
काठमाडौं । लियना ट्रेड कन्सर्न प्रालिको व्यापार १७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १७ प्रतिशतले वृद्धि भएको हो ।
सन् २०२४ मा २ अर्ब २० करोड रुपैयाँको कारोबार गरेको कम्पनीको व्यापार गत आवमा बढेर २ अर्ब ५८ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ८४ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ७६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । साथै, कम्पनीले चालु आवको १० महिनाको अवधिमा २ अर्ब ३८ करोड ८० लाख रुपैयाँको कारोबार गरिसकेको छ । सन् १९९४ मा स्थापना भएको यो कम्पनी औषधि आयातकर्ता तथा आधिकारिक वितरक हो ।
कम्पनीले गत आवमा ५.१३ प्रतिशत सञ्चालन नाफा मार्जिन कायम गरेको छ । कम्पनीले गत आवमा ३.०९ प्रतिशत खुद नाफा गरेको छ, जबकि सन् २०२४ मा ३.२० प्रतिशत खुद नाफा गरेको थियो । कम्पनीले समग्र रूपमा अझै पनि मध्यम पुँजी संरचना कायम राखेको छ ।
गत आवमा कम्पनीको ‘लेभरेज’ सूचकहरूमा केही कमजोरी देखिएको छ । गोदाम निर्माणका लागि थप ऋण लिइएका कारण कम्पनीको समग्र ‘गियरिङ’ अनुपात सन् २०२४ को ०.९० गुणाबाट बढेर गत आवमा १.३२ गुणा पुगेको छ ।
कुल बाह्य दायित्व र ट्यान्जिबल नेट वर्थको अनुपात पनि गत आवमा बढेर ३.६८ गुणा पुगेको छ, जुन सन् २०२४ मा २.६५ गुणा थियो ।
ऋणको स्तर बढे पनि कम्पनीको ऋण भुक्तानी क्षमता सूचकहरू भने सुधारिएको नाफा र कम ब्याज खर्चको सहयोगले सन्तोषजनक रहेका छन् । ब्याज कभरेज अनुपात सन् २०२४ मा ४.५३ गुणा रहेकोमा गत आवमा बढेर ५.२२ गुणा पुगेको छ । यसले कम्पनीको ऋण भुक्तानी गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्दछ ।
त्यसैगरी, ऋण सेवा कभरेज अनुपात सन् २०२४ को १.९७ गुणाबाट घटेर गत आवमा १.८६ गुणा पुगेको छ । यद्यपि, यो अझै पनि सन्तोषजनक स्तरमै रहेको छ ।
कम्पनीसँग नेपालका लागि ‘एसपीआई’को वितरक अधिकार रहेको छ । कम्पनीले मुटु तथा रक्तनली, स्नायु, हाडजोर्नी तथा क्यान्सरजस्ता रोगहरूको उपचारमा प्रयोग हुने औषधिसहित २५० भन्दा बढी दर्ता भएका दीर्घकालीन रोगसम्बन्धी औषधिहरू वितरण गर्दै आएको छ ।
कम्पनीमा भुवन राजभण्डारी र राजेन्द्र अमात्यको ३०/३० प्रतिशत स्वामित्व छ भने मोना मास्के र राजकिशोर प्रसाद कल्वारको २०/२० प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६१ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ४३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया