
विराटनगर । भारतीय चिया बोर्डले गुणस्तर परीक्षणका नाममा नेपाली चियाको निर्यातमा डेढ महिनादेखि गैरभन्सार अवरोध गरेपछि असार १ गतेदेखि इलाम र झापाका झण्डै सयवटा चिया उद्योग बन्द भएसँगै दैनिक २ करोडभन्दा बढी मूल्यको किसानको हरियो चिया बगानमै घाँसमा परिणत भइरहेको छ ।
चियाको मुना पलाएको ७ देखि १० दिनभित्र पत्ती नटिपिए घाँसमा परिणत भएर हरियो चिया नै नष्ट हुने सम्बद्ध विज्ञको भनाइ छ । यसबेला चियाको ‘पिक’ सिजन हो । अहिलेको समयमा किसानले महिनाको तीन पटक हरियो पत्ती बगानबाट निकालेर उद्योगलाई बिक्री गर्ने गर्छन् ।
इलामको सूर्योदय अर्थोडक्स टी प्रोडक्ट एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार इलाम र झापाका करिब सयवटा चिया उद्योगले यसबेला दैनिक सरदर ५ लाख केजी हरियो पत्ती पेलेर चिया तयार गर्थे ।
निकासी रोकिएसँगै उद्योग नै बन्द हुँदा अहिले दैनिक झण्डै २ करोड मूल्य बराबरको किसानको हरियो पत्ती बगानमै हुर्किएर घाँसमा परिणत भइरहेको कट्टेलले क्लिकमान्डुलाई जानकारी दिए ।
भारतले चिया निकासीमा अवरोध गरेपछि इलामको सूर्योदय नगरपालिका क्षेत्रमा अर्थोडक्स चिया उत्पादन गर्ने ५३, इलाम नगरपालिका क्षेत्रमा अर्थोडक्स उत्पादन गर्ने १२ सहित झापामा सीटीसी चिया उत्पादन गर्ने ३० वटा उद्योग बन्द भएका छन् । इलाममा वार्षिक ६५ लाख केजी अर्थोडक्स र झापामा वार्षिक २ करोड केजी सीटीसी चिया उत्पादन हुँदै आएको थियो ।

त्यसैगरी ‘टी एलाइन्स अफ नेपाल’ (टान) मा आबद्ध इलाम, पाँचथर, धनकुटा र भोजपुरका समेत १६ उद्योग बन्द भएका छन् ।
इलाम र झापाका ती उद्योगले अहिलेको चियाको मुख्य सिजनमा दैनिक सरदर ५ लाख किलो हरियो पत्ती पेलेर चिया बनाउँदै आएका थिए । पाँच किलो हरियो पत्ती बराबर एक किलो तयारी चिया उत्पादन हुने कट्टेलको तथ्याङ्क छ ।
इलामका ६५ वटा अर्थोडक्स चिया उद्योगले किसानसँग हरियो पत्ती प्रतिकिलो ५० रुपैयाँमा खरिद गरेर दैनिक २ लाख केजीसम्म हरियो पत्तीबाट तयारी अर्थोडक्स चिया उत्पादन गर्दै आएका थिए ।
‘इलामका उद्योगले मात्र किसानलाई हरियो पत्ती खरिद गरेबापत दैनिक सरदर एक करोड रुपैयाँ भुक्तानी गर्दै आएका थिए । चिया निकासी रोकिएसँगै उद्योगले किसानसँग हरियो पत्ती नकिन्दा इलाममा मात्र दैनिक सरदर एक करोड रुपैयाँ बराबरको हरियो चिया पत्ती घाँसमा परिणत भइरहेको छ,’ कट्टेलले भने ।
त्यसैगरी झापाका ३० वटा सीटीसी चिया उद्योगले दैनिक साढे ३ लाख किलो हरियो पत्ती प्रतिकिलो ३० रुपैयाँका दरले खरिद गरेर तयारी सीटीसी चिया उत्पादन गर्दै आएका थिए । त्यसबापत उद्योगले किसानलाई दैनिक सरदर एक करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्दै आएको थियो ।
निकासी अवरुद्ध हुँदा उद्योग बन्द भएसँगै झापामा पनि यसबेला किसानको दैनिक करोड मूल्यभन्दा बढीको हरियो चिया पत्ती घाँसमा परिणत भइरहेको कट्टेलले बताए ।
उनका अनुसार चियाको मुना ७ देखि १० दिनभित्र नटिपिए घाँस हुन्छ । चिया निकासी अवरुद्ध भएसँगै उद्योगले हरियो पत्ती किन्न छाड्दा किसानको दैनिक करोडौँ मूल्यको हरियो पत्ती यसबेला घाँसमा परिणत भइसकेको छ ।
यता भारतले निकासीमा डेढ महिनादेखि गैरभन्सार अवरोध गरेपछि निकासी हुन नपाएर करिब १२ लाख केजी तयारी चिया उद्योगमै थन्किएकाले उद्योगले किसानलाई हरियो पत्तीको भुक्तानी दिन सकेका छैनन् ।
त्यसैगरी भारतले गुणस्तर परीक्षणका लागि आयातकर्ताको गोदामबाट नमुना संकलन गरेर लगे पनि एक महिनादेखि रिपोर्ट नदिँदा भारतीय गोदाममा २ लाख केजीभन्दा बढी चिया थन्किएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीको भनाइ छ ।
गत वैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो ।
त्यसको व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो ।
पराजुलीले भने, ‘तर भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्ण रूपमा ठप्प भयो र उद्योग नै बन्द गर्नु पर्यो ।’ उनका अनुसार भारत पुगेको करिब २ लाख केजी चियाको गुणस्तर परीक्षणका लागि भारतीय चिया बोर्डले एक महिना पहिला नमुना लगे पनि अहिलेसम्म रिपोर्ट नदिँदा त्यो चिया भारतीय आयातकर्ताको गोदाममै थन्किएको छ ।
‘म अहिले काठमाडौँमा छु । राजनीतिक दल, कूटनीतिज्ञ, सरोकारवाला र सम्बन्धित मन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गरिरहेको छु,’ पराजुलीले भने । उद्योग र परराष्ट्रमन्त्रीले चाँडै समस्याको समाधान हुने आश्वासन दिएका छन् । उनका अनुसार निकासी सुचारु नभएसम्म उद्योग खुल्ने अवस्था नै छैन । चिया निकासीका लागि स्थायी समाधानको खोजी पनि संघीय राजधानीमा भइरहेको उनले बताए ।








प्रतिक्रिया