चिया निकासीमा भारतीय अवरोध

आजदेखि इलामका सबै चिया उद्योग बन्द


विराटनगर । सोमबारदेखि इलामका ५६ वटा (सबै) चिया उद्योग बन्द गरिएको छ ।

भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दु:ख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्‍याउँदा उत्पादित वस्तुले बजार नपाएर कुहिने अवस्था सिर्जना भएपछि नेपालका चिया उद्योगीले उद्योग नै बन्द गरेका हुन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, आजदेखि इलामका ५६ वटै उद्योग बन्द गरिएको छ भने बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको छ ।

यससँगै चिया किसान, मजदुर र उद्योगीले सरकारलाई दवाव दिन काँकरभिट्टा नाकाबाट भारतीय उत्पादन भित्रिन नदिने र नाका अवरुद्ध गर्ने लगायतका आन्दोलन गर्ने तयारी गरेको पराजुलीले बताए ।

पराजुलीका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यी उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।

भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्त परीक्षणका नाममा भारत पुगेको झण्डै दुईलाख किलो चिया बजारमा निकाल्न नदिएर आयतकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा १० लाख किलो भन्दाबढी चिया उद्योगमै कुहिने अवस्था आउदा पनि सरकारले निकासी सहजताका लागि कुनै कुटनीतिक पहल नगरेको भन्दै उद्योगीले उद्योग नै बन्दको विकल्प रोजेका हुन् ।

यसैक्रममा इलामको सुर्योदय अर्थोडक्स टी प्रोडुसर्स एशोसिएसनले विज्ञप्ती सार्वजनिक गर्दै असार १ गतेदेखि सूर्योदय नगरपालिका भित्रका सबै अर्थोडक्स चिया उद्योग बन्द हुने घोषणा गरेको थियो ।

‘नेपाली चियाले विगतका वर्षहरुदेखि निकासीमा विभिन्न समस्या भोग्दै आएको सर्वविदित नै छ । हालै मात्र भारतीय चिया बोर्डले नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) जारी गरेपछि नेपाली चिया निर्यातमा झन ठुलो बाधा पुगेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

‘विभिन्न प्रकारका गुणस्तर जाँच जोखिमपूर्ण र अपारदर्शी नतिजा तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरुका कारण नेपालवाट भारततर्फ चिया निकासी हुन सकिरहेको छैन ।’ विज्ञप्तीमा भनिएको छ, ‘जटिल गुणस्तर जाँचका वहानामा भारतीय बजार पुगेको करिव २ लाख किलोभन्दाबढी तयारी चिया भारतीय गोदाममै रोकिएको अवस्था छ ।’

गत बैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो।

चालु आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब ३५ करोड मूल्य बराबरको ११ हजार ४ सय टन नेपाली चिया निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । गत वर्ष ४ अर्ब ५९ करोड मूल्यको १५ हजार ६ सय टन चिया निकासी भएको निकासी प्रवद्धन केन्द्रको तथ्यांक छ ।