बिवाइडीले अर्थमन्त्री वाग्लेलाई फसायो: विवादमा ल्यायो, मूल्य पनि बढायो

3.5k
Shares

काठमाडौं । विद्युतीय सवारीसाधनमा कर बढाइएको भन्दै आलोचना भइरहेको समयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने अधिकांश सार्वजनिक मञ्चमा ५० लाख रुपैयाँ मुनिका सवारीसाधनको मूल्य घट्ने तर्क गर्दै हिँडे । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट र आर्थिक ऐन २०८३ मार्फत् ल्याइएको नीतिले ५० लाख रुपैयाँभन्दा तलको गाडीको मूल्य नबढ्ने व्यवस्था गरेको भन्दै उनले ईभीमा कर लगाएको भन्ने आलोचनाको बचाउ गर्दै हिँडे ।

जेठ १८ गते नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एक कार्यक्रममा त अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेन शाहले नै ५० लाख रुपैयाँभन्दा कम मूल्यका सवारीको कर नबढाउन निर्देशन दिएको उल्लेख गर्दै सो भन्दा माथिका गाडीको मूल्य मात्रै बढ्ने बताए ।

‘५० लाखभन्दा घटीका ईभीमा मूल्य घट्छ यसपाली । २० लाख सीआईएफ (लागत, बिमा र ढुवानी खर्च) मूल्य भएका गाडीमा सबै ट्याक्सहरू थुपार्दा पनि ४२/४३ लाखमा आउन सक्छ,’ वाग्लेले भने । सार्वजनिक सवारीलाई विद्युतीकरण गर्ने विषयमा छलफल भइरहेको र काठमाडौं भिजन २०४० मार्फत ई–मोबिलिटीमै जान सकिने धारणा अर्थमन्त्री वाग्लेले राखे ।

विलासिता र प्रगतिशीलताको सिद्धान्तलाई मानेर स्वच्छ पूर्वाधार लगानी शुल्क (सीआईआईएफ) लगाएर अघि बढ्नु पर्ने उल्लेख गरेका वाग्लेले केही वर्ष अघिसम्म विद्युतीयगाडीको प्यानिट्रेसन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए तर कम कम मूल्यका गाडीको मूल्य भने नबढ्ने जिकिर गरे ।

‘अहिले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो । यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो । ५० लाख रुपैयाँ माथिका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो ।’ वाग्लेले सोही अनुसार ५० लाख रुपैयाँ माथिका गाडीको मात्रै मूल्य बढ्ने गरी बजेट ल्याएको र सो भन्दा तलको भने घट्ने दाबी गरेका थिए ।

हुन पनि बजेटपछि अर्थमन्त्री वाग्लेले भने जस्तै केही बाहेक ५० लाख रुपैयाँमाथिका गाडीको मूल्य धमाधम बढ्यो । प्रायः ५० लाख रुपैयाँमाथिका गाडीको मूल्य सबैजसो ब्रान्डले समायोजन गरेर बढाइसकेका छन् । कर समायोजन पछि अर्थमन्त्रीले भनेजस्तै गरी सीजी मोटोकर्पले सुजुकी ई–भिटारा डेल्टा भेरियन्टको मूल्य ५२ लाख ९९हजार रूपैयाँबाट घटाएर ४८ लाख ९९ हजार रूपैयाँ कायम गर्यो । त्यस्तै जेटा भेरियन्टको मूल्य ५७ लाख ९९ हजार रूपैयाँबाट ५२ लाख ९९ हजार रूपैयाँमा झारियो ।

अल्फा भेरियन्टको मूल्य ६३ लाख ९९ हजार रूपैयाँबाट घटाएर ५८ लाख ९९ हजार रूपैयाँ कायम गरिएको छ भने अल्फा डीटी भेरियन्टको मूल्य ६४ लाख ४९ हजार रूपैयाँबाटघटाएर ५९ लाख ४९ हजार रूपैयाँ तोकियो । यसका साथै लिपमोटर बी–१० को मूल्य समेत ५ लाख रुपैयाँ घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम भयो ।

यसरी ५० लाख रुपैयाँ आसपास रहेका गाडीको मूल्य घट्दा नेपालका लागि बीवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले भने ५० रुपैयाँभन्दा मुनिको गाडीकोमूल्य समेत बढायो, जुन अर्थमन्त्रीले ५० लाख रुपैयाँ तलका गाडीको मूल्य घट्छ भन्ने अभिव्यक्ति भन्दा ठिक विपरीत थियो । साइमेक्स इंकले ४५ लाख ९५ हजार रुपैयाँमाबिक्री गर्दै आएको बीवाईडी ‘एटो टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले बढाएर ४८ लाख ९९ हजार रुपैयाँ कायम गर्यो ।

यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ रहेको ‘एटो थ्री’ (एड्भान्स्ड भेरियन्ट) को मूल्य २ लाख रुपैयाँले बढाएर ६१ लाख ९९ हजार रुपैयाँ कायम गर्यो । ‘एटो थ्री’को मूल्य बढ्नु अर्थमन्त्रीले भनेअनुसार स्वभाविक भएपनि ‘एटो टु’को मूल्य बढ्नु भनेको अर्थमन्त्रीले दिएको अभिव्यक्ति विपरित देखिन्छ । अर्थात्, अर्थमन्त्रीले ५० लाख रुपैयाँ तलको गाडीको मूल्य घट्छ भन्ने तर्कलाई गलत सावित गर्दै बिवाईडीले ४५ लाख ९५ हजारमा बिक्री गर्दै आएको बीवाईडी ‘एटो टु’ को ४८ लाख ९९ हजार पुर्‍याएर एक हिसाबमा फसाएको छ ।

तर, बिवाइडीलाई सूचना चुहाएको गम्भीर आरोप अर्थमन्त्री वाग्लेमाथि लागेको छ । अर्थमन्त्रीमाथि करको दर बढ्ने सूचना चुहाएको आरोपमा पनि बीवाईडी नै आएर जोडियो । अर्थ मन्त्रालयबाट चुहिएको सूचनाका आधारमा बीवाईडीले बजेट भाषणको अघिल्लो दिनसम्म मुस्ताङको कोराना नाकाबाट कुल ६४९ वटा ईभी जाँचपास गराएको आरोप अर्थमन्त्रीमाथि छ । खासगरी आर्थिक विधेयक तयार पार्ने क्रममै अर्थात् बजेट भाषणअघि नै अर्थमन्त्रीका स्कुले साथीसमेत रहेका बीवाईडीको चितवन डिलर तथा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका भिनाजु नाता पर्ने उज्ज्वल श्रेष्ठमार्फत ईभीमा मूल्यका आधारमा स्वच्छ पूर्वाधार निर्माण कर लगाउने तयारी भएको र केही मोडलमा करका दर बढ्ने सूचना लिक भएको भनिएको छ ।

यस विषयमा अर्थ मन्त्रालयले नै छानबिन समिति गठन गर्‍यो । सो समिति प्रधानमन्त्रीको निर्देशनमा बनेको थियो । तर, मुस्ताङको कोराला नाकाबाट ६४९ वटा बीवाईडीका कार नियमसंगत रूपमा जाँचपास भएको निष्कर्ष समितिले निकाल्यो । सो नाकाबाट जेठ १२ र १३ गते घोषणा भएका ६४९ वटा बीवाईडी ईभी जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिमा नियमानुसार जाँचपास भएको देखिएको अर्थ मन्त्रालयको ठहर छ ।

करका दर बढ्ने सूचना चुहिएर जेठ १५ अघि नै जाँचपास गरिएको आशंकामा शसस्त्र प्रहरीले कोराला नाकाबाट छुटेका ती गाडि नियन्त्रणमा लिएको थियो ।

उता अर्थमन्त्रीमाथि कर बढ्ने सूचना चुहाएको आरोप लागिरहँदा उनले निरन्तर बीवाईडीको बचाउ गरिरहे । कहिले बीवाईडी जस्तो प्रतिष्ठित ब्रान्डले यस्तो काम गर्न सक्छ र ? भन्दे प्रतिप्रश्न गरे । कहिले बजेटअघि गाडि आयात गर्दा बीवाईडीलाई लाभ नभएर उल्टै घाटा पुगेको भन्दै बचाउ गरे । प्रतिपक्षी दलका सांसदहरुले संसदीय छानविन समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरिरह्यो ।

अर्थमन्त्री वाग्लेले बीवाइडीलाई यसरी अतिरिक्त प्रेम गरिरहँदा त्यही बिवाइडीले उनलाई फसाइदियो । किनकी उनले ५० लाखभन्दा कमको ईभीको भाउ घट्ने भन्दै गर्दा बीवाईडीले ५० लाख रुपैयाँभन्दा कम पर्ने गाडीको मूल्य बढाइदियो ।

यतिसम्म कि ५० लाखभन्दा कम मूल्य भएको गाडीको भाउ घटाउन उनले २० लाख रूपैयाँभन्दा कम इन्भ्वाइस मूल्य भएका ईभीको सडक निर्माण दस्तुर आधा बनाइदिएका थिए । हेक्का रहोस्, नेपालमा बीवाईडीको ईभी किन्ने सरकारी उच्च भूमिकामा रहेका पहिलो व्यक्तिमध्ये एक वाग्ले थिए । उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदै बीवाईडीको ईसिक्स मोडलको कार किनेका थिए ।

तर, अर्थमन्त्रीको अतिरिक्त प्रेममा बीवाईडीले धोका दिएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

