै बेचेका थिए । यस्तै, चिनुको स्वामित्वको ४ लाख ५० हजार कित्ता सेयर जय प्रकाश अग्रवालले र ४ लाख १२ हजार कित्ता सेयर ज्योति अग्रवालले खरिद गरेका छन् ।

सेयर खरिदबापतको पैसा प्रधानले रानाभाटलाई नदिएपछि रानाभाटले गत पुस २० मा २ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै कास्की प्रहरीमा जाहेरी दिएका थिए। सोही आधारमा प्रधान माघ २३ मा पक्राउ परे पनि पछि अदालतबाट छुटे। त्यसपछि रानाभाटले पुनः चैत १७ मा अर्को ३ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै बैंकिङ कसुरमा जाहेरी दिएपछि उनी जेठ ३ गते पुनः पक्राउ परेका हुन् ।

२०८२ असार ८ को लिखत अनुसार चिन बहादुर रानाभाट र छिरिङ शेर्पा आफ्नो स्वामित्व बेचेर रिसोर्टबाट बाहिरिएका थिए। चिन बहादुरले १६ लाख ८४ हजार ५ सय कित्ता र छिरिङले ६ लाख ३५ हजार कित्ता सेयर सुवास र दीपेन्द्र समूहलाई बिक्री गरेका थिए ।

अहिले पनि यो रिसोर्टमा दीपेन्द्र अग्रवालको समूहमा ज्योति अग्रवाल, जय प्रकाश अग्रवाल र मिता मुरारका अग्रवालको गरी १७,००,००० कित्ता (५३%) सेयर स्वामित्व छ। प्रधान समूहमा पनि क्रिष्टल प्रधान र सरस्वती सेडाईको गरी १४ लाख ३४ हजार ५ सय कित्ता (४४.७%) सेयर रहेको कम्पनी रजिष्ट्रारको कार्यालयको अद्यावधिक विवरणले देखाएको छ ।

प्रधान र अग्रवाल समूहलाई सेयर बिक्री गर्दा लिखतमै बिक्रेताहरूले कम्पनीको सम्पूर्ण दायित्व र व्यक्तिगत ग्यारेन्टी (पीजी) खरिदकर्तालाई हस्तान्तरण गर्ने सर्त राखेका छन्। तर, रिसोर्ट ऋणको स्वामित्व लिने एउटा समूह र कालोसूचीमा परेर लिलामीको मार खेप्ने अर्को समूह (पूर्व सञ्चालक) हुन पुगेका छन् ।

ठूला लगानीकर्ताको चपेटामा साना लगानीकर्तासमेत परेका छन्। पुराना लगानीकर्ताले सुवास प्रधानमार्फत सबै सेयर दीपेन्द्र अग्रवाललाई पास गरिदिए पनि बैंकले व्यक्तिगत ग्यारेन्टी अझै अड्काएका कारण उनीहरू कालोसूचीमा परेका हुन् ।

नयाँ लगानीकर्ता दीपेन्द्र अग्रवालले ऋण नतिर्दा र सुवास प्रधानसँग उनको विवाद हुँदा बैंकले लिलामीको सूचना निकाल्दा आफूहरू फसेको पूर्व सञ्चालकहरूको भनाइ छ । ‘हामीले बैंकलाई नयाँ सेयर लगत देखाएर हाम्रो नाम हटाउन आग्रह गर्दा बैंकले मानेको छैन। स्वतन्त्र व्यवसाय गर्ने मान्छेलाई विनासित्ती विवादमा मुछ्दा नखाएको विष लागेझैँ भएको छ,’ एक लगानीकर्ताले प्रतिक्रिया दिए ।

सुवासको ‘अनप्रोफेशनल’ हर्कतले म आफैँ ठगिएँ: दीपेन्द्र अग्रवाल

एक वर्षअघि मात्र भित्रिएका दीपेन्द्र अग्रवालले सुवास प्रधानको ‘अनप्रोफेशनल’ व्यवहारले आफू स्वयं ठगिएको दाबी गरे।

‘रिसोर्टलाई डुब्नबाट बचाउन झण्डै १७ करोडको प्रतिबद्धतासहित ६ करोड ९० लाख रुपैयाँ बैंकको ब्याज मात्रै बुझाएर म प्रवेश गरेको हुँ,’ उनले भने, ‘तर सुवासको नियत सफा देखिएन ।’

सहमतिअनुसार आफ्नो नाममा आउनुपर्ने ८ लाख ४२ हजार कित्ता सेयर उनले अझै ट्रान्सफर गरेका छैनन् । ‘पुराना साथीहरूसँग सेयर त लिएँ तर भुक्तानी दिएनन्, जसले गर्दा उनी अहिले जेलमा छन् र हामी लिलामीको मारमा परेका छौँ।’

‘प्रोफेशनल’ टिम नहुँदा र मुख्य सञ्चालक जेल परेपछि कारोबार भद्रगोल भएको र आफू ठूलो आर्थिक एवं मानसिक तनावमा रहेको अग्रवालले बताए।

Skip This