
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको बागडोर रास्वपाको हातमा आएको र देश पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।
चितवनमा आजबाट सुरु भएको पार्टीको ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लामिछानेले बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा शक्तिशाली पार्टी बनाएको बताए ।
लामिछानेले सरकार सञ्चालनका विषयमा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग चुनाव अघि नै सहमति भइसकेको र त्यसअनुसार नै अघि बढ्ने बताए । फुटबलको विम्ब प्रयोग गर्दै उनले भने, ‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्याएको छ । अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको हो । झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि त्यो बल उहाँकै खुट्टामा पास गर्ने जिम्मा मेरो भयो।’
लामिछानेले बल पास गर्ने बताएपछि मञ्चमा आसिन प्रधानमन्त्री बालेन्द्र शाह खुलेर हाँसेका थिए भने हलमा उपस्थित कार्यकर्ताहरूले उठेर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए ।
आफूहरूविरुद्ध अफवाह फैलाउनेहरूलाई लक्षित गर्दै लामिछानेले आफू इतिहासप्रति उत्तरदायी रहेको बताए । ‘यहाँ मुख मिठ्याउने र चुकुली लगाउनेहरू धेरै छन्, म तिनलाई जवाफ दिन बोलिरहेको छैन,’ उनले थपे, ‘म त इतिहासलाई जवाफ दिन खडा भएको छु । आज जन्मेका र भोलि जन्मने सन्ततिले म र बालेनलाई यो सुनौलो मौका किन गुमायौ भनेर प्रश्न नगरुन् भन्नेमा हामी सचेत छौँ । हामी त्यो प्रश्नलाई जन्मिनै नदिई यो अवसरको पूर्ण सदुपयोग गर्न चाहन्छौँ ।’
सभापति लामिछानेले शक्तिशाली हुनुको अर्थ दम्भ देखाउनु वा प्रतिशोध साध्नु नभएको प्रष्ट पारे । अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गर्दै उनले भने, ‘शक्तिशाली हुनु भनेको प्रतिशोधको लाइसेन्स पाउनु होइन । हामी नागरिकका जिम्मेवारी पूरा गर्न उभिएका हौँ । लोकतन्त्रका स्थायी मान्यता, संविधान र मानवअधिकार जस्ता उपहारको हामी जगेर्ना गर्नेछौँ ।’
चितवनमा जारी रास्वपाको यस महाधिवेशनले पार्टीको नयाँ नेतृत्व र कार्यसमिति चयन गर्नेछ । कार्यक्रममा प्रधानमन्त्री बालेन शाह, रास्वपाका शीर्ष नेताहरू र देशभरबाट आएका कार्यकर्ताहरूको ठुलो उपस्थिति रहेको छ ।






प्रतिक्रिया