‘जसरी गगन थापालाई बाख्राले छाडेको छैन, त्यसैगरी स्वर्णिम वाग्लेलाई बिवाइडीले कहिल्यै छाड्ने छैन,’ उनी निकटस्थ एक व्यक्तिले भने, ‘बजेटअघि सयौं गाडी भित्र्याएको बिवाइडीले अर्थमन्त्रीले सार्वजनिक रुपमा ५० लाख रुपैयाँभन्दा कमका गाडीको मूल्य घट्ने बताउनुभएको थियो । तर बिवाइडीले ठिक विपरित मूल्य बढाइदियो । यहाँ धोका भयो कि बीवाईडीले फसाएको हो भन्न सक्ने ठाउँ छैन ।’

मूल्य घटेका गाडीहरू

मूल्यमा आधारमा कर लाग्ने व्यवस्थासँगै केही ब्रान्डहरुले आफ्नो गाडीको मूल्य घटाएका छन् । स्काइवेल ब्रान्डका गाडीहरूमा १६ लाख रुपैयाँसम्मको गिरावट आएको छ । ७९ लाख ९० हजार रुपैयाँ पर्ने स्काइवेल ‘बीई११’ (५२ किलोवाट आवर) को मूल्य १४ लाखले घटेर ६५ लाख ९० हजार कायम भएको छ ।

यस्तै, ७२ किलोवाट आवर क्षमताको भेरियन्टको मूल्य १५ लाखले घटेर ७४ लाख ९० हजार र ८५.९ किलोवाट आवरको लङ रेन्ज भेरियन्टको मूल्य १६ लाख रुपैयाँले घटेर ९९ लाख रुपैयाँमा झरेको छ ।

यस्तै, ५९ लाख ९९ हजार रहेको लिपमोटर ‘बी१०’को मूल्य पनि ५ लाख रुपैयाँले घटाएर ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा झारिएको छ । सुजुकी ब्रान्डले पनि आफ्ना ई–भिटारा मोडलहरूको मूल्य घटाएको छ । सुजुकी ‘ई–भिटारा’को बेस भेरियन्टको मूल्य ४ लाखले घटेर ४८ लाख ९९ हजार र टप भेरियन्ट मूल्य ५ लाखले घटेर ५९ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।

मूल्य बढेका गाडीहरू

मूल्यमा आधारमा कर लाग्ने व्यवस्थासँगै सबैभन्दा बढी प्रिमियम र महँगा गाडीको मूल्य बढेको छ । यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको बीएमडब्ल्यू ‘आईएक्स वान’को मूल्य एकैपटक १ करोड ३० लाख रुपैयाँले बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, चांगन ब्रान्डको ‘दिपल एस०७ प्लस’ को मूल्य ४ लाख रुपैयाँले बढेर ५७ लाख ९९ हजार रुपैयाँ कायम भएको छ भने ‘दिपल एस०७ म्याक्स’ को मूल्य ३ लाख रुपैयाँले बढेर ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

ओमोडा र जेकोको ‘आईकार भी२३’ को मूल्य पनि ३ लाख रुपैयाँले वृद्धि भई ५४ लाख रुपैयाँ पुगेको छ भने ‘ओमोडा जे६’ को मूल्य १ लाख रुपैयाँले बढेर ७० लाख रुपैयाँ कायम गरिएको छ ।

नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले जिली इएक्स फाइभ म्याक्स र प्रोको मूल्य बढाएको छ । कम्पनीले ईएक्स फाइभ म्याक्स भेरियन्टको मूल्य ३ लाख रुपैयाँ र प्रो भेरियन्टको २ लाख रुपैयाँ बढाएको छ । यो सँगै जिली ईएक्स फाइभ म्याक्सको मूल्य ७३ लाख र जिली ईएक्स फाइभ प्रो को मूल्य ६२ लाख रुपैयाँ पुगेको छ ।

एमजी ब्रान्डका गाडीहरूमा पनि मूल्य वृद्धि देखिएको छ । ‘एमजी एस६’ को मूल्य २ लाख रुपैयाँले बढेर ७२ लाख रुपैयाँ पुगेको छ भने ‘एमजी आईएम६’ को मूल्य ३ लाख रुपैयाँले बढाएर ८१ लाख ९९ हजार रुपैयाँ कायम भएको छ ।

नेपालका लागि बीवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले ४५ लाख ९५ हजार रुपैयाँमा बिक्री गर्दै आएको बीवाईडी ‘एटो टु’ को मूल्य ३ लाख ४ हजार रुपैयाँले बढाएर ४८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।

यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ रहेको ‘एटो थ्री’ (एड्भान्स्ड भेरियन्ट) को मूल्य दुई लाख रुपैयाँले बढाएर ६१ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।