निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने बताएका छन् ।

बुधवार संस्थाको कार्यालयमा कार्यभार सम्हाल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले निजी क्षेत्रका समस्या समाधान र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताए ।

उनले आफ्नो कार्यकालमा गरिएका प्रतिबद्धताहरूलाई कार्यसमितिबाट पारित गराई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने जानकारी दिए ।

अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रमा विद्यमान समस्याहरूलाई राष्ट्रिय स्तरमा मन्त्रालयसँगको सहकार्य र छलफलबाट समाधान गरिने उल्लेख गरे ।

विशेष गरी पछिल्लो समय चर्चामा रहेको १३०० मेगावाटका आयोजनाहरू खारेज हुन सक्ने विषयमा मन्त्रालयसँग आवश्यक संवाद गरी निजी क्षेत्रको हितमा काम गर्ने उनको भनाइ थियो ।

विगतका अध्यक्षहरू शैलेन्द्र गुरागाईं, कृष्ण आचार्य र निवर्तमान अध्यक्ष गणेश कार्कीसँग निकट रहेर काम गरेको अनुभवका आधारमा आफूलाई आयोजनाका सर्वेक्षण, निर्माण र उत्पादनका तीनवटै चरणमा भोग्नुपर्ने समस्याबारे पूर्ण जानकारी रहेको उनले बताए ।

‘हामीले हाम्रो कार्यकालमा के–के गर्ने भन्ने विषयमा प्रतिबद्धता जाहेर गरेका छौँ । ती प्रतिबद्धताहरूलाई व्यवस्थित रूपमा सूचीबद्ध गरी कार्यसमितिबाट पारित गराउनेछौँ र सोही अनुसार अगाडि बढ्नेछौँ । अहिले समस्याहरू धेरै छन् । ती समस्याहरूलाई व्यापक रूपमा राष्ट्रिय स्तरमा सम्बोधन गर्न मन्त्रालयसँग पनि निरन्तर छलफल भइरहेको छ,’ उनले भने, ‘सहकार्य र संवादमार्फत समाधान खोज्ने हाम्रो प्रयास रहनेछ । यसैबीच करिब १,३०० मेगावाट क्षमताका आयोजनाहरू खारेज गर्ने विषय पनि उठिरहेको छ । यी लगायत समग्र विषयमा म तीन जना अध्यक्षहरूसँग नजिक भएर काम गरिसकेको व्यक्ति हुँ । समस्याहरू कहाँ छन्, के–के छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा मलाई पर्याप्त जानकारी छ ।’

इप्पानमा करिब २५ प्रतिशत सदस्यहरू सौर्य ऊर्जा (सोलार) सँग सम्बन्धित रहेको उल्लेख गर्दै उनले सोलार ऊर्जाका समस्या समाधानमा पनि उत्तिकै प्राथमिकता दिने स्पष्ट पारे ।

मुलुकमा हाल २०४९ सालको विद्युत ऐन कार्यान्वयनमा रहेको र लामो समयदेखि नयाँ ऐन ल्याउने प्रयास भए पनि सफल हुन नसकेको भन्दै उनले यसपटक दुई तिहाइ नजिकको सरकार भएकाले नयाँ ऐन ल्याउन लबिइङ गर्ने बताए । उक्त ऐनलाई निजी क्षेत्रमैत्री बनाउन आफ्नो तर्फबाट विशेष प्रयत्न रहने उनको भनाइ छ ।

संस्थालाई सामूहिक नेतृत्वको भावना अनुरूप कार्यविभाजन गरी अगाडि बढाउने बताउँदै उनले सञ्चार क्षेत्रको साथ र सहयोगका लागि पत्रकारहरूप्रति आभार समेत व्यक्त गरे ।