भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, सयौं घाइते

168
Shares

तस्बिर: एएफपी

एजेन्सी । दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई झट्का दिँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने करिब १ हजारभन्दा बढी घाइते भएका छन् । अमेरिकी भूगर्भीय सर्वेक्षणले मृतक संख्या हजारौं पुग्न सक्ने चेतावनी दिएको छ ।

भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रलाई सम्बोधन गर्दै यो जानकारी दिएकी छन्। सुरुमा ३२ जनाको मृत्यु र ७०० घाइतेको तथ्यांक सार्वजनिक गरिए पनि उद्धार कार्य जारी रहँदा मृतक संख्या बढेर १६४ पुगेको रोयटर्सले जनाएको छ । घाइते संख्या पनि ९७१ पुगेको बताइएको छ।

याराकुई क्षेत्रमा केन्द्रबिन्दु बनाएर ७.२ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो । यसको केही सेकेन्डपछि दोस्रो र ठूलो ७.५ म्याग्निच्युडको भूकम्पले देशलाई हल्लायो । दुवै भूकम्प एक मिनेटभन्दा कमको अन्तरमा गएका थिए ।

राजधानी काराकास र आसपासका क्षेत्रमा धेरै भवनहरू भत्किएका छन् । ला गुएरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ, जसलाई विपद् क्षेत्र घोषणा गरिएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी गरिरहेका छन्।
असर : भूकम्पपछि दर्जनौं पराकम्पनहरू गएका छन्। ठूलो संख्यामा क्षति र मृत्युको सम्भावना रहेको ‘रेड अलर्ट’ जारी गरिएको छ ।

भूकम्पमा परेर बाँचेकी व्यक्तिले भनिन्, ‘यो डरलाग्दो फिल्म जस्तै थियो ।’ भत्किएका भवनहरूको छेउमा उद्धारकर्मीहरूले काम गरिरहेको दृश्य देखिन्छ।

भेनेजुएलाले भूकम्पपछि आपतकालीन अवस्था घोषणा गरेको छ । देशले पहिले नै राजनीतिक र आर्थिक संकट सामना गरिरहेको अवस्थामा यो विपद्ले थप चुनौती थपेको छ। अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपील भइरहेको छ ।

Skip This