
काठमाडौं । रेटिङ एजेन्सी इन्फोमेरिक्सले विभिन्न १८ वटा कम्पनीहरूको क्रेडिट रेटिङलाई ‘नेगेटिभ वाच’ मा राखेको छ । ती कम्पनीका प्रवर्द्धक तथा सञ्चालकहरूमाथि विभिन्न वित्तीय अनियमितताको आरोपमा कानुनी कारबाही सुरू भएपछि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले उनीहरुलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखेको हो।
इन्फोमेरिक्सले नेगेटिभ वाचमा राखेका १८ मध्ये १५ कम्पनीले १ खर्ब ५ अर्ब रूपैयाँ बराबरको कर्जा सुविधाका लागि रेटिङ गराएका छन् । यसैगरी ३ कम्पनीको इस्युअर रेटिङ पनि नेगेटिभ इम्प्लिकेसनमा परेको छ ।
गत जेठ २८ मा सरकारी वकिल कार्यालयले धितोपत्र, बीमा, बैंकिङ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विभिन्न व्यावसायिक घरानाका व्यक्तिहरूमाथि अदालतमा मुद्दा दायर गरेका थिए ।
काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष अदालतमा दर्ता गरिएका यी मुद्दाहरूमा कुल १६७ जनालाई अभियुक्त बनाइएको थियो । जसमध्ये धितोपत्रतर्फ ८१ जना, बीमातर्फ ४२ जना, सम्पत्ति शुद्धीकरणमा ३९ जना र बैंकिङ कसुरमा ५ जना प्रतिवादी रहेका छन् ।
नेगेटिभ वाचमा परेका अधिकांश कम्पनीहरू व्यवसायी सुलभ अग्रवाल संलग्न कम्पनीहरू रहेका छन् । ती कम्पनीमा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभसहित शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवालसमेतको लगानी रहेको छ ।
इन्फोमेरिक्सले जगदम्बा स्टिलको ३३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको ऋण सुविधालाई निगरानीमा राखिएको छ । यस्तै जगदम्बा अटो ग्रुपको १ अर्ब ९१ करोड रुपैयाँ, जगदम्बा हस्पिटालिटी ग्रुपको ५ अर्ब ३० करोड रुपैयाँ, जगदम्बा मोटर्सको ५ अर्ब ९७ करोड रुपैयाँको क्रेडिट रेटिङलाई नेगेटिभ वाचमा राखिएको छ ।
जगदम्बा मोबाइल्सको ९० करोड रुपैयाँ, जगदम्बा हायर पर्चेजको १ अर्ब ७२ करोड, जगदम्बा फ्लोर एन्ड एग्रोको १ अर्ब ५४ करोड, गनपति वनस्पतिको ६ अर्ब ४८ करोड, लिट्मस इन्डस्ट्रिजको ८ अर्ब ६७ करोड रुपैयाँको क्रेडिट रेटिङ नेगेटिभ वाचमा राखिएको छ ।
त्यसैगरी, शौर्य सिमेन्ट इन्डस्ट्रिजको १४ अर्ब ८७ करोड र रिद्धि सिमेन्ट इन्डस्ट्रिजको ११ अर्ब ९३ करोड रुपैयाँ बराबरको ऋण रेटिङ पनि ‘नेगेटिभ वाच’ मा परेको छ ।
यस्तै टेलिटक प्रालिको ५७ अर्ब, टेली डाइरेक्ट प्रालिको २ अर्ब ५० करोड, रामजानकी हाइड्रोपावरको ५ अर्ब २५ करोड रुपैयाँ र वेदांशी इन्फ्रास्ट्रक्चर लिमिटेडको ३ अर्ब ५० करोड रुपैयाँ क्रेडिट रेटिङको ‘नेगेटिभ वाचलिस्ट’मा परेको छ ।
साथै हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेस्टमेन्ट बैंकर र व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भलाई पनि इन्फोमेरिक्सले नेगेटिभ इम्प्लिकेसनमा राखेको छ ।
रेटिङ एजेन्सीका अनुसार सम्बन्धित कम्पनीका प्रवर्द्धक वा सञ्चालकहरूमाथि लागेको गम्भीर आरोप र उनीहरूको गिरफ्तारीले कम्पनीको वित्तीय, सञ्चालन र प्रतिष्ठामा पर्ने असरबारे अन्यौलता सिर्जना भएको छ । विशेषगरी कम्पनीहरूको तरलता, व्यवस्थापकीय निरन्तरता र व्यावसायिक सञ्चालनमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राख्दै यो निर्णय लिइएको इन्फोमेरिक्सले जनाएको छ ।
इन्फोमेरिक्स नेपालले जारी कानुनी प्रक्रिया, कम्पनीको सञ्चालक समितिमा हुन सक्ने परिवर्तन र मुख्य व्यवस्थापकीय कर्मचारीहरूको कार्यसम्पादनलाई नजिकबाट नियाल्नेछ । मुद्दाको अन्तिम फैसला वा अनुसन्धानको प्रगति अनुसार कम्पनीहरूको रेटिङमा थप हेरफेर हुन सक्ने एजेन्सीले जनाएको छ ।
नेपालको तेस्रो क्रेडिट रेटिङ एजेन्सीको रूपमा रहेको इन्फोमेरिक्स नेपाल, इन्फोमेरिक्स इन्डियाको भगिनी संस्था हो ।








प्रतिक्रिया