
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र मार्गचित्र सार्वजनिक गरेका छन् ।
नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा क्षेत्रको विकास, लगानीको सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गरेका हुन् ।
अध्यक्ष डाँगीले यस कार्यकालका लागि ‘हाम्रो ऊर्जा, हाम्रो भविष्यः लगानीको सुरक्षा र नीतिगत सुनिश्चितता’ भन्ने मूल नारा तय गरिएको जानकारी दिए । उनले समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिवद्धतासहित ‘इप्पान भिजन २०२९’ मा उल्लेखित कार्यक्रमहरूलाई अक्षरशः कार्यान्वयन गर्ने बताए ।
सामूहिक नेतृत्वको अवधारणालाई आत्मसात् गर्दै इप्पानले सातवटा विशेष समिति र आवश्यकताअनुसार उप-समितिहरू गठन गर्ने भएको छ । ती समितिहरूलाई कार्यसूचीसहित पूर्ण अधिकार प्रत्यायोजन गरी सक्रिय बनाइने डाँगीले उल्लेख गरे । निःवर्तमान अध्यक्षको संयोजकत्वमा बढीमा ११ सदस्यीय सल्लाहकार समिति र ऊर्जा क्षेत्रका विज्ञहरू सम्मिलित ७ देखि ९ सदस्यीय उच्च स्तरीय विज्ञ सल्लाहकार समिति गठन गरिने उनको भनाइ छ ।
सरकारका पूर्वसचिवको संयोजकत्वमा गठन हुने विज्ञ समितिले ‘रिसर्च एण्ड डेभलपमेन्ट’ (अनुसन्धान र विकास) मा काम गर्नेछ । यस समितिले विद्युत विधेयक र वन विधेयक लगायतका विकास निर्माणमा बाधक रहेका कानून तथा नियमावलीहरूको अध्ययन गरी संशोधनका लागि सरकार र संसदीय समितिहरूसँग समन्वय गर्नेछ । अध्यक्ष डाँगीले वैदेशिक सहयोगमा बन्ने कतिपय विधेयकहरूले निजी क्षेत्रलाई संकुचित पार्न सक्ने भन्दै इप्पान आफैँले पनि विधेयकको मस्यौदा तयार पारी सरकारलाई बुझाउने र दबाब सिर्जना गर्ने योजना रहेको बताए ।
ऊर्जा क्षेत्रप्रति समाज र सरकारी संयन्त्रमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न ऊर्जा उद्यमीहरूको आचारसंहिता तयार गरिने भएको छ । झन्डै ७० लाख जनताको लगानी रहेको यस क्षेत्रलाई मर्यादित बनाउन विज्ञहरूको सल्लाहमा आचारसंहिता निर्माण गरी साधारण सभाबाट स्वीकृत गराइने अध्यक्ष डाँगीले जानकारी दिए ।
निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सिमित नराखी प्रशारण, वितरण र व्यापारमा समेत सहभागी गराउन विशेष ‘दृष्टिकोण पत्र’ तयार पारिने उनले बताए ।









प्रतिक्रिया