बिजनेश न्युजलाई समाचार हटाउन अदालतको आदेशप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण


काठमाडौं । काठमाडौं जिल्ला अदालतले सञ्चार माध्यम बिजनेस न्युज डटकममा प्रकाशित समाचार हटाउन र थप सामग्री प्रकाशन नगर्न दिएको आदेशप्रति अनलाइन पत्रकार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले अदालतको यस्तो आदेशबाट प्रेस स्वतन्त्रता र पत्रकारिताको मूल मर्ममा गम्भीर असर पुग्ने ठहर गरेको छ ।

के हो विषय?

विजनेस भेन्चर्स मिडिया प्रालिद्वारा सञ्चालित बिजनेस न्युज डटकमले ‘साईमेक्स ईन्क प्रालि’का विषयमा समाचार प्रकाशित गरेको थियो । सोही समाचारका सम्बन्धमा जिल्ला अदालत काठमाडौंले जेठ २५ मा भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै उक्त सामग्रीहरू अनलाइनबाट तुरुन्त हटाउन र मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थप प्रकाशन-प्रसारण नगर्न आदेश दिएको छ।

तर, पत्रकार आचारसंहिता २०७३ को बुँदा ५(८) मा अनलाइन माध्यममा प्रकाशित समाचार सकेसम्म हटाउनु हुँदैन भन्ने व्यवस्था छ। अदालतको आदेशले आचारसंहिताको यो प्रावधानलाई दख्खल पुर्‍याएको संघको ठहर छ।

अदालतले समाचारमा रहेका तथ्यहरू सही हुन् वा गलत भन्ने निष्कर्षमा नपुगी, केवल निवेदनका आधारमा समाचार हटाउन आदेश दिएकोमा संघले असन्तुष्टि जनाएको छ । ‘समाचारको सत्यता परीक्षण नगरी सामग्री हटाउन लगाउनु पत्रकारिताको मर्म विपरीत हो,’ संघको विज्ञप्तिमा भनिएको छ।

यसअघि पनि नेपालखबर डटकम र विजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन यस्तै अन्तरकालीन आदेश आएको तर पछि ती आदेशहरू खारेज भएको स्मरण गराउँदै संघले अन्तरकालीन आदेशकै भरमा समाचार हटाउन आदेश दिएको भन्दै असन्तुष्टि जनाएको छ ।

अनलाइन पत्रकार संघका अध्यक्ष शिवप्रसाद सत्यालद्वारा जारी विज्ञप्तिमा अदालतबाट प्रेस स्वतन्त्रताको रक्षा हुने आशा व्यक्त गरिएको छ । साथै, संघले अदालतको सम्मान गर्न, संविधान र कानुनको पालना गर्न र अदालतबाट हुने अन्तिम फैसला स्वीकार गर्न सबै पक्षलाई हार्दिक अनुरोध समेत गरेको छ।

Skip This