केप भर्डेको चामत्कारिक प्रदर्शनसँगै जर्सी बेच्ने कम्पनीहरूबीच किन पर्‍यो लफडा ?

455
Shares

एजेन्सी । विश्वकपमा केप भर्डे टोलीले गरेको उत्कृष्ट सुरुवातले अहिले नयाँ विवाद निम्त्याएको छ ।

प्रतियोगिताको प्रमुख दाबेदार मानिएको स्पेनलाई गोलरहित बराबरीमा रोकेर सबैलाई अचम्ममा पारेको केप भर्डेको जर्सी कसले बेच्न पाउने भन्ने विषयमा दुई कम्पनीबीच कानुनी लडाइँ सुरु भएको छ ।

टोलीको यो सफलतासँगै फ्यानहरू जर्सी किन्न उत्साहित छन् । टोलीको आधिकारिक जर्सी साझेदार ‘कापेली स्पोर्ट’ ले ९५ डलरमा जर्सी बेचिरहेको छ । तर, स्पेनसँगको खेल लगत्तै ‘टेम्पो’ नामको अर्को कम्पनीले पनि सामाजिक सञ्जालमा केप भर्डेको जर्सीको विज्ञापन गर्न थाल्यो । टेम्पो यसअघि यो टोलीको जर्सी प्रदायक थियो । अहिले उसले पुरानो डिजाइनको जर्सी मात्र ३९ डलरमा बेचिरहेको छ ।

यस विषयमा जानकार एक व्यक्तिलाई उदृत गर्दै स्पोर्टीकोले जनाए अनुसार, कापेली स्पोर्टले गत हप्ता टेम्पोलाई एक कानुनी पत्र पठाउँदै आफ्नो अधिकार मिच्ने काम बन्द गर्न चेतावनी दिएको छ ।

कापेली स्पोर्टले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘टोलीले विश्वकपमा ऐतिहासिक सफलता पाउनुभन्दा धेरै अघिदेखि नै हामीले केप भर्डे फुटबल महासंघलाई साथ दिँदै आएका छौं । हामीले उनीहरूको खेल र विकासमा ठूलो लगानी गरेका छौं । त्यसैले यो सफलताबाट हुने आर्थिक लाभ पनि महासंघ र खेलाडीहरूकै हितमा प्रयोग हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

यस विषयमा कापेली स्पोर्टका प्रतिनिधिले थप टिप्पणी गर्न मानेनन् भने टेम्पो कम्पनीलाई पठाइएका धेरै इमेलहरूको पनि कुनै जवाफ नआएको स्टपोर्टीकोले जनाएको छ ।

सामान्यतया, कुनै खेल टोलीले जर्सी बनाउने कम्पनी बदल्दा पुरानो कम्पनीलाई बाँकी रहेका सामानहरू बेच्न केही समय दिइन्छ । उदाहरणका लागि, पेन स्टेट टोलीले एडिडाससँग सम्झौता गरे पनि नाइकीले आफ्ना बाँकी सामानहरू बेचिरहेको छ । तर टेम्पोको हकमा यो समय कहिले सकिन्छ भन्ने प्रष्ट छैन । टेम्पोको वेबसाइटमा जर्सीका लागि ‘प्रि-अर्डर’ गर्न भनिएको छ, जसको अर्थ उसले अहिले पनि नयाँ जर्सीहरू उत्पादन गरिरहेको छ ।

नियमअनुसार पुरानो कम्पनीले नयाँ सामान उत्पादन गर्न पाउँदैन ।

कहिलेकाहीँ पुराना कम्पनीहरूसँग जर्सीको डिजाइनको अधिकार हुन्छ । जस्तै, एडिडासले सन् १९९४ को अमेरिकी टोलीको जर्सी अहिले पनि बेचिरहेको छ, जबकि अहिलेको आधिकारिक साझेदार नाइकी हो । तर एडिडासले ती जर्सीबाट अमेरिकी फुटबलको लोगो हटाएको छ । यता टेम्पोले बेचिरहेको जर्सीमा भने केप भर्डेको आधिकारिक लोगो नै राखिएको छ । यस विवादबारे केप भर्डे फुटबल महासंघका प्रतिनिधिले पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

कापेलीले केप भर्डेको पुरुष टोली पहिलो पटक विश्वकपमा छनोट भएपछि यसै वर्षको सुरुमा चार वर्षको सम्झौता गरेको थियो । सुरुमा साना खेलाडीहरूका लागि जर्सी बनाउने यो कम्पनीले पछिल्लो १० वर्षमा ओलम्पिक र विश्वकपजस्ता ठूला खेलहरूमा आफ्नो पहुँच विस्तार गरेको छ ।

टेम्पोले आफ्नो वेबसाइटमा आफूलाई अस्ट्रियामा दर्ता भएको विश्वव्यापी ब्रान्ड बताएको छ। उसले केप भर्डेको जर्सीलाई ‘२०२५ संस्करण’ भनेर राखेको छ । साथै, फिफाको सदस्य नभएको ग्वाडेलोप टोलीको जर्सी पनि बेचिरहेको छ ।

विश्वकपको पहिलो दुई खेलमा ६३ औं स्थानको केप भर्डेले बलिया टोलीहरू स्पेन र उरुग्वेलाई बराबरीमा रोकेर सनसनी मच्चाएको छ । यदि शुक्रबार साउदी अरेबियासँगको खेलमा पराजित भएन भने यो टोली अर्को चरणमा पुग्ने पक्का छ । टोलीका गोलकिपर भोजिन्हा त सामाजिक सञ्जालमा झन् चर्चित भएका छन्। प्रतियोगिता सुरु भएदेखि उनको इन्स्टाग्राममा फलोअर्सको संख्या १ करोड ५० लाख नाघेको छ, जसले उनलाई विश्वकपका चर्चित खेलाडीहरूको सूचीमा उभ्याएको छ ।

Skip This