टिभिएस अपाचे आरटिआर १६० -४भी सार्वजनिक, यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?


काठमाडौं । विश्वविख्यात दुई पाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो लोकप्रिय मोटरसाइकल अपाचेको नयाँ संस्करण ‘अपाचे आरटिआर १६० ४ भी’ सार्वजनिक गरेको छ ।

काठमाडौंको सतुंगलमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले यस सेग्मेन्टकै सबैभन्दा शक्तिशाली दाबी गरिएको नयाँ मोडल बजारमा ल्याएको हो । विगत दुई दशकदेखि रेसिङ प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउँदै आएको टिभिएसले यस पटक राइडरको सुरक्षा र अत्याधुनिक प्रविधिलाई विशेष प्राथमिकता दिएको छ ।

नयाँ अपाचे आरटिआर १६० ४ भीमा १५९.७ सीसीको शक्तिशाली इन्जिन जडान गरिएको छ । यसले स्पोर्ट मोडमा १७.५५ पीएस पावर र ९२५० आरपिएम उत्पादन गर्छ भने अर्बन र रेन मोडमा १५.६४ पीएस पावर प्रदान गर्दछ । ५-स्पीड गियरबक्स रहेको यस मोटरसाइकलमा सुरक्षाका लागि ड्युअल-च्यानल एबिएस र तीन वटा राइडिङ मोडहरू (स्पोर्ट, अर्बन र रेन) उपलब्ध छन् । यस सेग्मेन्टमा पहिलो पटक ३७ एमएमको अपसाइड डाउन फोर्क्स, ५ इन्चको टिएफटी क्लस्टर र प्रोजेक्टर हेडल्याम्प जस्ता विशेषताहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

लन्च कार्यक्रममा बोल्दै टिभिएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले नेपाल टिभिएसका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार रहेको बताए । उनले नयाँ अपग्रेडहरूसहितको यो मोटरसाइकलले राइडरहरूलाई अझ बढी आत्मविश्वास र नियन्त्रणका साथ उत्कृष्ट प्रदर्शनको अनुभव गराउने विश्वास व्यक्त गरे ।

त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नेपाली युवा राइडरहरूमाझ टिभिएस अपाचेको छुट्टै पहिचान रहेको र नयाँ मोडलले यो लोकप्रियतालाई अझ उचाइमा पुर्‍याउने उल्लेख गरे ।

टिभिएसका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीका अनुसार अपाचेले विश्वका ६० भन्दा बढी देशमा ६५ लाखभन्दा बढी राइडरहरूको विश्वास जितिसकेको छ । नेपालमा सार्वजनिक गरिएको यो नयाँ संस्करणले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा मिडियाकर्मी र अटोमोबाइल समीक्षकहरूका लागि विशेष राइडिङ सेसन र ट्र्याक राइडको समेत व्यवस्था गरिएको थियो ।

नेपाली बजारमा यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध हुनेछ । यसको एक्स-शोरूम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार नयाँ अपाचे अहिले केही छानिएका डिलरशिपहरूमा उपलब्ध छ भने जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध हुनेछ । नेपालमा जगदम्बा मोटर्स प्रालि टिभिएसको एकमात्र आधिकारिक वितरकको रूपमा रहेको छ ।