म्याजिक ब्रान्डको चप्पल उत्पादन गर्ने कम्पनीले ९ महिनामा गर्‍यो ४० करोड रुपैयाँको कारोबार


काठमाडौं । म्याजिक ब्रान्डको चप्पल उत्पादन गर्ने जयश्री कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४० करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले गत आवमा ५२ करोड ८० लाख रुपैयाँ र सन् २०२४ मा ४७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

विराटनगरमा उद्योग रहेको कम्पनीको कारोबार गत आवमा १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, चालु आवमा पनि कारोबार स्थिर रहेको छ । सन् १९८३ मा स्थापना भएको कम्पनीले वार्षिक १ करोड २० लाख जोडी चप्पल उत्पादन गर्दै आएको छ ।

कम्पनीको गत आवमा कारोबार बढेसँगै सञ्चालन नाफा मार्जिन बढेको छ । सन् २०२४ मा कम्पनीको १४.२१ प्रतिशत सञ्चालन नाफा मार्जिन रहेकोमा गत आवमा १४.४९ प्रतिशत सञ्चालन नाफा मार्जिन कायम छ ।

त्यसैगरी, चालु आवमा कच्चा पदार्थको मूल्यमा आएको र प्रशासनिक खर्चमा कमी आएपछि सञ्चालन नाफा मार्जिन बढेर १८.५४ प्रतिशत गरेको छ ।

त्यसैगरी, कम्पनीले गत आवमा ३.२६ प्रतिशत खुद नाफा कमाएको थियो । चालु आवको ९ महिनाको अवधिमा कम्पनीले ५.९३ प्रतिशत नाफा कमाएको छ । कम्पनीको कुल नगद सञ्चय पनि स्थिर रहेको छ । जसमा कम्पनीको कुल नगद सञ्चय ५ करोड ५० लाख रुपैयाँमा सिमित भएको छ ।

कम्पनीको समग्र गियरिङ अनुपात बढेको छ । सन् २०२४ मा १.०७ गुणा रहेकोमा गत आवमा बढेर १.६३ गुणा पुगेको छ । तर, चालु आवको ९ महिनाको अवधिमा समग्र गियरिङमा सुधार भई १.३९ गुणा रहेको छ ।

त्यसैगरी, कम्पनीको ब्याज कवरेज गत आवमा पर्याप्त ३.४९ गुणा थियो । चालु आवको ९ महिनाको अवधिमा थप सुधार भई ४.५२ गुणा पुगेको छ । साथै, गत आवमा कुल ऋण/कुल नगद सञ्चिती उच्च भई ६.१२ गुणा पुगेको थियो ।

कम्पनीको देशभर २८ वटा डिलर छन् । कम्पनीले उत्पादन गरेको चप्पल नेपाली बजारमा म्याजिक ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा दुई जना बोर्ड सदस्य छन् ।

अनुज पोदर रुबी अग्रवालको शतप्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँ रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ७२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५३ करोड २७ लाख रुपैयाँको रेटिङ गराएको हो ।

Skip This