नेकपा एमालेद्वारा सरकारलाई गिरिबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती


काठमाडौं । नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–इस्टेटको फाइल खोल्न चुनौती दिएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्मा अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिइन् ।

उनले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै टी–इस्टेट प्रकरणको फाइल पहिलो प्राथमिकतामा राखेर खोल्न चुनौती दिइन् ।

उनले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गरिन् ।

पक्षीमाथि लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् भन्दै अर्यालले प्रश्न गरिन् । सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसदमा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भएको बताइन् ।

‘प्रतिपक्षीले बजेटका सम्बन्धमा राखेका सल्लाह, सुझाव र प्रश्न गर्दै गर्दा अर्थमन्त्रीले जवाफ दिने क्रममा जे कुरा बताए, त्यो आपत्तिजनक छ । कसलाई लक्षित गरे ? उनले फाइल खोल्ने धम्की दिएका छन्, म भन्न चाहन्छु, टी–इस्टेटको फाइल पहिलो नम्बरमा खोलियोस् । म आग्रह गर्न चाहन्छु, त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी हुन् कि वाइडबडी हुन् कि के के फाइल हुन्, तपाईँहरूको हातमा छ, सरकारलाई भन्न चाहन्छु, यो सदनमार्फत ती खोलियोस् । साँचो कुरा के हो ? त्यो बाहिर ल्याइयोस्,’ उनले भनिन्, ‘आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएन भने मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर कठघरामा उभिने आँट उनले गर्छन् कि गर्दैनन् ?’

यस्तै उनले परराष्ट्रमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिको पनि आलोचना गरिन् । परराष्ट्रमन्त्रीले ‘अतीतको बोझ बोक्न सक्दैनौँ’ भन्ने अभिव्यक्ति दिएर राष्ट्रवादी अडान कमजोर बनाएको उनको आरोप छ । उक्त अभिव्यक्तिले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी दाबीलाई संकेत गरेको हो कि भन्ने गम्भीर प्रश्न उठेको उनले बताइन् ।

उनले भनिन्, ‘परराष्ट्रमन्त्री भारतको भ्रमणमा गए, भारत भ्रमणमा गएर नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउनेछन्, हाम्रो बीचमा भएका जे असमझदारी हुन्, ती असमझदारीहरूलाई कायम गराउन सहयोग पुर्‍याउनेछन् भन्ने हाम्रो विश्वास थियो । तर दुर्भाग्यको कुरा, न्यानो आतिथ्यतामा रमाउँदै बिछ्याइएका कार्पेटहरूलाई कुल्चिँदै उनले राष्ट्रवादलाई भुले । हामीले सुन्यौँ, हामीले अतीतको बोझलाई बोक्न सक्दैनौँ भनेर रातो कार्पेटभित्र छोपिएको राष्ट्रघाती अभिव्यक्ति परराष्ट्रमन्त्रीले दिए । यता प्रधानमन्त्रीले विदेशीको जमिन अतिक्रमण गरेको अभिव्यक्ति दिने, उतातिर परराष्ट्रमन्त्रीले समकक्षीसँग बस्दै इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्ने । सभामुख महोदय, ‘पारी बाघ कराएको, वारी बाख्रो हराएको’ यो युक्तिलाई आज चरितार्थ गरिरहेको छ । यस विषयमा केही आशंका, केही जिज्ञासा र गम्भीर प्रश्नहरू खडा भएका छन्, साँच्चै उनले त्यो के कुरालाई भन्न खोजेका हुन् ? अतीतको बोझ बोक्न सक्दैनौँ भनेर के कुरालाई भन्न खोजेको हो ? हामी त्यसको जवाफ माग्न चाहन्छौँ । संसद्मा राष्ट्रियताको पक्षमा छलफल गर्दै गर्दा उनले हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका अतिक्रमित जमिनहरूमा नेपालको दाबीलाई हामीले बोक्न सक्दैनौँ भन्न खोजेका हुन् ? या अरू कुनै राष्ट्रिय महत्त्वका कुराहरूलाई भन्न खोजेका हुन् ? आज सिमानामा नेपालीहरू सीमा रक्षाको लागि लडिरहेका छन्, त्यही सीमा रक्षामा लडिरहेका नेपालीको बोझलाई मैले बोक्न सक्दिनँ भन्न खोजेका हुन् ? यस्ता गम्भीर प्रश्नहरू हाम्रो सामु खडा भएका छन् ।’

उनले सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा राष्ट्रको नीतिसँग जोडिने भएकाले राष्ट्रिय हित र परराष्ट्र नीतिलाई कमजोर बनाउने अभिव्यक्तिबाट बच्नुपर्ने बताइन् ।