काठमाडौंका होटल, स्टोर र डेरीमा अनुगमन: कस्मेटिकमा प्रयोग हुने रिज वाटर खाद्य व्यवसायमा पाइयो


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकाका विभिन्न होटल, रेस्टुरेन्ट, खाद्य स्टोर र डेरी उद्योगहरूमा सघन अनुगमन गरेको छ ।

विभागले तीनवटा छुट्टाछुट्टै टोली खटाई अनुगमन तथा निरीक्षण गरेको हो।

विभागको पहिलो टोलीले बानेश्वरस्थित ‘आनन्द भूमि बिजनेस सेन्टर’ को निरीक्षण गर्दा खाद्य स्टोरमा ‘कस्मेटिक ग्रेड’ को रोज वाटर फेला पारेको छ ।

खाद्य प्रयोजनका लागि नभएको उक्त वस्तु भेटिएपछि विभागले थप अनुसन्धानका लागि ५ दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । सोही सेन्टरमा म्याद नाघेका कृत्रिम रङ, मिक्स फ्रुट जाम, तोरी र बेसन समेत फेला परेकाले ती वस्तु नष्ट गरिएको छ ।

त्यस्तै, थापागाउँस्थित ‘कार्निभल रेष्ट्रो एण्ड मिटिङ्ग प्रालि’ मा म्याद नाघेको चिज र लेबल नभएको पनिर फेला परेको छ ।

बानेश्वरकै ‘हैदराबादी मट्का दम बिरयानी सेन्टर’ मा खाद्य पदार्थ अव्यवस्थित तरिकाले भण्डारण गरिएको, कृत्रिम रङको प्रयोग भएको र पेष्ट कन्ट्रोलको व्यवस्था नभएको पाइएको छ ।

विभागले यी व्यवसायहरूलाई सरसफाइमा ध्यान दिन र मापदण्ड पालना गर्न कडा निर्देशन दिएको छ ।

विभागको दोस्रो टोलीले ‘घुम्ती प्रयोगशाला भ्यान’ सहित कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको थियो । टोलीले विभिन्न २२ थरीका ताजा फलफूल तथा तरकारीको नमुना संकलन गरी जीवनाशक विषादीको अवशेष परीक्षण गरेकोमा सबै नमुनाहरू मापदण्ड अनुकूल (खान योग्य) पाइएका छन् । यद्यपि, कच्चा दूधमा हुने मिसावट परीक्षणको अभिलेख भने दुरुस्त नपाइएको विभागले जनाएको छ ।

तेस्रो टोलीले भक्तपुरको चाँगुनारायणस्थित डेरी उद्योगहरूको निरीक्षण गरेको छ । खरीपाटी डेरी र सैँजु डेरीले दही र बटर उत्पादनका लागि आवश्यक खाद्य अनुमति पत्र नलिएको पाइएको छ ।

अनुगमनका क्रममा कामदारहरूले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको, उपकरणहरूमा खिया लागेको र प्रयोगशालाका सामग्रीहरू प्रशोधन कक्षमै राखिएको पाइएको छ । विभागले ती उद्योगहरूलाई तत्काल अनुमति प्रक्रिया पुरा गर्न र सरसफाइमा सुधार गर्न निर्देशन दिँदै प्रशोधित दूधको नमुना संकलन गरेको छ ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा बालकुमारी शर्माका अनुसार उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने र न्यूनतम मापदण्ड पुरा नगर्ने व्यवसायीहरूलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । विभागले चाडबाड र सामान्य समयमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने बताएको छ ।